सत्ता स्वार्थका कारण प्रचण्ड र नेपालले एमसीसी पास गरे: पोखरेल

एमसीसीबाट प्रचण्डहरू सत्ता स्वार्थका लागि जो पनि गर्न सक्छन् भन्ने चरित्र उदांगो भएको उनले बताए।

नेपालभ्युज

सत्ता स्वार्थका कारण प्रचण्ड र नेपालले एमसीसी पास गरे: पोखरेल

धनगढी। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले सत्ता स्वार्थका लागि एमसीसी पास गरेको बताएका छन्। प्रेस चौतारी कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृतका अध्यक्ष माधव नेपालले सरकारमा बस्न एमसीसी पास गर्न सघाएको आरोप लगाए।

यसले प्रचण्डहरू सत्ता स्वार्थका लागि जो पनि गर्न सक्छन् भन्ने चरित्र उदंगो भएको उनको भनाइ थियो। ‘‘एमसीसीलाई पार्टी विभाजनको आधार प्रस्तुत गरेका माधव र प्रचण्डहरू सत्ताको लागि रमिता धेरै देखाउनु भयो। अन्तिममा पारित गर्ने उहाँहरु नै हुनुभयो,’’ पोखरेलले थपे, ‘‘नेकपाको अन्तरसंघर्षका मुद्दा निरर्थक थिए। कुण्ठा र सत्ता स्वार्थ थिए भन्ने पुष्टि भएको छ। ’’

यस्तै एमसीसीको व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरिएको टिप्पणी उनले गरेका छन्। कानून र संविधानले मान्यतासमेत नदिएको विषयमा जनतालाई भ्रमित पारिएको उनले बताए।

‘‘व्याख्यात्मक घोषणा गरेर लाज जोगाउने प्रयास भएको छ। जे छ त्यही कुरा स्पष्ट पारिएको हो संशोधन गरिएको होइन। कार्यकर्ताहरूलाई भ्रम सृजना गरिएको छ ’’, उनले भने, ‘‘हाम्रो संविधान र कानूनले व्याख्यालाई कानुनी हैसियत प्रदान गर्दैन। ’’

कुनै पनि विषयमा संशोधन नहुने गरी हुबहु पारित गरेको भन्दै व्याख्यात्मक घोषणाको कुनै अर्थ नरहेको समेत उनले स्पष्ट पारेका थिए।

महासचिव पोखरेलले भने, ‘‘शेरबहादुर देउवाकै नेतृत्वमा माओवादीसहितको सरकारले हस्ताक्षर गरेको थियो उनीहरू मिलेर पारित गरे। जसले सम्झौता गरे उनीहरूले जिम्मा लिए।’’

उनले सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप लगाए। ‘‘सरकारको बिजनेस सभामुखले रोक्न मिल्दैन भन्ने हाम्रो अडान थियो त्यो पूरा भएको छ, ’’ उनले भने, ‘‘टेबल गर्नुपरे आत्महत्या गर्छु भन्नु भएको थियो अहिले राजनैतिक पूर्वाग्रही भएको पुष्टि भएको छ। ’’

अर्ली इलेक्सनलाई एमालेले स्वागत गर्ने भन्दै पोखरेलले स्थानीय चुनाव सार्ने शर्त आफूहरूलाई मान्य नहुने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved