चिनियाँ विदेशमन्त्रीको नामै लिएर भारतले गर्‍यो खण्डन, जम्मु-काश्मीरबारे चीनलाई भारतको जवाफ

पाकिस्तानको इस्लामाबादमा ९ चैत (२३ मार्च)मा सम्पन्न ‘अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन’ (ओइसी)को उद्घाटन समारोहमा चिनियाँ विदेशमन्त्री वाङ यीले जम्मु–कश्मिर सम्बन्धमा व्यक्त गरेको भनाइलाई भारतीय विदेश मन्त्रालयले ‘अनावश्यक सन्दर्भ’ लिएको भन्दै आलोचना गरेको छ।

नेपालभ्युज

चिनियाँ विदेशमन्त्रीको नामै लिएर भारतले गर्‍यो खण्डन, जम्मु-काश्मीरबारे चीनलाई भारतको जवाफ
पाकिस्तानको इस्लामाबादमा सम्पन्न ‘अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन’को सम्मेलनलाई २२ मार्चमा सम्बोधन गर्दै चिनियाँ विदेश मन्त्री वाङ यी। तस्वीर स्रोतः डन डट कम।

काठमाडौं। आज (१० चैत) बेलुका भारतको नयाँ दिल्ली पुग्दै गरेका चिनियाँ विदेशमन्त्री वाङ यीको वक्तव्यलाई लिएर भारतले असन्तुष्टि जनाएको छ।

पाकिस्तानको इस्लामाबादमा ९ चैत (२३ मार्च)मा सम्पन्न ‘अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन’ (ओइसी)को उद्घाटन समारोहमा चिनियाँ विदेशमन्त्री यीले जम्मु–कश्मिर सम्बन्धमा व्यक्त गरेको भनाईलाई भारतीय विदेश मन्त्रालयले ‘अनावश्यक सन्दर्भ’ लिएको भन्दै आलोचना गरेको छ।

“काश्मीरमा आज फेरी हामीले मुसलमान साथीहरूको पुकार सुनेका छौँ। र चीनले उस्तै आशा व्यक्त गर्छ”, विदेशमन्त्री यीले भनेका थिए।

भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिंदम बागचीले आज पत्रकारहरूसँग कुराकानी गर्दै यीको उक्त मन्तव्यको खण्डन गरेका छन्।

“जम्मु र काश्मीरसँग सम्बन्धित सबै विषय भारतको आन्तरिक मामिला हो। चीन लगायतका कुनै पनि अन्य देशलाई यस विषयमा टिप्पणी गर्ने आधार छैन”, प्रवक्ता बागचीलाई उद्धृत गर्दै एनडीटीभीले लेखेको छ

भारतीय सञ्चारमाध्यम ‘इन्डियन एक्सप्रेस’का अनुसार प्रवक्ता बागचीले चिनियाँ विदेश मन्त्रीको नाम नै लिएर आलोचना गरेका छन्।

“उद्घाटन समारोहमा मन्तव्य दिने क्रममा चिनियाँ विदेश मन्त्री वाङ यीले भारतको अनावश्यक सन्दर्भ लिएकोलाई हामी अस्विकार गर्छौँ”, इन्डियन एक्सप्रेसले प्रवक्ता बागचीलाई उद्धृत गरेको छ।

यसरी नाम नै लिएर खण्डन गर्नुलाई एक्सप्रेसले ‘अस्वाभाविक भएको र यसले उक्त विषयमा नयाँ दिल्लीको अडान कडा रहेको दर्शाएको’ टिप्पणी गरेको छ।

अघिल्लो महिना पनि चीन र पाकिस्तानको संयुक्त वक्तव्यमा जम्मु र काश्मीरको सन्दर्भ लिएकोमा भारतले आपत्ती जनाएको थियो।

इस्लामाबादमा सम्पन्न ‘अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन’को सम्मेलनले प्यालेस्टाइन र जम्मु–काश्मीर विवादमा समर्थन गर्ने प्रतिबद्धता जाहेर गरेको छ।

“(सम्मेलनमा) जम्मु र काश्मीरको विषयमा विस्तृत कुराकानी भयो। यो न्यायपूर्ण विषय हो। काश्मीरी जनताको आत्मनिर्णयको अधिकारप्रति सम्मेलनले हाम्रो अडान र समर्थन दोहोर्‍याएको छ”, संगठनका महासचिव जनरल हिसेन ब्राहिम ताहाले सञ्चारमाध्यमलाई दिएको जानकारी पाकिस्तानी सञ्चारमाध्यम ‘डन’ले उद्धृत गरेको छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved