महिला पत्रकारलाई स्यानेटरी प्याड वितरण शुरु

नेपालभ्युज

महिला पत्रकारलाई स्यानेटरी प्याड वितरण शुरु

हेटौंडा। सञ्चारिका समूह नेपाल मकवानपुरले महिला पत्रकारहरूका लागि स्यानेटरी प्याड वितरण शुभारम्भ गरेको छ। ११२ मार्औं नारी दिवसको अवसरमा सञ्चारिका समूह मकवानपुरले मंगलबार पत्रकार महिलाहरूबीच मैत्रीपूर्ण फुटसल खेलको आयोजना गर्दै प्याड वितरण कार्यक्रमको शुभारम्भ गरेको हो।

यो कार्यक्रम हरेक महिना सञ्चालन हुने सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष सम्झना रिजालले जानकारी दिइन्। मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरी प्याड वितरणको शुरुआत गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले महिलाहरूको नेतृत्व र सशक्तीकरणका लागि राजनीतिक दलहरूले नै अग्रसरता देखाउनुपर्ने बताइन्। उनले दलहरूले अहिले महिला नेतृत्वलाई अघि आउने अवसर नै नदिएको भन्दै संविधानमा नै व्यवस्था भएको ३३ प्रतिशत महिला सहभागिता नै सुनिश्चित नभएको बताइन्।

महिलाहरूलाई सधैं दोस्रो पदमा मात्र राख्ने गरेको बताउँदै अब आफू हेटौंडा उपमहानगरपालिकाको नेतृत्वमा आउन चाहेको उनले बताइन्। उनले महिला पत्रकारहरूले शुरु गरेको प्याड वितरण कार्यक्रमलाई अझै प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन्।

कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष सम्झना कार्की, पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, उपाध्यक्ष ध्रुव अधिकारी, सञ्चारिका समूह बागमती प्रदेश अध्यक्ष सरिता दाहाललगायतको उपस्थिति थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved