अबको बजेट कृषिलाई प्राथमिकतामा राखेर बनाउँछौं: अर्थमन्त्री शर्मा

नेपालभ्युज

अबको बजेट कृषिलाई प्राथमिकतामा राखेर बनाउँछौं: अर्थमन्त्री शर्मा

रुकुम। अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने बताएका छन्।

सोमबार बिहान रुकुम सदरमुकाममा पत्रकार महासंघ शाखा कार्यालय, रुकुमले आयोजना गरेको पत्रकार सम्मेलनमा  मन्त्री शर्माले अर्थ मन्त्रालय बजेट निर्माणमा केन्द्रित हुन थालेको भन्दै कृषिलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम बनाउन शुरु गरेको जानकारी दिए।

‘‘आगामी आबको बजेटले कृषि क्षेत्रलाई पहिलो प्राथमिकततामा राख्ने गरी छलफल अगाडी बढाएका छौँ’’ उनले भने, ‘‘आयात प्रतिस्थापन गर्ने र निर्यात वृद्धि गर्ने सवालमा कृषि क्षेत्रले धेरै मद्दत गर्ने विश्वास छ।’’ कुल वैदेशिक व्यापारमा माघ मसान्तसम्म निर्यातको हिस्सा १० प्रतिशत नाघेको बताउँदै उनले आगामी आबदेखी प्रत्येक वर्ष निर्यातको हिस्सा १० प्रतिशतका दरले बढाउँदै लैजाने लक्ष्य राखिने बताए।

उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम, सुन–चाँदी, खानेतेल, प्लास्टिक, डण्डी तथा डण्डीजन्य वस्तु, ढुवानीमा प्रयोग हुने पानीजहाज तथा कन्टेनरको भाँडादरलगायतको मूल्य श्रृङ्खलामा भएको वृद्धिले नेपालमा समेत मूल्यवृद्धिमा चाप परिरहेको बताए। यद्यपि, मूल्यवृद्धिका लागि राखिएको वार्षिक लक्ष्यको बाञ्छित सिमा भित्रै रहेकाले अत्तालिनुपर्ने स्थिति नरहेको बताए।

शोधानान्तर घाटालाई विस्तारै सुधार गर्दै लगेको तथा तरलता अभाव केही दिन भित्रै समाधानउन्मुख भएकाले अर्थतन्त्र विस्तारै लयमा आउने दाबी उनले गरे। अहिले अवैध डिजिटल कारोबारका कारण दैनिक ५० करोड रुपैयाँसम्म नेपाली मुद्रा बाहिरिन थालेको भन्दै उनले यस्ता गतिविधि रोक्न सबै संयन्त्र परिचालन गरेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved