राप्रपाबाट अलग भएको कमल थापाको घोषणा

नेपालभ्युज

राप्रपाबाट अलग भएको कमल थापाको घोषणा

हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग्गिएको घोषणा गरेका छन्। आज (मंगलबार) हेटौंडामा पत्रकारहरूसँग कुरा गर्दै थापाले भने, “म आजबाट राप्रपाबाट अलग भएको छु।”

एक विज्ञप्ति जारी गरेका उनले त्यहाँ शुरुमै ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राप्रपाबाट अलग हुने निर्णय लिएको छु लेखेका छन्’

पार्टीमा सैद्धान्तिक विचलन देखापरेको र गलत प्रवृत्तिलाई सुधार गरेर पार्टीभित्रै क्रियाशील राजनीतिक जीवन बताउन इच्छा देखाए पनि पार्टीभित्र कुनै सुनुवाइ नभएको गुनासो गरेका छन्।

गृहनगर हेटौंडामा आयोजित पत्रकार सम्मलेनलाई उनले यसबारे जानकारी गराएका हुन्।

गत मंसीरमा आयोजित पार्टीको एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्ष पदमा पराजित भएसँगै थापाले पार्टी फुटाउन सक्ने अड्कल गरिएको थियो। थापाले महाधिवेशनमा पूर्वराजा र शितल निवास खेल्दा आफू अध्यक्ष पदमा पराजित भएको आरोप लगाइरहेका छन्।

केही दिनअघि मात्रै उनले राजा बेगर नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने नीतिसहित बढ्ने निर्णय गरेका थिए। भने, केही दिनअघि मात्रै पार्टीका अध्यक्ष लिङ्देनसँग थापाको भेटघाट भएको थियो।

भेटघाटले पार्टीमा आउन सक्ने फुट टरेको आकलनबीच थापाले पार्टी परित्यागको घोषणा गरेका हुन्।

पार्टी अध्यक्ष लिङदेनले आफूखुशी पार्टी सञ्चालन गरेको बताउँदै थापाले अध्यक्षका नाममा पत्रसमेत लेखेका थिए। जसमा पार्टीलाई विधिसम्वत हिसाबमा सञ्चालन गर्नुपर्ने उनको माग थियो। यस्तै अध्यक्ष लिङ्देनले पार्टीमा मनोनित महामन्त्रीदेखि प्रदेश पदाधिकारी नियुक्त गरेको विषयमा पनि थापाले असन्तुष्टि व्यक्त गर्दै आएका थिए।

पार्टीको एकता महाधिवेशनमा थापा अध्यक्ष पदमा पराजित हुँदा उनको प्यानलबाट पार्टीको अन्य पदाधिकारीमा प्रतिस्पर्धा गरेका अधिकाशं व्यक्ति निवार्चित भएका थिए।

पार्टी महाधिवेशन लगत्तै बसेको पार्टीको केन्द्रीय समितिको पहिलो बैठकलाई नै थापा समर्थित पदाधिकारीले बहिष्कार गर्दा नै थापा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने संकेत गरिरहेका थिए।

थापाले यसअघि २७ पुसबाट राष्ट्रिय अभियान सञ्चालन गर्ने बताए पनि कोरोना भाइरसको तीव्र फैलावटका कारण उनको अभियान स्थगित भएको थियो। थापा निकट व्यक्तिहरुले पार्टी नफुट्न दाबी गरे पनि थापाले पार्टी परित्याग गर्ने निर्णयसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि फुटेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved