लगातारको उत्कृष्ट बलिङले विश्वकपनजिक नेपाल, यूएईविरूद्ध भोलि निर्णायक खेल

लगातारको उत्कृष्ट बलिङले विश्वकपनजिक नेपाल, यूएईविरूद्ध भोलि निर्णायक खेल

काठमाडौं। उत्कृष्ट बलिङ हतियारकै कारण नेपाल पहिलो पटक सन् २०१४ को टी–ट्वान्टी विश्वकपमा छनोट भएको थियो। अब एक खेल जित्नसके नेपालको दोस्रोपटक विश्वकप खेल्ने सपना साकार हुनेछ।

अक्टोबरमा अस्ट्रेलियामा हुने विश्वकपको टिकट पक्का गर्ने निर्णायक सेमिफाइनल खेलमा भोलि नेपालले यूएईको सामना गर्दैछ।

अघिल्लो पटकजस्तै यो पटक पनि नेपालको विश्वकप यात्रामा बलिङकै ठूलो भर छ। नेपाल जारी छनोट प्रतियोगिताको एक मात्र अपराजित टिम हो, हरेक खेलमा नेपाललाई जिताउन बलरहरूकै भूमिका महत्वपूर्ण रह्यो।

हुनतः ओमान जानुअघि नेपालको बलिङभन्दा ब्याटिङ पक्ष उत्कृष्ट रहेको विश्लेषण गरिएको थियो, जो गलत साबित भयो। बरु, बलरहरू निकै फर्ममा देखिए । विश्वकप छनोटको समूह चरणमा नेपालले तीनवटै खेलमा विपक्षीलाई १ सय रन कटाउन दिएन।

नेपालले आयोजक ओमान र क्यानडासँगको खेल जितेको नै उत्कृष्ट बलिङको मद्दतले थियो। ओमानलाई ८२ रनमा अल–आउट गरेको नेपालले क्यानडालाई ८० रनमा रोकेको थियो।

यी दुबै खेलमा नेपालको ब्याटिङ प्रदर्शनलाई राम्रो मान्न सकिन्न। ओमानसँग सुरुआती ब्याटिङ गरेको नेपालले २० ओभरमा मात्र ११७ रन बनाउन सकेको थियो।

तुलनात्मक रुपमा कमजोर फिलिपिन्ससँग भने नेपालले बलिङ र ब्याटिङ दुबैमा सान्दार खेल देखाएको थियो। जसमा ब्याटिङमा २१८ रन जोडेको नेपालले शान्दार बलिङ गर्दै फिलिपिन्सलाई ८२ रनमा समेटेको थियो।

अब सेमिफाइनल खेलमा पनि नेपालले बलिङस्तरलाई निरन्तरता दिनु त छँदैछ नै ब्याटिङमा पनि व्यापक सुधार ल्याउनुपर्नेछ।

यस्तो रह्यो क्यानेडाविरुद्वको खेल

समूह चरणको अन्तिम खेलमा क्यानडासँग पनि टस हारेर पहिले बलिङ गरेको नेपालले फेरी एकपटक उत्कृष्ट बलिङ प्रदर्शन गर्यो।

खेलमा क्यानडाले आक्रमक ब्याटिङ गर्ने निर्णय गरेको थियो। किनकि, सेमिफाइनल प्रवेशका लागि क्यानडालाई नेपाललाई हराएर मात्र पुग्दैनथ्यो, रनरेटमा पनि पछि पार्नु थियो। तर यहि आक्रमक खेल उसलाई घातक बन्यो।

नेपाललको धारिलो बलिङका कारण ६ ओभरको पावर प्लेमा क्यानडाको सुरुआती चार विकेट खस्यो। क्यानडालाई इनिङको पहिलो ओभरमा नै विकेट गुमाएको थियो।
पाँचौ बलमा नै कमल सिंह ऐरीले ओपनर क्याथ्यु स्पोर्सलाई डक आउट गरे। फिलिपिन्ससँगको खेलमा आराम दिइएका तिब्र गतिका बलर कमल सिंह ऐरी यो खेलमा टिममा फर्किएका थिए।

यसपछि लगतै जितेन्द्र मुखियाको अर्को ओभरको तेस्रो बलमा क्यानडाका अर्का ओपनर रायन पठानको क्याच बाउण्ड्रीमा ड्रप भयो। यहि ओभरमा क्यानडाले १३ रन प्रहार गर्यो। तर, नेपालविरुद्ध बिष्फोटक ब्याटिङको रणनीति अपनाउनु नै क्यानडाका लागि खतरा बन्यो। पाँचौ ओभरमा दिपेन्द्रसिंह ऐरीको बलमा आक्रमक खेल खेल्ने संकेत गरेका क्यानडाका कप्तान डेलिवाल १८ रनमा क्याचआउट भए।

यसपछि दबाबमा आएको क्यानडाको छैटौँ ओभरमा दुई विकेट खस्यो। अभिनास बोहोराको ओभरको दोस्रो बलमा ओपनर रायन पठान पनि रनआउट भए। पावर प्लेको अन्तिम बलमा रविन्द्रपललाई पनि अभिनासले विकेट किपरद्वारा क्याच आउट गराए। पावर प्लेमा मात्र ३९ रनमा चार विकेट गुमाएको क्यानडाको इनिङ धरापमा परिसकेको थियो।

यसपछि आएका कप्तान सन्दीप लामिछानेसहितको नेपालको स्पिन डिपार्टमेन्टले क्यानडको मिडिल अर्डरलाई ध्वस्त पार्यो। यसपछिका लगातार पाँच ओभरमा नेपाली स्पिनरले क्यानडाको लगातार पाँच विकेट खसाले।

प्लेएर अफ दी म्याच बनेका सन्दीपले चार ओभरमा मात्र १२ रन दिएर तीन विकेट लिए। त्यस्तै, अर्का स्पिनर कुशल मल्लले एक ओभर मात्र बलिङ गरे पनि एक विकेट झार्न सफल भएका थिए।

फाष्ट बलर अभिनास बोहोराले पनि निकै किफायती बलिङ गर्दै तीन ओभरमा मात्र सात रन दिएर दुई विकेट खसालेका थिए। त्यस्तै कमलले तीन ओभरमा १६ रन खर्चेर दुई विकेट लिए।

क्यानडाको दुई खेलाडी रन आउट भएका थिए। नेपालको सान्दार बलिङ सामु क्यानडा १५ ओभरमा मात्र ८० रनमा अलआउट भएको थियो। क्यानडाका लागि एक मात्र खेलाडी डिलोनले राम्रो ब्याटिङ गरेका थिए।

१० ‌‍‍औं नम्बरमा क्रिजमा आएका उनले अविजित २४ रनको योगदान दिए। सात ब्याटरले दोहोरो रन संख्या छुन नसेको क्यानडाले कुनै बेला मात्र ४८ रनमा नौ विकेट गुमाइसकेको थियो।

तर अन्तिम विकेटका लागि डिलोनले सलमान नजरसँग मिलेर ३२ रनको साझेदारी गरेका थिए।
यसपछि ८१ रनको सहज विजय लक्ष्य भेट्टाउन नेपाली ब्याटरलाई कुनै ठुलो चुनौती थिएन। तर, पनि चौथो ओभरको अन्तिम बलमा ओपनर आरिफ शेख १७ रनमा एलबीडब्लू आउट भए।

यसपछि मध्यक्रमतिर आउने कुशल मल्ललाई यो खेलमा तेस्रो नम्बरमा क्रिजमा पठाइयो। तर, उनी पनि गोल्डेन डक आउट भए। पाँचौ ओभरमा २३ रनमा दुई विकेट गुमाएपछि भने नेपालले सम्हालिएर खेल खेल्यो।

यो खेलमा नेपालको ब्याटिङमा देखिएको सबैभन्दा राम्रो पक्ष नै यही थियो। यो खेलमा कम स्कोरको विजय लक्ष्य रहेपनि ओपनर कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरी अनावश्यक रुपमा ठूला सटहरू हानेर चाँडो खेल सक्नतर्फ लागेनन्।

यी दुईले धैर्यतापर्ण र संवेदनशिल ब्याटिङ गर्दै नेपालाई १५ ओभरको पहिलो बलमा जित दिलाए। यी दुईले तेस्रो विकेटका लागि अविजित ५८ रनको साझेदारी गरेका थिए।

कुशलले ३७ बलमा तीन चौकाको मद्दतले ३४ र दिपेन्द्रले ३१ बलमा तीन चौकको सहयोगले २७ रनको योगदान दिए। यी दुबैले यो खेलमा छक्का प्रहार गरेनन्। किनकी यो खेलमा छक्का प्रहारका लागि अनावश्यक सट खेल्नुपर्ने आवश्यकता नै थिएन।

यस्तो सुझबुझपुर्ण ब्याटिङले नै नेपालका लागि अब मंगलबारको यूएईसँगको सेमिफाइनलमा खेलमा महत्व राख्छ। ओमान सिरिजमा ठूला टिमसँग नेपालको ब्याटिङ खासै चलेको छैन।

यो छनोट प्रतियोगिता अघिको चार देशिय सिरिजमा यूएईले नेपाललाई २५ रनले हराएको थियो। अब सेमिफाइनलमा त्यो हारको बदला लिदै विश्वकप यात्रा सुनिश्चित गर्न नेपालको ब्याटिङ फर्ममा आउनु आवश्यक छ। नेपालको बलिङ त अहिल्यै फर्ममा छँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved