यसरी नेपालमै भयो बिनाशल्यक्रिया मुटुको भल्भ परिवर्तन

नेपालमै पहिलोपटक बिना शल्यक्रिया टीएभीआई विधीबाट मुटुको भल्भ परिवर्तन भएको छ। यो सफलताले शल्यक्रिया गर्ने अवस्था नभएका बिरामीको पनि आयु बढाउने सम्भावना शुरु भएको छ।

यसरी नेपालमै भयो बिनाशल्यक्रिया मुटुको भल्भ परिवर्तन

काठमाडौं। मानव मुटुका चार कोठामा चार ओटा एकतिरमात्र खुल्ने ढोका हुन्छन्। विज्ञानको भाषामा त्यस्ता ढोकालाई भल्भ भनिन्छ। वैज्ञानिकहरूले काम र संरचनाको आधारमा ती चार भल्भका पनि नाम दिएका छन्– ट्राइकस्पिड, पल्मोनरी, माइट्रल र एओर्टिक। यीमध्ये कुनै एउटा भल्भले पनि कारणवश राम्रोसँग काम गर्न सकेनन् भने मुटुले जहाँ रगत पठाउनुपर्ने हो त्यहाँ पुग्दैन। त्यसको परिणाम, शरीरका विभिन्न अंगले राम्रोसँग काम गर्दैनन्। बिस्तारै मुटुले नै काम गर्न छोड्छ। मानिसको आयु छोटिँदै जान्छ।

त्यस्तै भयो काठमाडौंकी ८० वर्षीय पार्वतीलाई (नाम परिवर्तन)। सास फेर्न गाह्रो भयो। छाती दुख्यो। श्वासप्रश्वासको गति बढ्यो। यस्तो समस्या देखिएपछि परिवारले उनलाई एउटा नीजि अस्पताल लगे।

अस्पतालले सबै जाँच गरेपछि मुटुको एओर्टिक भल्भ साँघुरिएकाले त्यस्तो समस्या देखिएको बतायो। डाक्टरहरूले अप्रेशन गर्ने सल्लाह दिए।

उनका छोरा राजेन्द्रले (नाम परिवर्तन) ८० वर्षको उमेरमा आमाको अप्रेशन गर्न निकै चुनौतीपूर्ण हुन्छ भन्ने बुझेका थिए। उनले गुगल गर्न थाले। गुगलमा उनले बिना शल्यक्रिया नै भल्भ फेर्न सकिनेरैछ भन्ने थाहा पाए। त्यस्तो विधीलाई ‘ट्रान्सक्याथेटर एओर्टिक भल्भ इम्प्लान्टेसन’ (टीएभीआई) भनिँदो रहेछ। तर नेपालमा त्यो विधी प्रयोग नै भएको थिएन।

भइ पो हाल्छ कि भनेर सल्लाह गर्न राजेन्द्र गंगालाल हृदय रोग केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीकहाँ पुगे। केही वर्ष पहिले बुवालाई हृदयाघात हुँदा एन्जिओप्लास्टी गरेर बचाएका हुनाले डा. अधिकारी उनका लागि अपरिचित थिएनन्।

संयोग कस्तो भने, डा. अधिकारी स्वंयले टीएभीआई उपचार विधीबारे भारतबाट तालिम लिएर फर्केदेखि नेपालमा त्यही विधी शुरु गर्नेबारे दुई वर्षदेखि प्रयास गरिरहेका थिए। त्यसबीचमा उनले यो विधी अपनाउन खोजेका थिए तर कतिपयले नबुझेर र कतिपयले विश्वास नगरेर र कतिपयले आर्थिक रूपले धान्न नसकेपछि उनको प्रयत्न सफल हुन सकेको थिएन।

पार्वतीको उमेर सँगै अन्य रोग पनि भएकाले शल्यक्रिया गर्न असम्भवप्रायः थियो। विकल्प एउटै थियो, टीएभीआई विधी। उक्त विधीमा बिरामीको तिघ्राको धमनीबाट क्याथेटर (विशेष किसिमबाट निर्मित तार) मार्फत कृत्रिम भल्म मुटुभित्र पसाइन्छ। मुटुमा साँघुरिएको भल्भको ठाउँमा त्यो कृत्रिम भल्भ लगेर राखिन्छ।

डा. अधिकारीले राजेन्द्रलाई यी सबै बताएपछि उनी आमाको उपचार गर्न तयार भए।

“८० वर्षीय ती बिरामीको परिवारले हामीलाई विश्वास गरेर टिएभीआई गर्न भन्नुभयो र त्यसपछि हामीले बिरामीको टिएभीआइ गर्न मिल्छ की मिल्दैन र भल्भ कति साइजको आवश्यक पर्छ भनेर सिटिस्क्यान गर्यौ,” डा. अधिकारी भन्छन्, “बिरामीको सम्पूर्ण रिपोर्ट नेदरल्याण्ड पठायौँ, उताबाट रिपोर्ट हेरेपछि भल्भ फेर्न मिल्छ भन्ने प्रतिक्रिया आयो।”

भल्भ बाहिरबाट ल्याइने भएकाले पनि उपचार खर्च करीब २० देखि २५ लाखसम्म लाग्ने परिवारलाई बताइयो। परिवार त्यो खर्च व्यहोर्न तयार भएपछि उपचार प्रक्रिया अघि बढ्यो। तर पहिलोपटक त्यो विधी प्रयोग गरिँदै थियो। डाक्टर अधिकारी आफैँ पनि तनावमा थिए।

“सबै कुरा मिल्यो अब टिएभीआइ गर्नु पर्छ भनेर मिति पनि तय गरियो। यो नेपालमै पहिलो पटक गरिँदै थियोे त्यसैले पनि केही चुनौती त पक्कै पनि थियो। के हुने हो, कसो हुने हो भन्ने लागेर दुई दिन निकै तनावमा बित्यो”, डा. अधिकारी सुनाउँछन्, “हुन त मैले यो भन्दा अगाडि पनि नयाँ केसहरू गरेको अनुभव छ। म क्याथ ल्याबभित्र रमाउने मान्छे हुँ तर यो केसको अनुभव केही फरक भयोे।”

करीब दुई महिनासम्मको तयारीपछि १६ फागुनमा दुई घण्टा जति समय लगाएर पार्वतीको मुटुमा कृत्रिम भल्भ राखियो।

टीएभीआई गर्न मान्यता पाएका चिकित्सकको नेतृत्वमा ५० वटा टीएभीआई गरेपछि मात्र डा. अधिकारी एक्लैले यो विधि प्रयोग गर्न पाउँछन्। त्यसैले यसपटक चेन्नइका मुटुरोग विशेषज्ञ डा. साइ सतिसको नेतृत्वमा नेपालका दुई दर्जन चिकित्सक संलग्न रहे।

डा. अधिकारी भन्छन्, “डा. सतिसकै नेतृत्वमा शल्यक्रिया हुँदै थियो तर पनि मनभित्र डर थियो,। अन्य साथीहरूलाई हौसला दिन मैले आफ्नो डर देखाउन सकिनँ। मलाई यो केस जसरी पनि सफल बनाउनु पर्छ भन्ने थियो किनभने यो सफल भएपछि मात्रै नेपालमा यो नेपालमै योे उपचार सहज हुन्थ्यो।”

पार्वतीको मुटुमा २३ एमएमको कृत्रिम भल्भ राखिएको छ। भल्भ राखिएको चौथो दिनमा नै उनी अस्पतालबाट घर गइसकेकी छन्।

“चुनौतीहरू धेरै भए पनि यो विधिद्धारा नेपालमा उपचार सेवा शुरु गर्नु नै थियो,” गर्वका साथ डा. अधिकारी सुनाउँछन्, “धेरै नेपालीमा धमनी साँघुरिने समस्या छ पैसा हुने विदेश जान्छन् तर नहुनेहरू रोग लिएर बस्न बाध्य भएकाले नै अब नेपामलै बिना शल्यक्रिया भल्भ राख्न सकिन्छ भनेर विश्वास गरुन भन्नु पनि हो।”

अप्रेशन गरेर भल्भ राख्ने विधी भन्दा टीएभीआई विधि कम जोखिमपूर्ण रहेको डा. अधिकारीले बताए।

अब यसरी नै नेपालमा टिएभीआइ गर्दै गएपछि विदेशमा भन्दा ५० प्रतिशत सस्तोमै गर्न सकिने समेत उनले जानकारी दिए।

डा. अधिकारीका अनुसार यसरी प्रत्यारोपण गरेको भल्भले तुरुन्तै काम गर्ने हुँदा बिरामीलाई छिटो आराम महसूस हुन्छ।

किन साँघुरिन्छ भल्भ ?

उमेर बढ्दै जाँदा मुटुको भल्भमा क्याल्सियम जम्मा हुन्छ र क्याल्सियम जम्मा भएपछि विस्तारै चल्न छोड्छ अनि भल्भ साँघुरिन थाल्छ।

उमेर बढि भएका व्यक्तिहरूमा नै यो समस्या धेरै देखिने भएकाले उनीहरूलाई शल्यक्रिया गर्न जोखिम हुन्छ। त्यसैले नै यो विधीको विकास भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved