रूस-युक्रेन युद्धको असर नेपाली भान्सासम्म, कच्चा पदार्थ रोकिँदा सूर्यमुखी तेल अभाव हुनसक्ने

युद्धका कारण नेपालमा आउने खानेतेलको कच्चा पदार्थ रोकिएकाले नेपाली भान्सामा खानेतेलको अभाव हुने सम्भावना बढेको हो। सूर्यमुखी तेलको कच्चा पदार्थको आयात रोकिइसकेको छ भने नेपाली बजारमा प्रतिलिटर २० रुपैयाँसम्म तेलको भाउमा वृद्धि भइसकेको छ।

रूस-युक्रेन युद्धको असर नेपाली भान्सासम्म, कच्चा पदार्थ रोकिँदा सूर्यमुखी तेल अभाव हुनसक्ने

काठमाडौं। रूस–युक्रेनबीच शुरु भएको लडाइँको प्रभाव नेपाली भान्सासम्म पर्ने देखिएको छ। युद्धका कारण नेपालमा आउने खानेतेलको कच्चा पदार्थ रोकिएका कारण नेपाली भान्सामा खानेतेलको अभाव हुने संभावना बढेको हो।

नेपालको खाने तेल बजारमा ३५ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको सूर्यमुखी तेलको कच्चा पदार्थको आयात रोकिइसकेको छ भने नेपाली बजारमा प्रतिलिटर २० रुपैयाँसम्म तेलको भाउमा वृद्धि भइसकेको छ। युद्ध शुरु भएको बुधबार छैटौँ दिन हो।

नेपाल वनस्पति घ्यू तथा तेल उत्पादक संघका अनुसार युक्रेनमा रूसी आक्रमण बढ्न थालेपछि फेब्रुअरी महीनामा ‘अर्डर’ भएको खानेतेलको कच्चा पदार्थ आउनै सकेको छैन। संघका महासचिव अमित मोरले भने, “युक्रेनबाट फेब्रुअरीमा कुनै पनि भेसल्स (कच्चा पदार्थ बोक्ने कन्टेनर) आउन सकेका छैनन्। त्यहाँ युद्ध नरोकिए एक–डेढ महीनामा नै बजारमा सूर्यमुखी तेल अभाव हुनसक्छ।”

मोरका अनुसार, युक्रेनको पहिलो विकल्प रूस नै भएकाले त्यहाँबाट पनि सम्भव छैन। “हाम्रो माल आउन सकेको छैन। युक्रेनपछिको विकल्प रूसमा पनि अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण तेल ल्याउन असहज भएको छ,” उनले भने, “तेस्रो विकल्प दक्षिण अमेरिकी देश अर्जेन्टिना हो। त्यहाँबाट नेपालले मात्रै ल्याउन सम्भव छैन। भारतीय आपूर्तिकर्तासँग मिलेर ल्याउन प्रयास गरिरहेका छौँ।”

अर्जेन्टिनाबाट ल्याउँदा ठूलो मात्रामा किन्नुपर्ने भएको त्यति धेरै कच्चा पदार्थ नेपालमा आवश्यक नहुने उनले बताए। “समस्या के छ भने त्यहाँबाट एउटा जहाजमा ७० देखि ८० हजार टन माल आउँछ,” उनले भने, “यति धेरै माल नेपालमा आवश्यक छैन। नेपालको मासिक रूपमा ७–८ हजार टन मात्रै खपत हुन्छ।”

महासचिव मोरले उपभोक्ताले सूर्यमुखी तेलको तत्कालका लागि विकल्प खोज्नुपर्ने बताए। उनले भने “अब सूर्यमूखी तेलको विकल्प खोज्दै भट्मास र तोरीको तेल खानुपर्छ किनभने सूर्यमुखी तेलको विकल्पमा हामीले अन्य तेलले धान्न सक्छ।”

भन्सार विभागको तथ्यांकअनुसार। भट्मास तेलको कच्चा पदार्थ ब्राजिल र अर्जेन्टिनाबाट ९६ प्रतिशत आयात हुने गर्छ। सूर्यमुखी तेलको अभाव हुनसक्ने आँकलन गर्दै अहिले तोरी र भट्मासको तेलको मुल्यमा पनि अत्यधिक वृद्धि भइसकेको छ। अहिले नै भट्मास र तोरीको तेलमा २० देखि २५ प्रतिशत भाउ बढेर आइसकेको व्यवसायीहरूको तथ्याङ्क छ।

सूर्यमुखी तेलको कच्चा पदार्थ चाहिँ कसरी मगाउने पनि समस्या छ भने युक्रेनको विकल्प रसिया र अर्जेन्टिनामा आपूर्तिकर्ता नपाइएको व्यवसायीको गुनासो छ। उनले भने, “भारतीय व्यवसायीसँग मिलेर आयात गर्नुपर्छ । त्यही पनि जटिल भएको छ ।”

नेपाली बजारमा वार्षिक करीब साढे तीन लाख टन खाने तेल खपत हुने गरेको छ। जसमध्ये एक लाख टन सूर्यमुखी तेल मात्र खपत हुन्छ।

युक्रेनले संसारभरिमा ८० देखि ८५ प्रतिशत सूर्यमूखी तेल आपूर्ति गर्दै आएको छ भने नेपालमा खपत हुने सूर्यमुखी तेलको ९५ प्रतिशत आपूर्ति गर्ने गर्छ।

चालू आर्थिक वर्षको पहिलो सात महीनाको तथ्यांकअनुसार, युक्रेनबाट नौ अर्ब ५१ करोड ६३ लाख रुपैयाँको पाँच करोड ७३ लाख ६४ हजार किलो सूर्यमुखी तेलको कच्चा पदार्थ र तीन अर्ब ९५ करोड ३७ लाख रुपैयाँको चार करोड ४५ हजार किलो तोरी, ७९ करोड ४७ लाख रुपैयाँको ४८ लाख ४३ हजार किलो भटमास तेलको कच्चा पदार्थ, ३ करोड ७५ लाख रुपैयाँको १ लाख ८९ हजार किलो सूर्यमुखीको दाना आयात भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved