मोरङ र ललितपुर हत्या प्रकरण: डेढ करोडको लोभमा हत्या

घरजग्गा खरिद–बिक्रीका क्रममा आउने करिब १ करोड ५० लाख रुपैयाँको लोभमा तीन जनाको हत्या गरेको उनीहरूले बयान दिएको प्रहरीले जनाएको छ।

नेपालभ्युज

मोरङ र ललितपुर हत्या प्रकरण: डेढ करोडको लोभमा हत्या

काठमाडौं। मोरङ तथा ललितपुरमा ३ जनाको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। मोरङ प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै तीन जनालाई सार्वजनिक गरेको हो। घरजग्गा खरिद–बिक्रीका क्रममा आउने करिब १ करोड ५० लाख रुपैयाँको लोभमा तीन जनाको हत्या गरेको उनीहरूले बयान दिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा मोरङको जहदाँ गाउँपालिकाका २९ वर्षीय दिनानाथ सोनार, मोरङ धनपालथान गाउँपालिका–७ का ६२ वर्षीय नासिर आलम र सिराहा जिल्लाको सिराहा नगरपालिका–२१ का ३१ वर्षीय अनिलकुमार मण्डल छन्। तीनै जनालाई बिहीबार एकै दिन पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए।

सोनार विराटनगर–५ बाट, आलम विराटनगर–१७ मटेरुवाबाट र मुख्य आरोपी मण्डल काठमाडौँको बल्खुबाट पक्राउ परेका हुन्। काठमाडौं बस्दै आएका मण्डलले व्यावसायिक साझेदार राजेन्द्रकुमार श्रेष्ठ, शम्भु चौधरी र मोहन लिम्बूको हत्या गरेको प्रहरी प्रमुख जिसीले बताए।
उनीहरूको साथबाट प्रहरीले १ थान कोदालो र ६ प्याकेट नुनसमेत बरामद गरेको बताएका जिसीले कारोबारको रकम एकलौटी बनाउनका लागि तीन जना साझेदारको हत्या गरिएको जानकारी दिए।

जग्गादेखि विभिन्न क्षेत्रमा लगानी गर्दै आएका उनीहरूबीच आर्थिक लेनदेनमा कुरा नमिलेपछि मण्डलले घटनाको योजना बनाएको खुलेको छ। प्रहरीले घटनामा ललितपुरको गोदावरी नगरपालिकामा ६३ वर्षीय लिम्बूको हत्या पहिले गरिएको जनाएको छ। काठमाडौं गोठाटार बसोबास गर्दै आएका तेह्रथुम संक्रान्ति–२ का लिम्बूको मंसीरमा हत्या गरी शव गाडिएको थियो। सो हत्यामा मण्डलको संलग्नता भएको भनिएपनि श्रेष्ठ र चौधरीको विषयमा प्रहरीले खुलाएको छैन। लिम्बूको हत्यापछि कारोबार मिलाउने गरी तीनै जना मंसिर २९ गते विराटनगर आएका थिए। सुनियोजित रूपमा मण्डलले पुस ५ गते ४९ वर्षीय श्रेष्ठलाई धनपालथान गाउँपालिकाको कमलपुरस्थित नहरमा हत्या गरेको प्रहरीले जनाएको छ।

हत्या गरेसँगै मण्डल र सहयोगीले करिब सय मिटरको दूरीमा रहेको उखुबारीमा ५ फिट खाडलमा नुनसहित श्रेष्ठको शव पुरेका थिए। त्यसपछि पुस ७ गते पुनः चौधरीको हत्या गरी श्रेष्ठको शवभन्दा करिब ३० मिटरको दूरीमा खाडल खनेर गाडेको प्रहरी उपरीक्षक जिसीले जानकारी दिए। यसबीच, प्रहरीले माघ १२ गते राति उखुबारीबाट चौधरीको शव र १३ गते श्रेष्ठको शव बरामद गरेको थियो।

काठमाडौंस्थित अपराध महाशाखाको समन्वयमा प्रहरीले गोदावरीस्थित चरंगखेल गोदाम घरमा रहेको कम्पाउन्डनजिक लिम्बूको शव गाडिएको अवस्थामा फेला पारेको थियो। घटनापछि मण्डल काठमाडौंमा रहँदै आएका थिए। प्रहरीको सूक्ष्म निगरानीमा रहेको उनलाई माघ २० गते बल्खुबाटै पक्राउ गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved