प्रहरी हत्यामा संलग्न भएको आशंकामा ६ जना पक्राउ

नेपालभ्युज

प्रहरी हत्यामा संलग्न भएको आशंकामा ६ जना पक्राउ
घटनामा मृत्युवरण गरेकी प्रहरी जवान उर्मिला श्रेष्ठ

 विराटनगर। एसपीसहित २८ जना घाइते र १ जना प्रहरी जवानको ज्यान लिनेगरी मोरङको लेटाङमा आइतबार भएको घटनामा संलग्नमध्ये ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनामा प्रत्यक्ष संलग्नता रहेको आशङ्काको आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। प्रहरीले पक्राउ परेकाहरुको पहिचान गोप्य राखेको छ।

घटना सम्बन्धी सुक्ष्म अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिईएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए। उनले शंकास्पद देखिएका ६ जनालाई मात्र नियन्त्रणमा लिईएको जानकारी दिए।

मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले आफ्नै विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा गयराती स्थानीय र प्रहरीबिच दोहोरो झडप भएको थियो।

विद्यालयका शिक्षकले १२ वर्षीया छात्रालाई यौन दुव्र्यवहार गरेको बिषयप्रति आक्रोशित स्थानीयले आक्रमण गर्न खोज्दा अवस्था नियन्त्रणमा लिने क्रममा प्रहरीसँग झडप भएको थियो।

झडपमा परी प्रदर्शनकारीको अन्धाधुन्द आक्रमणका कारण गयराती प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान समेत गएको थियो। स्थानीय आन्दोलनकारीको आक्रमणपछि भएको झडपमा २८ जना प्रहरी र ७ जना प्रदर्शनकारीहरु घाइते भएको मोरङ प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार अवस्था पुनः पनि असामान्य बन्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै लेटाङमा चार किल्ला सीमानाभित्र सोमबार बिहान ७ बजेदेखि अनिश्चितकालिन कफ्र्यु लगाईएको छ।

घटनापछि उत्पन्न हुनसक्ने परिस्थितिलाई ध्यानमा राख्दै लेटाङको वडा नं. ३ र ४ को गंगोचोक तथा कमलपुर क्षेत्र, वडा नं. ५ को सम्पुर्ण क्षेत्र, उत्तरमा वडा नं. ६ को वडा कार्यालय क्षेत्र, पुर्वमा मोरङे खोला र पश्चिममा चिसाङ खोला क्षेत्रमा कफ्र्यु आदेश गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved