जहाँ महामुर्ख बन्न तँछाडमछाड हुन्छ

जहाँ महामुर्ख बन्न तँछाडमछाड हुन्छ

जनकपुरधाम। मिथिला नाटयकला परिषद् (मिनाप) ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको होरी(होली) महोत्सवको भव्य तयारी शुरु गरेको छ।

होलीको जोगीरा प्रतियोगिता र महामूर्ख सम्मेलन गरी दुई दिनसम्म मनाइने होरी महोत्सवका लागि तयारी शुरु गरिएको मिनापले जनाएको छ। प्रत्येक वर्षझैं यस वर्ष पनि जनकपुरधामको जानकी मन्दिरको प्रांगणमा मिनापले चैत ३ र ४ गते होली महोत्सवको आयोजना गर्दैछ ।

होलीको अवसरमा जनकपुरमा आयोजना गरिने महामूर्ख सम्मेलन प्रसिद्ध छ। मिथिला क्षेत्रको सांस्कृति अभियानमा अग्रणी भूमिका खेलेको दाबी गर्ने मिथिला नाट्य कला परिषद् मिनाप यसको आयोजक हो।

मिनापले मिथिला क्षेत्रबाट उच्च तहको बौद्धिक काम गर्ने जनालाई हरेक वर्ष छनौट गरेर महामूर्ख सहित विभिन्न व्यंगात्मक पदवी वाट समाजिक सम्मान गर्ने चलन छ। जुन मिथिला क्षेत्रमा चर्चीत पनि छन्। मिथिला नाटय कला परिषदकै भनाइलाई यदी सत्य मान्ने हो भन्ने विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई वर्षै पिच्छै छनौट गरेर यो पदवीवाट समाजिक सम्मान दिने चलन छ।

आपसी भाइचाराको रूपमा लिइएको होली पर्वलाई जनकपुरधाममा हिन्दुसँगै मुस्लिम युवाले पनि सँगै मिलेर होली मनाएर आपसी सौहार्दताको परिचय दिँदै आएका छन्।

मिथिलामा वसन्त पञ्चमीको आगमनसँगै होली गीत गाउन शुरु गरिन्छ। तर अहिले आएर ग्रामीण इलाकामा फागु गीत गाउनेमा कमी हुन थालेपछि लोपोन्मुख फागु गीतलाई जगेर्ना गर्ने मिनापले विगत २६–२७ वर्षदेखि होरी महोत्सवको आयोजन गर्दै आएको छ।

फागुपूर्णिमाको पूर्वसन्ध्यामा आयोजना हुने दुई दिने होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ । मिनाप महासचिव शैलेन्द्र मल्लिकले मैथिली भाषा, साहित्य, कला, संस्कृति तथा लोकगीतको संरक्षण गर्न होली महोत्सव आयोजना गरिएको बताए।

फागु गीत प्रतियोगितामा धनुषा, महोत्तरी, सिरहा, सप्तरी र सर्लाहीका आधा दर्जन ग्रामीण समूह सहभागी हुनेछन् । मिनापका महासचिव मल्लिकले पारम्परिक फागु गीत तथा डम्फालाई जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिताको आयोजन गर्न लागिएको बताए।

महोत्सवको दोस्रो दिन आयोजन हुने महामूर्ख सम्मेलनमा समाजका अगुवा व्यक्तित्वलाई विशेष मानपदवी प्रदान गर्ने चलन छ । जस अन्तर्गत महत्वपूर्ण व्यक्तिलाई महामूर्खको उपाधि प्रदान गरिन्छ। जस अन्तर्गत महामूर्ख तथा अन्य उपाधीकर्तालाई मिथिलामा उत्पादन गरिएका तरकारीको माला बनाएर लगाउने प्रचलन छ।

सम्मेलनको इतिहास

महामूर्ख सम्मेलन नेपालको विभिन्न स्थानमा हुँदै आए पनि जनकपुरमा यसले निकै उचाइ पाएको छ। तर यसको प्रारम्भ नेपालको वीरगञ्जबाट भएको हो। मैथिली साहित्य परिषद वीरगञ्ज २०५० सालमा पहिलोपटक यो सम्मेलनको आयोजना गरेको थियो। पहिलो पटकको महामूर्ख लाला माधवेन्द्रजी भएका थिए।

यो सम्मेलनको परिकल्पनाकार मध्ये एक रहेका मैथिली साहित्य परिषदका पूर्वमहासचिव एवं चर्चित पत्रकार चन्द्र किशोर झा भन्छन्, “नेपालमा २०४६ सालमा बहुदल आएको थियो। राजनीतिक रुपमा परिवर्तनको समय थियो। यो परिवर्तनमा समाजिक तथा साहित्यिक क्षेत्रका व्यक्तिहरुको योगदानको आवश्यकता थियो, यस्तो अवस्थामा यो कन्सेप्ट आएको थियो। समाजमा रहेको विकृति विसंगतिलाई समाप्त गर्न व्यंग्यले निकै ठूलो भूमिका खेल्ने गर्छ,” उनले थपे, “वीरगञ्जमा अब होरी मिलन समारोह महामूर्ख सम्मेलनको आयोजना गर्दै आएको छ। महामूर्ख सम्मेलन प्रकृतिको कार्यक्रम भारतमा पनि पहिले देखिनै हुँदै आएको छ।”

जनकपुरमा २०६१ सालबाट महामूर्ख सम्मेलन हुँदै आएको छ। २०६१ सालमा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, २०६२मा एमाले नेता शीतल झा, २०६३मा जनकपुर नगरपालिकाका तत्कालीन मेयर हरि बहादुर बिसी, २०६४मा सदभावना नेता ओमकुमार झा, २०६५मा वरीष्ठ साहित्यकार डा. राजेन्द्र विमल, २०६६मा पूर्वमन्त्री एवं नयाँ शक्तिका नेता रामचन्द्र झा, २०६७मा नेपालका चर्चित राजनीतिक विश्लेषक सीके लाल, २०६८मा साहित्यकार रामभरोष कापडि़ भ्रमरलाई प्रदान गरिएको थियो।

त्यस्तै २०६९ सालमा नेपाली कांग्रेस धनुषाका सभापति रामसरोज यादव, २०७०मा तमलोपाका नेता एवं सांसद डा. विजय कुमार सिंह, २०७१ मा एमाले नेता एवं सांसद शत्रुधन महतो र २०७२ मा श्मसान घाटलाई स्वर्गद्वारा बनाएर चर्चा कमाएका पवन सिंघानियालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो।

यसैगरी २०७३ मा सप्तरीको मलेठमा भएको घटनाका कारण अन्तिम समयमा कार्यक्रम स्थगित गरिएको थियो। २०७४ मा राष्ट्रिय जनता पार्टीका वरीष्ठ उपाध्यक्ष एवं राजसभा सदस्य वृषेशचन्द्र लाल, २०७५ मा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलाई, २०७६ मा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र २०७७ मा वरीष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश अचार्य ‘मह’ जोडीलाई प्रदान महामूर्खको उपाधि प्रदान गरिएको थियो।

यसरी छनोट गरिन्छ महामूर्ख ?

महामूर्खको छनोट कसरी हुन्छ? यो धेरैको उत्सुकको विषय हो। महामूर्ख सम्मेलनको आयोजक मिथिला नाट्यकला परिषदका पूर्वअध्यक्ष मदन ठाकुर भन्छन्, “महामूर्खको छनोटका लागि तयारी आयोजनासँग खोजी शुरु भइहाल्छ। यसका लागि एक कमिटी गठन गरिन्छ। त्यसैले निर्णय गर्दै आएको छ। केही व्यक्ति महामूर्ख बन्नका लागि कसेर लागेको हुन्छन्।”

जनकपुरधामको स्थानीय पत्रिकाहरूमा एक हप्ता पहिल्यैदेखि महामूर्खको चर्चा आउने गर्छ।

नेपाल पत्रकार महासंघ पूर्वकेन्द्रीय सदस्य शैलेन्द्र झा भन्छन्, “महामूर्ख जनकपुरधामको एकटा लोकप्रिय कार्यक्रम हो। यसलाई मिडियाले क्यास नगर्ने कुरै आउँदैन। फेरि मिडियामा चर्चा भएपछि कार्यक्रको आकर्षण बढने गर्छ। समान्यतया धेरैलाई लाग्नसक्छ महामूर्ख को बन्छ ? तर आश्चर्यको, यो उपाधि आश गरिरहन्छन्।

२०६५ सालका महामूर्खक उपाधि प्राप्तकर्ता एवं मैथिलीक वरीष्ठ साहित्यकार डा. राजेन्द्र प्रसाद विमल भन्छन्, “उपाधि प्राप्त गर्नु आफैमा ठूलो उपलब्धि हो, प्रेमले मानिस हरेकथोक अर्थात् विष पनि पिउने गरेको इतिहास छ। यस्तोमा महामूर्ख पाउनु ठूलो कुरो हो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved