विश्वव्यापी मूल्यवृद्धिको असरः भारतमै आकाशियो बिजुली

विश्वव्यापी मूल्यवृद्धिको असरः भारतमै आकाशियो बिजुली

काठमाडौँ। विश्वव्यापी रूपमा कोइलाको आयात निर्यातमा आएको सङ्कट तथा व्यापक मूल्यवृद्धिको असर नेपालको ऊर्जा प्रणालीमा देखिएको छ।

सुक्खा मौसममा नेपालको नदी नालामा पानीको मात्रा कम हुने भएकाले बिजुलीको उत्पादन असाध्यै न्यून बिन्दुमा पुग्छ। सोही आधारमा नेपाल विद्युत् प्राधिकरणले कूल ४०० मेगावाट बराबरको बिजुली भारतबाट खरिद गर्दै आएको छ।

द्विपक्षीय सम्झौताका आधारमा नेपालमा आयात भइरहेको बिजुली दिन असमर्थ रहेको भन्दै भारतले जनाएपछि प्राधिकरण दैनिक रूपमा हुने प्रतिस्पर्धी बजारबाट खरीद गर्ने अवस्थामा पुगेको हो।

त्यसलाई ‘इनर्जी एक्सचेञ्ज मार्केट’ भनिन्छ। शेयर बजारमा जस्तै हरेक १५-१५ मिनेटमा सो एक्सचेञ्जमा बिजुलीको भाउ निर्धारण हुन्छ। त्यस आधारमा २४ घण्टालाई ९६ ब्लकमा विभाजन गरिन्छ।

भारतको सो एक्सचेञ्ज मार्केटमा प्रतियुनिट बिजुलीको भाउ २० भारतीय रुपैयाँसम्म पर्छ। यस आधारमा नेपालमा आयात हुने बिजुलीको मूल्य बजारमा ३२ रुपैयाँ पर्न जान्छ। त्यसमा प्रसारण शुल्क, प्रसारण प्रणालीमा नोक्सानी, एजेन्सी कमिशनलगायत गर्दा प्रतियुनिट ३८ सम्म पर्न गएको आज नेपाल विद्युत् प्राधिकरणले गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

भारतको झण्डै ६० प्रतिशत बढी ऊर्जा उत्पादन कोइलाबाट हुने गरेको छ। रुस र युक्रेनबीचको संघर्ष तथा अन्तर्राष्ट्रिय बजारमा कोइलामा भएको मूल्य वृद्धिका कारण भारतको ऊर्जा उत्पादनमा ठूलो असर परेको छ। भारतमा कोइलाबाट बिजुली उत्पादन गर्ने टाटा पावरले राजधानी नयाँ दिल्लीलगायत स्थानमा बिजुली कटौती हुन सक्ने चेतावनी दिएको छ।

यी विभिन्न कारणले नेपालमा आयात भइरहेको बिजुली एक्कासि घट्दा सुक्खायाममा सङ्कट देखा परेको घिसिङले जानकारी दिए। भने, “यो तत्कालको समस्या हो। आगामी डेढ महिनापछि हाम्रै प्रणालीमा खेर जाने गरी बिजुली उपलब्ध हुन्छ।” कोइलाको मूल्य वृद्धि तथा बिजुलीको भाउमा भएको अस्वाभाविक परिवर्तनका कारण नेपाललाई तत्काल असर देखिएको उनले बताए। बढी मूल्य तिरेर नै भए पनि उद्योगीलाई बिजुली उपलब्ध गराइने उनको भनाइ थियो।

“यो अल्पकालीन समस्या हो। दीर्घकालीन होइन। हामीले उद्योगी व्यवसायीलाई पनि सहयोगका लागि आग्रह गरेका छौँ। उहाँहरूले पनि सकारात्मक जवाफ दिनुभएको छ”, घिसिङले भन्नुभयो। भारतीय इनर्जी एक्सचेञ्जमा आएको बिजुलीको मूल्यको परिवर्तनका कारण कूल रु आठ अर्ब बराबरको थप व्ययभार पर्ने उनको भनाइ थियो। नेपालले केही दिन अघिसम्म प्रतियुनिट आठ भारुमा बिजुली खरिद गरेको थियो। सामान्य अवस्थामा प्रतियुनिट दुई भारुमा बिजुली आयात भएको थियो।

कुन स्थानबाट आउने बिजुलीको मूल्य कति ?

प्राधिकरणले बिहारबाट १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत प्रतियुनिट ६।१८ भारु र बिहारबाटै ३३ केभीको प्रसारण लाइनमार्फत प्रतियुनिट ६.६८ भारुमा बिजुली खरिद गरिरहेको थियो।

उत्तराखण्डबाट ११ केभीको प्रसारण लाइनमार्फत ७.११ भारुमा बिजुली आयात गरिरहेको थियो। कूल ४०० केभी क्षमताको अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत प्रतियुनिट ४.६० पैसामा बिजुली आयात भइरहेको थियो।

सो बिजुली भारतीय नोडल एजेन्सी एनभीभीएनमार्फत आयात गरेको हो। पीटीसी इण्डियामार्फत १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत प्रतियुनिट ४.१२ र इनर्जी एक्सचेञ्ज मार्केटबाट औसतमा प्रतियुनिट ७.१६ भारुमा बिजुली आयात भइरहेको थियो।

नियमित रूपमा बिजुली उपलब्ध गराइरहेका एजेन्सीले बिजुली दिन नसक्ने बताएपछि इनर्जी एक्सचेञ्ज मात्रै बाँकी रहेको जानकारी दिँदै घिसिङले आकस्मिक रूपमा आइपरेको समस्याका आधारमा लोडसेडिङ भयो वा गरियो भनेर बुझ्न नहुने बताए।

आगामी २४ घण्टाका लागि औसतमा प्रतियुनिट २० भारुमा नै बोलकबोल प्रक्रियामा सहभागी भएको विवरण दिँदै घिसिङले अल्पकालीन रूपमा देखिएको समस्या समाधानका लागि सबैको सार्थक सहयोग आवश्यक रहेको बताए।

नेपालको कूल माग ३१ हजार मेगावाट प्रतिघण्टा छ। त्यसमध्ये १२ हजार मेगावाट प्रतिघण्टा भारतबाट आयात हुने गरेको थियो। आन्तरिक रूपमा प्राधिकरण र प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रमा ऊर्जा उत्पादन केन्द्रबाट आपूर्ति भइरहेको छ। नेपालका अधिकांश आयोजना नदी प्रवाही भएकाले सुक्खा मौसममा जडित क्षमता अनुसार विद्युत् उत्पादन हुँदैन। त्यसको असर प्रणालीमा परेको प्राधिकरणले जनाएको छ।

उद्योगमा लोडसेडिङ भएको होइन

प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले बिजुलीको आयात एक्कासि रोकिँदा केही समय उद्योग तथा औद्योगिक करिडोरमा आपूर्ति रोकिएको जानकारी दिए।

उनले तत्काल समस्या परे पनि बिजुलीको खपत आन्तरिक रूपमा बढाउने लक्ष्यका साथ प्राधिकरण लागि परेको बताए। पछिल्ला दिनमा उद्योगमा मात्रै ३०० मेगावाट बराबरको माग बढेको उनको भनाइ छ।

यसलाई क्रमशः वृद्धि गर्दै जाने सोचका साथ आफूहरू लागि परेको उल्लेख गर्दै उनले भने, “एक युनिट बिजुलीले अर्थतन्त्रमा गुणात्मक प्रभाव पार्छ। हाम्रो ध्येय आन्तरिक रूपमा बिजुली खपत बढाउने हो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved