हामीले पृथ्वीका सबै लामखुट्टे मारिदिए के हुन्छ?

नेपालभ्युज

हामीले पृथ्वीका सबै लामखुट्टे मारिदिए के हुन्छ?

काठमाडौं। गर्मी आयो, गर्मीसँगै अब लामखुट्टे पनि आउँछ। लामखुट्टे एक्लै आउँदैन, यसले औंलो, डेंगुलगायत रोग पनि ल्याउँछ। त्यसैले मानिसहरू लामखुट्टेलाई मनै पराउँदैनन्।

मन परोस् पनि कसरी? लामखुट्टेले मानिसलाई दुःख जो दिन्छ। एकान्तमा बसिरहेको मानिसको कानमा आएर कराउँछ,नरम छालामा लामो-तिखो सुँढ घोचेर रगत चुस्छ र त्यसको सट्टा दिएर जान्छ अनेक प्रकारका रोग। त्यसैले मानिसहरू लामखुट्टेको अस्तित्व यो संसारमै नरहोस् भन्ने चाहन्छन्।

तर संसारमा लामखुट्टै नै नभए के हुँदो हो? संसारका एकथरी वैज्ञानिक लामखुट्टे यो संसारमा हुनुको फाइदा र बेफाइदा केलाउनमा व्यस्त छन्।

लामखुट्टे यो संसारबाटै हराउनु काल्पनिक हो। तर लामखुट्टे नहुने हो भने यसका फाइदाहरू भने छन्। लामखुट्टे नहुने हो भने, यसले सार्ने अनेक रोगबाट मुक्ति पाइन्छ। साथै यी रोगहरूले अत्यधिक मात्रामा सताएका देशका नागरिकको जीवनस्तर उकास्न मद्दत मिल्छ। लामखुट्टे नै नरहेपछि लामखुट्टेबाट सर्ने रोग पनि रहँदैनन्। जसले गर्दा बच्चाहरू स्वस्थ हुनेछन्। स्वस्थ बच्चाहरू नियमित विद्यालय जान पाउनेछन्। लामखुट्टेले सार्ने रोगबाट बच्न र बचाउन वा उपचार गर्न प्रयोग भएको स्वास्थ्यको स्रोतसाधन अन्यत्र प्रयोग गर्न सहज हुन्छ। जसले थोरै भएपनि स्वास्थ्य क्षेत्रको भार कम गराउँछ। औंलोको कारण कम भएको देशको कुल ग्राहस्थ उत्पादन बढाउन पनि मद्दत मिल्छ। लामखुट्टेले सारेको रोगबाटै मानिसहरू मर्न पर्दैन। मानिसको जीवन रक्षा हुन सक्छ।

तर लामखुट्टे नहुनुका बेफाइदा पनि छन्। लामखुट्टेलाई मानिसको जीवनमा प्रवेश गर्न रोक लगाउन झूल बनेको छ। लामखुट्टे नदेखियोस् भनेर संसारभर अनेक प्रकारका ठोस वा तरल औषधीहरू बनेका छन्। लामखुट्टे मानव जीवनमा नहोस् भन्ने कामना नै धेरैको हुन्छ। तर लामखुट्टेको पूरै प्रजातिलाई अन्त्य गर्न मानिसले चालिरहेको कदमले थप चुनौती थपिदिने अमेरिकी किट वैज्ञानिक डा. फिलिप लुनिबोस बताउँछन्। लामखुट्टे सिध्याउने ध्यानमा गरिएको कामले मानिसहरूले खाने खाद्यान्नकै स्रोत नष्ट हुन सक्ने उनी बताउँछन्।

एक प्रजातिलाई सिध्याउन अर्काे प्रजातिको उदय हुनु प्राकृतिक हो। तर फिलिप यो क्रमले झनै खतरा निम्त्याउनेमा चिन्तासमेत व्यक्त गर्छन्। अहिले भएको लामखुट्टेलाई प्रतिस्थापन गर्न आउने अर्काे किरा झनै शक्तिशाली हुने हो कि भन्ने उनलाई चिन्ता छ। नयाँ आउने लामखुट्टेहरू वा किराले थप चाँडै रोगहरू फैलाउन सक्छन्।

लामखुट्टेले मानिसलाई ‘ट्रपिकल रेनफरेस्ट’मा बस्न लगभग असम्भव बनाइ दिएका छन्। जसले गर्दा मानिसहरू जंगल छेउ बस्न सक्दैनन्। यसले गर्दा लामखुट्टेले वन विनाशलाई पनि सुस्त बनाइदिएको छ।

(बेयरफुट मस्किटो डटकममा लामखुट्टेबारे प्रकाशित लेखलाई नेपालभ्यूजकी सुनीता साखकर्मीले अनुवाद गरेकी हुन्।)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved