नेपाली फुटबलमा मच्छिन्द्रको छलाङ, यसरी जित्यो दुई खेल बाँकी छँदै लिग

नेपाली फुटबलमा मच्छिन्द्रको छलाङ, यसरी जित्यो दुई खेल बाँकी छँदै लिग

काठमाडौं। डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र क्लब लगातार दोस्रो सिजनको शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको छ। बुधबार लिग चरणको ११ औं खेलमा सातदोबाटो युथ क्लबलाई १–० ले पराजित गर्दै मच्छिन्द्रले दुई खेल खेल्नु अगावै ‘ए’ डिभिजन लिग उपाधि पक्का गरेको हो।

लिग उपाधि सुनिश्चित गर्न आजको खेलमा मछिन्द्रका विदेशी खेलाडी नुर्लान नोभु्रजोभले ५३ औ मिनेटमा निर्णायक गोल गरेका थिए।

जारी लिगमा हालसम्म अपराजित रहँदै मच्छिन्द्रले लिग उपाधिमा कब्जा गरेको हो। बुधबारको जितपछि ११ खेलमा नौ जित र दुई बराबरीसहित २९ अंक बटुलेको मच्छिन्द्र दोस्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लबभन्दा ९ अंकले अघि। मच्छिन्द्रले लिगमा अहिलेसम्म १ गोलमात्रै खाएको छ।

मनाङको १० खेलमा २० अंक छ। अब मनाङले लिगमा तीन खेल खेल्न बाँकी छ। यदी मनाङले सबै खेल जितेमा र मच्छिन्द्रले बाँकी दुबै खेल हारे पनि दुबैको अंक बराबर हुनेछ। यसो भएमा पनि लिगको छैटो चरणमा मनाङलाई १–० ले हराएको मच्छिन्द्र नै ‘हेड टु हेड’ का आधारमा विजेता हुनेछ।

यसअघिको २०७६ को गत संस्करणमा लिगको अन्तिम खेलमा आर्मीलाई १–० गोलअन्तरले पराजित गर्दै मच्छिन्द्रले पहिलो लिगको उपाधि उचालेको थियो। त्यससँगै नेपाली घरेलु फुटबलमा नयाँ ‘पावर हाउस’का रुपमा उदाएको मच्छिन्द्रले दुई वर्षपछि उपाधि रक्षा गरेको हो, गत वर्ष भने कोभिडका कारण लिग सञ्चालन भएको थिएन।

मच्छिन्द्रका प्रमुख प्रशिक्षक प्रवेश कटुवालका अनुसार यो लिगको सुरुआतमा देखि नै टिमको मुख्य योजना उपाधि रक्षा नै थियो।

सन् १९७३ मा स्थापना भएको यो क्लब २०६२ सालमा पहिलो पटक ‘बी’ डिभिजन लिगमा च्याम्पियन बनेर ‘ए’ डिभिजनमा उक्लेको थियो। ‘ए’ डिभिजनमा उक्लेको १५ वर्षपछि गत सिजन मछिन्द्रले पहिलोपटक लिग उपाधि जितेको थियो। नेपाली घरेलु फुटबलमा केहि सिजन अघिसम्म मछिन्द्र क्लबलाई सायदै कसैले उपाधिको दाबेदारको सूचीमा राख्थें। २०७६ को लिगअघि नेपाली फुटबलमा मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबको दबदबा थियो। २०५२ साल यता भएका १२ वटा ‘ए’ डिभिजन लिगमा यी तीनबाहेक अन्य एउटा पनि क्लबले उपाधि उचल्न सकेका थिएनन्।

यी तीन क्लबको एकछत्र राज चलिरहँदा २०७६ को लिग उपाधिको प्रतिस्पर्धामा मच्छिन्द्र क्लब ‘आउट अफ सिलेबस’ को रुपमा आइपुगेको थियो।

मच्छिन्द्र क्लबको त्यसअघिको सबैभन्दा राम्रो प्रदर्शन भनेको २०७० सालमा लिगको उपविजेता बन्नु थियो। यसपछि चार वर्ष लिग भएन। एकैपटक २०७५ मा भएको अर्को संस्करणको लिगमा भने खराब प्रदर्शन गरेको मच्छिन्द्र पुछारबाट दोस्रोमा थियो। धन्न त्यो वर्ष एन्फाले रेलिगेसन विनाको लिग गरेकोले मच्छिन्द्र बी डिभिजनमा झरेन।
यसरी भाग्यले बचेको मछिन्द्रले एकाएक अर्को वर्ष लिग च्याम्पियन बन्न टिममा आमुल परिवर्तन गर्यो। मछिन्द्रका प्रमुख प्रशिक्षक प्रवेश कटुवाल भन्छन्,“बिना रेलिगेसनको लिगमा मछिन्द्रको एक अंक काटियो। यसपछि क्लबको म्यानेजर अनिल श्रेष्ठले बरु जेसुकै होस्, राम्रो खेलाडी अनुबन्ध गरेर लिग च्याम्पियन हुने टार्गेट नै राखेर अघि बढ्ने लक्ष्य लिनुभयो र त्यो सफल भयो।”

म्यानेजर श्रेष्ठले २०७५ को लिग च्याम्पियन मनाङबाट खेलिरहेका ६–७ जना खेलाडीहरुलाई एकै पटक टिममा भित्राएका थिए। प्रवेश कटुवाल प्रशिक्षकको रुपमा टिममा अनुबन्धित भए। कटुवालले आफ्नोे पूर्व क्लब झापा–११ बाट पनि केहि राम्रा खेलाडी मच्छिन्द्रमा ल्याए।

त्यो वर्ष मछिन्द्रमा नेपाली राष्ट्रिय टिमका अधिकांस खेलाडी थिए। क्लबले राम्रा खेलाडी टिममा भित्राउन राम्रो रकम खर्चेको थियो। अहिलेको टिममा पनि गत सिजन लिग जित्ने खेलाडीहरूकै बाहुल्यता छ। अझ केहि नयाँ युवा खेलाडी पनि थपिएका छन्, जसले टिमलाई झन बलियो बनाएको छ।

कटुवाल थप्छन्,“फुटबल भनेको राम्रो टिम वर्क हो। क्लब, खेलाडी र कोचको राम्रो कम्बिनेसन नै हाम्रो सफलताको आधार बन्यो। यो सबै लिग च्याम्पियन बन्ने योजनाको एउटा मुर्तरुप नै थियो। जुन खेलाडी टिममा ल्याइयो तिनिहरुसँग मैले पहिले नै काम गरिसकेको थिएँ। एउटा राम्रो टिम बनाएर च्याम्पियन नै हुने भनेर लागको थियौं। त्यहिअनुसार नै परिणाम प्राप्त भयो।”

गत संस्करणको लिग विजेता बनेर पनि एएफसीको क्लब लाइसेन्स नभएका कारण मछिन्द्रले एएफसी कप खेल्न पाएको थिएन। उसको ठाउँमा लिगको उपविजेता नेपाल आर्मी क्लबले एएफसी कप खेल्न पायो।
यस वर्ष भने मछिन्द्रले एएफसीको क्लब लाइसेन्स पाइसकेको छ। जारी लिगको सातौ चरणसम्मको खेल सकिँदासम्म लिग लिडरको रुपमा रहेको आधारमा एएफसी कपमा छनोट पनि भैसकेको छ।

मच्छिन्द्रले अब एएफसी कपको छनोट चरणको पहिलो खेलमा आगामी चैत २२ गते दशरथ रंगशालामा नै श्रीलंकाको ब्लु स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ। यसका लागि अन्य केहि खेलाडी र सकेसम्म विदेशी खेलाडी पनि थपेर टिमलाई अझ बलियो बनाउने क्लबको योजना छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved