एमसीसी परियोजना पाँच वर्ष भित्रै सक्ने सरकारको लक्ष्य

मन्त्री कार्कीले भने, “अबको विकसित राजनीतिक परिस्थितिको बारेमा सरकारको के भूमिका रहन्छ ? गठबन्धन दलहरुको के भूमिका रहने र कसरी हामी अघि बढ्ने, यी सबै विषयमा छलफल केन्द्रित रह्यो।”

नेपालभ्युज

एमसीसी परियोजना पाँच वर्ष भित्रै सक्ने सरकारको लक्ष्य

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी परियोजनालाई पाँच वर्ष भित्रमै सक्ने सरकारको लक्ष्य रहेको बताएका छन्।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ चार दलको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन्।

मन्त्री कार्कीले भने, “यस एमसीसीलाई हामी मेलम्ची जस्तो बनाउन सक्दैनौँ । यो पाँच वर्षमा हामीले यसलाई सम्पन्न गर्न सकेनौँ भने यो रकम फिर्ता जान्छ । पाँच वर्ष भित्रमा करीब ३१५ मिटर ट्रान्समिसन लाइन र अन्तर्राष्ट्रिय स्तरको सडक निर्माण गर्ने लक्ष्य पूरा गरेर मुलुकको गरीबी निवारण र देशलाई दिगो आर्थिक विकासतर्फ अघि बढाउन र यसलाई समयमा सम्पन्न गर्न हामी सबैको बीचमा अहिलेझैँ एकता अपरिहार्य छ ।”

मन्त्री कार्कीले पाँच वर्ष भित्रमा करीब ३१५ मिटर ट्रान्समिसन लाइन र अन्तर्राष्ट्रिय स्तरको सडक निर्माण गर्ने लक्ष्य पूरा गरेर मुलुकको गरिबी निवारण र देशलाई दिगो आर्थिक विकासतर्फ अघि बढाउनतर्फ सरकार रहेको बताए।

एमसीसी पास गर्न सहयोग गर्ने राजनीतिक दलहरुले अब एमसीसी समयमै सक्नको लागि पनि एकजुट भएर सहयोग गर्न कार्कीले आग्रह गरे। मन्त्री कार्कीले संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग आग्रह गर्ने बताए।

मन्त्री कार्कीले आजको बैठकमा अबको विकसित राजनीतिक परिस्थितिको बारेमा सरकारको भूमिका र संसद् अवरोधका बारेमा छलफल केन्द्रित भएको बताए।

मन्त्री कार्कीले भने, “अबको विकसित राजनीतिक परिस्थितिको बारेमा सरकारको के भूमिका रहन्छ ? गठबन्धन दलहरुको के भूमिका रहने र कसरी हामी अघि बढ्ने, यी सबै विषयमा छलफल केन्द्रित रह्यो।”

मन्त्री कार्कीले बैठकमा नागरिक विधेयक, उड्डयन जस्ता विधेयकहरुको बारेमा पनि छलफल केन्द्रित भएको बताए। त्यस्तै आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा पनि छलफल भएको उनले बताए।

“अहिले लामो समयदेखि सार्वभौम संसद् सञ्चालन हुन सकेको छैन । यो अवरुद्ध छ । अवरुद्ध भएको कारणले नागरिक विधेयक, हवाई उड्डयन जस्ता विधेयकहरु युरोपको आकाशमा उड्न नसक्ने अवस्था छ,” मन्त्री कार्कीले भने, “यस्ता धेरै विधेयकहरु छन्, यी विधेयकहरुको बारेमा संसदमा गम्भीर रुपले छलफल हुनुपर्छ । यसको बारेमा पनि छलफल भयो ।”

मन्त्री कार्कीले यो गठबन्धन देशमा सुशासन, स्थायित्व र विकासका लागि बनेकोले अझै अघि बढ्ने बताए। उनले एमसीसी पास भएपछि अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयता बढेको भन्दै एमसीसीबाट जनतालाई रोजगार बनाउने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved