यस्तो छ इण्डियन सुपर लिग खेल्ने पहिलो नेपाली अनन्तको फुटबल यात्रा

सन् २०१५ मा पहिलोपटक यू–१९ साफ च्याम्पियनसिपको उपाधी जित्दा फाइनलमा भारतलाई टाई–ब्रेकरमा ५–४ ले हराउँदा उपकप्तान अनन्तले अन्तिम तथा निर्णयक पेनाल्टी गोल गरेका थिए। त्यसपछि नेपाली फुटबलमा उनको चर्चा चुलिएको थियो।

यस्तो छ इण्डियन सुपर लिग खेल्ने पहिलो नेपाली अनन्तको फुटबल यात्रा

काठमाडौं। १२ मे २०१८, सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा डेब्यू गरे। त्यो दिन नेपाली क्रिकेटमा विश्वकप खेलेपछिको सबैभन्दा ऐतिहासिक दिन थियो।

सोही वर्ष जानवारीमा भएको आईपीएल अक्सनमा नै तत्कालीन डेल्ली डेयर डेभिल्स( हाल डेल्ली क्यापिटल्स) ले उनलाई टिममा आबद्ध गरेको क्षण नै नेपाली क्रिकेटको लागि मात्र नभई नेपाली खेलकुदको नै ठूलो उपलब्धि बनेको थियो।

सन्दीपले आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको खेलमा डेब्यू गरेका थिए। संयोग नै मान्नुपर्छ अनन्त तामाङ, शनिबार इण्डियन सुपर लिग (आईएसएल ) फुटबल खेल्ने पहिलो नेपाली खेलाडी बन्दा पनि बैंगलोर एफसीविरुद्ध नै डेब्यू गरे।

नेपाली राष्ट्रिय टिम तथा थ्री स्टार क्लबका सेन्ट्रल डिफेण्डर अनन्त स्पोर्टिङ क्लब इष्ट बेंगालबाट आईएसएल खेल्दै नेपाली खेलकुदमा अर्को इतिहास रच्न सफल भए।

हुन त विश्व खेल जगतमा आईएसएलको चर्चा आईपीएलको जति छैन। एक त हाल भारतीय क्रिकेट, विश्वभरीमा उच्चकोटीमा पर्छ। ठीक त्यसैगरी भारतीय क्रिकेट बोर्डले आयोजना गर्ने फ्रेन्चाइज क्रिकेट लिग आईपीयल पनि हाल सबैभन्दा चर्चित क्लब क्रिकेट प्रतियोगिता हो।

यसको तुलनामा भारतको फ्रेन्चाइज फुटबल लिग आईएसएलको विश्व जगतमा उचाई केही कम छ। तर कुनै पनि नेपाली फुटबल खेलाडीका लागि आईएसएल खेल्न पाउनु आफैमा सानो उपलब्धि भने होइन।

यो भारतीय फुटबल प्रणालीको सबैभन्दा उच्च तहको व्यवसायिक लिग हो। भारतीय क्रिकेट बोर्डले सन् २००८ देखि शुरु गरेको आईपीएलले छोटो समयमा नै निकै ठूलो लोकप्रियता कमायो। यसपछि अखिल भारतीय फुटबल महासंघले आईपीएल कै संरचना र शैलीमा सन् २०१३ देखि आईएसएलको शुरुआत गरेको थियो।

विश्व खेल जगतमा नै भारतीय फुटबलको स्तर भारतीय क्रिकेटको जत्रो छैन। त्यसैले आईएसएलले आईपीएलको उचाई भेट्दैन। तर विश्वभरिका प्रसिद्ध खेलाडीहरूले खेलिसकेका र खेलिरहेका हुनाले आईएसएलको चर्चा बढ्दै गएको छ।

आईएसएलमा विश्वकप विजेता ब्राजिल तथा रियल मड्रिडका फ्रि-किक स्पेशलिष्ट रोबर्टो कार्लोससँगै उरुग्वे तथा म्यान्चेष्टर युनाइटेडका स्टार फरवार्ड डिएगो फोर्लान जस्ता खेलाडीले खेलिसकेका छन्।

अधिकांश ठूला यूरोपियन क्लबबाट खेलेका फ्रान्सका स्टार फरवार्ड निकोलस एनेल्का, लिभरपुलर बार्सिलोना तथा स्पेनका विङ्गर लुइस गार्सिया, इटलीका विश्वकप विजेता तथा उत्कृष्ठ खेलाडी मध्येका र युभेन्टसका फरवार्ड एलेजेण्ड्रो डेल पिएरोले पनि आईएसएलमा आफ्नो खेल देखाइसकेका छन्।

त्यसैगरी आईएसएल खेल्ने अन्य विश्व स्टार खेलाडीमा फ्रान्सका विश्वकप विजेता तथा युभेन्टसका स्ट्राइकर डेभिड ट्रेग्वेट, पोर्चुगलका स्ट्राइगर हेल्डर पोष्टिगा, मेन्चेष्टर युनाइटेडका स्टार फरवार्ड डिमिटर बेर्बाटोभ, ब्राजिल तथा म्यान्चेष्टर सिटीका पूर्व मिडफिल्डर इलानो, आयरल्याण्डका सर्वाधिक गोल स्कोरर रोबि क्यान आदि पर्छन्।

आईएसएल डेब्यू

धेरै नेपाली फुटबल खेलाडीको सपना नै हुन्छ आईएसएल खेल्ने। हुन त नेपाली राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ, डिफेण्डर रोहित चन्द र स्ट्राइकर अनिल गुरुङसँगै फरवार्ड अभिषेक रिजाल र मिडफिल्डर प्रकाश बुढाथोकीले भारतीय फुटबल प्रणलीको अर्को पहिलो श्रेणीको लिग आई लिग खेलिसकेका छन्।

तर आईएसएल खेल्ने पहिलो सौभाग्य भने अनन्तले पाए। हुन त यो सिजन लिगको अन्तिम दुई खेलका लागि मात्र पूर्वी बेंगालले अनन्तलाई टिममा अनुबन्धित गरेको थियो। टिमको नियमित अष्ट्रेलियन डिफेण्डर टिमोसलाभ टिमबाट बाहिरिएपछि लिगमा बाँकी दुई खेलमा लागि मात्र उनी बेंगाल टिममा जोडिएका थिए।

पहिलो खेल कोभिडका कारण क्वारेनटाइनमा बस्नुपरेका कारण उनले खेल्न पाएनन्। त्यसैले यो पटकको आईएसएल डेब्यूमा आफ्नो पहिलो तर बेंगालको लिगको अन्तिम एक खेल मात्र खेल्दै अनन्त नेपाल फर्कदैछन्।

यो सिजनमा पाएको एक मात्र खेलमा उनी प्लेइङ ११ मा रहेर पूरै समय खेल्न पाए। यदि उनको खेलबाट बेंगाल वा आईएसएलका अन्य टिम प्रभावित भए भने अर्को सिजनका लागि कुनै टिमले उनलाई छनोट गर्ने सम्भावना प्रवल हुन्छ।

आईएसएलमा उनको पहिलो खेलमा प्रदर्शन औशत रह्यो। खेलको २४ औँ मिनेटमा डिफेण्डमा उनलाई नै बिट गर्दै बैंगलोर एफसीका स्ट्राइकर सुनिल क्षेत्रीले गरेको गोल निर्णायक बन्दा अनन्तको टिम बेंगाल १–० ले पराजित भएको थियो।

“निश्चय नै यो हामीले चाहेको नतिजा थिएन तर खेलमा यो प्रतिष्ठित क्लबको हिस्सा हुन पाउनु मेरा लागि निकै गौरवान्वित क्षण थियो। नेपाली दिग्गज फुटबलरहरूबाट जुन टिमको बारेमा सुनेको थिएँ, त्यो सूचीमा अटाउन पाउँदा सपना पूरा भएको छ। यसका लागि स्पोर्टिङ क्लब इष्ट बेंगाललाई धन्यवाद,” खेलपछि अनन्तले सामाजिक सञ्जालमार्फत बताएका थिए।

अनन्तको फुटबल यात्रा

सन् २०१५ मा पहिलोपटक यू–१९ साफ च्याम्पियनसिपको उपाधी जित्दा फाइनलमा भारतलाई टाई–ब्रेकरमा ५–४ ले हराउँदा उपकप्तान अनन्तले अन्तिम तथा निर्णयक पेनाल्टी गोल गरेका थिए। त्यसपछि नेपाली फुटबलमा उनको चर्चा चुलिएको थियो।

त्यसलगत्तै उनले भारतविरुद्धको मैत्रिपुर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यू गरे। यूरोपबाट फुटबल खेल्ने सपना पूरा गर्न उनी सन् २०१७ मा स्पानिस क्लब मार्बेला युनाइटेडको प्रशिक्षणमा सामेल भएका थिए। तर चोटका कारण क्लबमा आबद्ध भए पनि उनले खेल भने खेल्न पाएनन्।

त्यसपछि नेपाल फर्किएर उनी थ्री स्टार क्लबसँग जोडिए र हालसम्म थ्री स्टारमा नै आवद्ध छन्।

उनले नेपालको यू–२३ टिमबाट सन् २०१६ र २०१९ को दक्षिण एशियाली खेलकुदको फुटबलतर्फको उपाधी जितेका थिए। सन् २०१९ मा स्वर्ण जित्दा उनको प्रदर्शन शानदार थियो।

नेपालले सन् २०१६ मा एएफसी सोलीडारिटी कप र बंगबन्धु कपको उपाधी जित्दा पनि उनी राष्ट्रिय टिमका मुख्य सदस्य थिए। सोही वर्ष माल्दिभ्समा भएको साफ च्याम्पियनशिपमा नेपाल पहिलोपटक उपविजेता बन्दा उनको पनि महत्वपुर्ण योगदान थियो।

विशेषगरी खेलमा अन्तिम डिफेन्डरको चुनौती लिन चाहने उनको खेल शैली वान भर्सेस वानको कडा ट्याकल हो। विपक्षी टिमको फरवार्डको गोल गर्ने प्रयासमा रक्षापंक्तिमा अन्तिम अवस्थासम्म डटेर खतरा टार्ने काम गर्न उनी माहिर छन्।

राष्ट्रिय टिममा अर्का स्टार रोहित चन्दसँगको उनको कम्बिनेसन राम्रो छ।

थ्री स्टार क्लबबाट शहीद स्मारक ए डिभिजन लिग खेलेका उनी आगामी महीना हुने नेपाल सुपर लिगमा भने एफसी चितवनबाट मार्की प्लेएरको रूपमा खेल्दैछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved