आइएमई जनरल इन्स्योरेन्सका थप २ सेवा शुभारम्भ, एउटाले परिवारकै बीमा हुने

नेपालभ्युज

आइएमई जनरल इन्स्योरेन्सका थप २ सेवा शुभारम्भ, एउटाले परिवारकै बीमा हुने

काठमाडौं। आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आजदेखि थप २ वटा सेवा शुभारम्भ गरेको छ। कम्पनीले आईजीआई हेल्थ प्लस बीमालेख र आइएमई इजी क्यासलेस क्लेम सेटलमेन्ट सेवाको शुभारम्भ गरेको हो।

बीमा समितिमा अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रमुख आतिथ्यतामा उक्त सेवा शुभारम्भ गरिएको हो। कार्यक्रममा कम्पनीका अध्यक्ष हेमराज ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, स्पार्क अटोकेयरका अध्यक्ष रोशन घिमिरे, प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठ लगायतको उपस्थिति थियो।

आइजिआई हेल्थ प्लस बीमालेखले दुर्घटना, स्वास्थ तथा घातक रोगको लागि एउटै छाताभित्र समेट्ने छ। यस अन्तर्गत परिवारको सम्पूर्ण सदस्यहरूको एउटै बीमालेखअन्तर्गत दुर्घटना बीमा, औषधि उपचार बीमा र घातकरोग बीमा समावेश गरिएको छ।

त्यस्तै कम्पनीले आजै उद्घाटन गरेको ‘आइजिआइ इजी क्यासलेस क्लेम सेटलमेन्ट’ सेवा हाललाई काठमाडौं उपत्यकाभित्र लागु हुनेछ। कम्पनीबाट आफ्नो निजी सवारी साधनहरूको बीमा गरेका ग्राहकहरूले कुनै पनि किसिमको दुर्घटनामा परी सवारी साधनको क्षति भएमा गुहेश्वरीस्थित स्पार्क अटोकेयर प्राइभेट लिमिटेडको सहकार्यमा तोकिएका सेवा प्राप्त गर्न सकिनेछ। यसका लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र अटोकेयरका अध्यक्ष रोशन घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरि सेवाको शुरुआत गरेका छन्।

कम्पनीबाट बीमा भएको चारपाग्रे निजी सवारी साधनको दुर्घटना हुन गई सवारी साधन क्षति हुन गएमा वा तेस्रो पक्षको निजी सवारी साधन क्षतिग्रस्त भइ मर्मत संभार गर्नुपर्ने भएमा स्पार्क अटोकेअरको मर्मत केन्द्रमा उक्त क्षतिग्रस्त सवारी साधन मर्मत सम्भारको लागि लगिएमा, सो मर्मत सम्भारबापत लाग्ने खर्च बीमा कम्पनीले स्पार्क अटोकेयरलाई सीधै भुक्तानी गरी लामो दाबी प्रक्रियालाई सहज, सरल र झन्झटमुक्त हुने कम्पनीले जनाएको छ।

सवारी दुर्घटनामा परेका ग्राहकले कम्पनीले उपलब्ध गराएको मोबाइल नम्बर, फोन, एसएमएस, भाइवर, ह्वाट्स एपमार्फत जानकारी गराउन सक्नेछन्। यस्तो जानकारी प्राप्त हुनेबित्तिकै स्पार्क अटोकेयरले क्षतिग्रस्त सवारी साधनलाई दुर्घटना स्थलबाट गुहेश्वरीस्थित स्पार्क अटोकेयरको सर्भिस सेन्टरसम्म लैजानेछ।

यसपछि बिमितले कुनै पनि तनाव लिनु पर्नेछैन। अटोकेयरले मर्मत संभार गरेर बिमितलाई जानकारी दिनेछ। अटोकेयरले आफैले उपत्यकाभित्रका सवारीधनीको घरसम्मै पुर्‍यउाने व्यवस्था मिलाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved