युक्रेन हमलापछि विश्व खेलकुदमा ‘रूस बहिष्कार ट्रेण्ड’

विशेषगरि संसारको सबैभन्दा लोकप्रिय खेल फुटबललाई यो विषयले धेरै प्रभाव पारेको छ। हाल भइरहेका फुटबलका ठूला खेलमा प्रत्यक्ष रुपमा युक्रेनप्रति सद्भावका पोस्टर र नारा देखिन थालेका छन्।

युक्रेन हमलापछि विश्व खेलकुदमा ‘रूस बहिष्कार ट्रेण्ड’

काठमाडौं। रूसका राष्ट्रपति भ्लादमिर पुटिनले गत हप्ता बिहीबार छिमेकी मुलुक युक्रेनविरुद्ध युद्धको घोषणा गरेपछि अधिकांश विश्व समुदायले रूसको निन्दा गरिरहेका छन्। यो युद्धले अन्य क्षेत्र जस्तै विश्व खेलकुदलाई पनि प्रभावित गर्न थालिसकेको छ।

विश्व खेलकुदका अधिकांश निकायले रूसको यो कदमविरुद्ध रूसलाई खेलकुदमा बहिष्कारको नीति अपनाउन थालेका छन्। त्यस्तै युक्रेनको समर्थनमा विश्व खेलकुद जगत नै एक भएको छ।

विशेषगरि संसारको सबैभन्दा लोकप्रिय खेल फुटबललाई यो विषयले धेरै प्रभाव पारेको छ। हाल भइरहेका फुटबलका ठूला खेलमा प्रत्यक्ष रुपमा युक्रेनप्रति सद्भावका पोस्टर र नारा देखिन थालेका छन्।

गएराति भएको चेल्सी र लिभरपुल बिचको कार्वाओ कपको फाइनल खेलअघि खेलाडी तथा समर्थकले युक्रेनका जनताको समर्थनमा ‘फुटबलसँगै रहनेछ’ भन्ने नारासहित ऐक्यबद्धता जनाएका थिए।

त्यस्तै इङ्लिस प्रिमियर लिगमा वोल्भरह्याम्टनसँगको खेलमा वेस्ट ब्रोमले पनि आफ्नो युक्रेनी खेलाडी यार्मोलान्को तथा युक्रेनी राष्ट्र कै समर्थनमा स्टेडियममा ब्यानर नै राखेका थिए।

यसै हप्ता स्पेनिस क्लब बार्सिलोनाले पनि नापोलीसँगको युरोपा लिगको खेल अगाडिमै ‘युद्ध बन्द गर’ को नारा सहितको ब्यानर प्रस्तुत गरेका थिए। युक्रेन माथिको सैनिक कारबाहीको निर्णय पछि रूसलाई विश्व खेलकुदका प्रमुख संस्थाहरूले कारबाही थालेका छन्।

देशको नामबाट रूसले अन्तराष्ट्रिय फुटबल खेल्न नपाउने (फिफाको आंशिक प्रतिबन्ध)

विश्व फुटबल महासंघ (फिफा) ले आइतबार रूसको राष्ट्रिय फुटबल टिमले देशको नामबाट अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने निर्णय गरेको छ। जसको अर्थ रूसले अन्तर्राष्ट्रिय फुटबल त खेल्न पाउँछ तर देशको नाम राख्न पाउँदैन। यो एक किसिमको आंशिक प्रतिबन्ध हो।

त्यस्तै फिफाले रूसको अन्तर्राष्ट्रिय खेलमा राष्ट्रिय झन्डा र राष्ट्रिय गानको प्रयोगमा पनि प्रतिबन्ध लगाएको छ। अब रूसको राष्ट्रिय फुटबल टिमले आफ्ना आगामी फुटबल खेलहरू रसियन झन्डामा नभई रशियाली फुटबल सङ्घ अर्थात् ‘फुटबल युनियन अफ रशिया (आरएफयू)’ को तटस्थ ब्यानरमा खेल्नुपर्ने फिफाको निर्देशन छ।
युक्रेन आक्रमणको विरोधमा धेरै राष्ट्रहरूले रूस विरुद्धको आसन्न अन्तर्राष्ट्रिय खेल नखेल्ने घोषणा गरेपछि फिफाले यो निर्णय गरेको हो।

‘फिफा युक्रेनमाथि रूसले गरेको सैन्य कारबाहीको घोर भर्त्सना गर्दछ।’ आइतबार विश्व फुटबलको सर्वोच्च संस्थाले आधिकारिक विज्ञप्ति जारी गर्दै भनेको छ। ‘युद्ध कहिले पनि समाधान होइन र फिफा हालको अवस्थाबाट युक्रेनमा प्रभावित सबै जनताको समर्थनमा ऐक्यबद्धता जनाउन चाहन्छ।’

त्यस्तै फिफाको निर्देशन अनुसार अब रूसले आफ्नो घरेलु मैदानमा खेल्न पाउने अन्तर्राष्ट्रिय म्याचहरू पनि आफ्नो देशमा खेल्न पाउने छैन। ती खेलहरू न्युट्रल भेन्यूमा खेल्नुपर्ने हुन्छ। तर हालको अवस्थामा अन्य कुनै देशले आफ्नो स्टेडियम रूसको फुटबल टिमलाई न्युट्रल भन्यूको रुपमा प्रयोग गर्न दिनेमा भने शङ्का छ।

अब तत्काल रूसमा अन्य खेलकुद प्रतियोगितासँगै अन्तर्राष्ट्रिय फुटबल खेल हुन सक्ने पनि देखिँदैन। यसअघि रूसका खेलाडीहरूको डोपिङ केसमा राष्ट्रले नै प्रायोजन गरेको देखिए पछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) यस वर्षको टोकियो ओलम्पिकमा रूसलाई आंशिक प्रतिबन्ध लगाएको थियो।

जसमा रूसलाई ओलम्पिकमा भाग लिन दिइए पनि देशको नाम, राष्ट्रिय झन्डा र राष्ट्रिय गान प्रयोगमा प्रतिबन्ध लगाइएको थियो। सोही नीति हाल फिफाले पनि यो अवस्थामा अङ्गीकार गरेको हो।

रूससँग अन्तराष्ट्रिय खेल नखेल्ने राष्ट्रको संख्या बढ्दै

यसै वर्षको कतार विश्वकपका लागि युरोपियन छनोट खेल बाँकी नै छन्। जसमा आगामी मार्च महिनामा छनोटको पहिलो प्लेअफमा रूसले पोल्यान्डको सामना गर्दैछ।
यदि यो खेलमा जित हात पारेमा रूसको भेट स्विडेन वा चेक रिपब्लिकसँग हुनेछ। तर यी तीनै देशले रूससँग फुटबल नखेल्ने घोषणा गरिसकेका छन्। रसियासँग फुटबल खेल्न अस्वीकार गर्ने पहिलो राष्ट्र पोल्यान्ड हो।

‘युक्रेनसँगको सैन्य आक्रमणको यस्तो अवस्थामा रसियाको राष्ट्रिय टिमसँग फुटबल खेल्ने बारे सोच्न पनि सकिँदैन।’पोल्यान्डका स्टार स्ट्राइकर तथा कप्तानको धारणा हो यो।

युद्धका कारण धेरै राष्ट्रले रसियासँग फुटबल नखेल्ने निर्णय गरेका छन्। यो सूचीमा स्विडेन, चेक रिपब्लिक पनि थपिएका छन् जुन क्रम बढ्दो छ।

यसै कारण फिफाले रूसले आगामी खेलहरू देशको नामबाट नभई रशियाली फुटबल सङ्घको नामबाट खेल्न निर्देशन दिएको थियो। तर फिफाको यो निर्णय पनि आफूहरूलाई मान्य नहुने पोल्यान्ड फुटबल सङ्घका अध्यक्ष सेजर्ली कुलेस्जाले बताएका छन्।

उनी भन्छन्, ‘हामी रूससँगको यो खेल खेल्न कुनै पनि हालतमा तयार छैनौ। हाम्रो अडान कायमै रहने छ। पोल्यान्डको राष्ट्रिय टिमले रसियासँग खेल्दैन, चाहे रशियन टिमको नाम जेसुकै होस्।’

पोल्यान्डसँगै स्विडेन वा चेक रिपब्लिकले कुनै पनि हालतमा रूससँग नखेल्ने अडान लिएका छन्। फिफाको यो निर्णय भए पनि योबाट आफूहरू सन्तुष्ट नभएको स्विडिस फुटबल सङ्घका अध्यक्ष कार्ल निल्सनको पनि धारणा छ।

त्यस्तै आइतबार इंल्याण्डले पनि भविष्यमा रूससँगको सबै फुटबल गतिविधि बहिष्कार गर्ने निर्णय गरेको छ। युक्रेन माथिको सैन्य कारबाहीको विरुद्धमा इंल्याण्डको फुटबल सङ्घ (एफए) ले पनि यो निर्णय गरेको हो।

जसमा समर्थन गर्दै वेल्स फुटबल संघले पनि नखेल्ने निर्णय गरेको छ।

विश्वकप र ओलम्पिकमा रूसको प्रतिबन्धको माग

यसै वर्ष कतारमा हुने विश्वकप फुटबल २०२२ सुरु हुन नौ महिना पनि बाँकी छैन। तर अन्तर्राष्ट्रिय स्तरबाट विश्वकप लगायत ओलम्पिकमा नै रूसलाई प्रतिबन्ध लगाउनु पर्ने दबाब बढिरहेको छ।

उता आगामी जुलाईमा इंलायण्डमा हुने महिला युरोपियन च्याम्पियनसिपमा पनि स्विडेन, नेदल्र्याण्डस् र स्विट्जरल्याण्ड रशिया रहेकै समूहमा रहेका छन्।

यो प्रतियोगिता लगायत आसन्न धेरै प्रतियोगितामा रसियालाई प्रतिबन्ध लगाउने विषयमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, युरोपियन फुटबल महासंघ र अन्य खेलकुद संस्थासँग छलफलमा भइरहेको फिफाले जनाएको छ।

च्याम्पियनसिप लिगको फाइनल पनि रसियाबाट सर्‍यो

यो युद्ध सुुरु हुनु अघि यो युरोपियन क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता च्याम्पियन लिगको यो सिजनको फाइनल खेल रशियन शहर सेन्ट पिटर्सबर्गमा आयोजना हुने तय थियो।

तर युरोपियन फुटबल महासंघ (यूफा) ले यसै युद्धका कारण सो फाइनल खेल सेन्ट पिटर्सबर्गमा नगर्ने निर्णय गरेको छ। यसको सट्टा युरोपियन च्याम्पियन लिगको फाइनल खेल फ्रान्सको राजधानी पेरिसमा हुने भएको छ।

अन्तराष्ट्रिय ओम्पिक कमिटिको रूस बहिष्कार नीति

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका (आईओसी) पनि रूसको यो युद्धनितिको विरुद्धमा रूस बहिष्कार नीतिमा उत्रिएको छ। आईओसीले सबै अन्तर्राष्ट्रिय खेलकुद निकायहरूलाई रूसमा हुने तय भएको खेलकुद प्रतियोगिता वा गतिविधिको तालिका स्थगित गर्न वा खेल स्थल नै रूसबाट अन्यत्र सार्न आदेश दिएको छ।

अन्तराष्ट्रिय एजेन्सीको सहयोगमा

लेवान्डोस्कीले चाहेनन् रुससँग फुटबल खेल्न


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved