भ्यालेन्टाइन नजिकिएसँगै गुलाबको माग बढ्यो

यसवर्ष भ्यालेन्टाइन डे (प्रेम दिवस)का लागि भारतबाट ५० हजार बढी रातो गुलाब आयात गरिने भएको छ।

भ्यालेन्टाइन नजिकिएसँगै गुलाबको माग बढ्यो

काठमाडौं। स्वदेशी उत्पादन कम भएकाले विगतको वर्षभन्दा यसवर्ष भ्यालेन्टाइन डे (प्रेम दिवस)का लागि भारतबाट ५० हजार बढी रातो गुलाब आयात गरिने भएको छ। कारोनाको कारण विगत दुई वर्षदेखि व्यापारीले यस व्यवसायमा थप लगानी नभएको तथा माघको सुरुआतदेखि घाम नलागेका कारण यसवर्ष रातो गुलाब उत्पादनमा कमी आएकाले आयात वृद्धि गर्नुपर्ने भएको हो।

प्रेमको प्रतीक मानिने रातो गुलाबको गतवर्ष एक लाख ८० हजार स्टिक बजार माग रहेको थियो भने यसवर्ष बजार माग ५० हजार स्टिकले बढी भएको छ। अघिल्लो वर्ष बजार मागको २० प्रतिशत स्वदेशी उत्पादन थियो। अहिले मागको दश प्रतिशत मात्र धान्ने अवस्था रहेको फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङ्ले जानकारी दिए।

अध्यक्ष तामाङका अनुसार यसवर्ष दुई लाख ५० हजार स्टिक गुलाब खपत हुने अनुमान गरिएको छ। हरेक वर्ष दुई करोड रुपैयाँको गुलाबको आर्थिक कारोबार हुने गरेको छ। यसरी ल्याइने फूलमध्ये ४० प्रतिशत काठमाडौं उपत्यकामा र अन्य बाँकी देशका मुख्य शहरमा खपत हुन्छ। यसवर्ष उपभोक्ताले गुलाबप्रति स्टिक ८० देखि एक सय रुपैयाँसम्ममा खरीद गर्नुपर्ने बताइएको छ।

यो मूल्य विगतमा भन्दा बढी हो। हरेक वर्ष १४ फेब्रुअरीमा भ्यालेन्टाइन डे मनाइँदै आएको छ। नेपालमा वार्षिक रूपमा डेढ अर्ब फूलको आर्थिक कारोबार हुने गरेको छ। तिहारमा मात्र सात करोड रुपैयाँको फूलको कारोबार हुँदै आएको छ। त्यसैगरी करीब पाँच करोड रुपैयाँको फूल वार्षिक रूपमा आयात हुने गरेको छ।

मुख्यगरी कात्तिकदेखि फागुनसम्ममा फूलको बढी खपत हुने गरेको छ। प्रणय दिवसमा रातो गुलाब र तिहारमा सयपत्री फूल आयात गर्नुपरे पनि नेपाल मखमली र गोदाबरी फूलमा आत्मनिर्भर बनिसकेको छ। तिहारको समयमा अस्ट्रेलिया र मलेसियामा तिहारमा मखमली फूल निर्यात समेत हुने गरेको छ।

पुष्प व्यवसायबाट नेपालमा ४१ हजारभन्दा बढी व्याक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन्। नेपालमा लगभग एक हजार ४७ हेक्टर क्षेत्रफलमा ६०० प्रजातिका फूल उत्पादन हुने गरेको छ। व्यावसायिक रुपमा चार सय प्रजातिका फूल मात्र उत्पादन हुँदै आएको छ। जसमा रातो गुलाब १२ प्रजाततीको खेती हुने गरेको छ।

नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदो छ। फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्प फार्म तथा नर्सरी विस्तार भइसकेको छ।

वर्षको तिहारमा १८ लाख ५० हजार मालाको माग थियो। तीमध्ये १५ लाख ५० हजार सयपत्री र तीन लाख मखमली एवं गोदावरी फूलको माला रहेका छन्। लामो समयदेखि कोरोना भाइरस संक्रमणका कारण दैनिक एक करोड रुपैयाँको नोक्सान व्यहोरिरहेको पुष्प व्यवसायले अहिले दैनिक करीब ७० लाख रुपैयाँको कारोबार गर्न थालेको छ।

कोरोना महामारी हुनुभन्दा पहिले असोजदेखि फागुन महीना फूलको बढी कारोबार हुने मौसम हो अहिले राम्रोसँग कारोबार हुने समय पनि भएको र कोरोना संक्रमण पनि विस्तारै न्यून हुँदै गइरहेकाले यस व्यवसायले गति समाएको हो। कोरोना महामारीको एकपछि अर्को लहर आउँदा यस व्यवसायले विगत डेढ वर्षदेखि नै राम्रो आम्दानी गर्न नसके पनि पछिल्लो समय विस्तारै तङ्ग्र्रिन थालेको छ। कोरोना संक्रमण त्रासकैबीच लामो समयदेखि बन्द रहेको अन्य केही व्यवसाय विस्तारै खुला हुन थालेसँगै यस व्यवसायले पनि लय लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved