यस्तो छ नेपालको दोस्रो पटक विश्वकप यात्राको तयारी

समूह चरणमा नेपालले आयोजक ओमान, क्यानडा र फिलिपिन्ससँग प्रतिस्पर्धा गर्नेछ। अर्को समूहमा आयरल्यान्ड, युएई, जर्मनी र बहराइन रहेका छन्। दुवै समूहका शीर्ष दुई टिमले सेमिफाइनल खेल खेल्नेछन्।

यस्तो छ नेपालको दोस्रो पटक विश्वकप यात्राको तयारी

काठमाडौं। नेपाललाई आठ वर्षपछि फेरि विश्वकप खेल्ने स्वर्णिम मौका छ यो पटक। सन् २०१४ मा पहिलो र एक मात्र विश्वकपको रूपमा नेपालले टी–ट्वान्टी विश्वकप क्रिकेट खेलेको थियो।
त्यसयता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वरीयता क्रममा एशोसियट राष्ट्रमा माथिल्लो स्थानमा रहेपनि नेपाल विश्वकपका लागि छनोट हुन सकेको थिएन।

सन् २०१४ मा विश्वकपसम्म पुर्‍याएका प्रशिक्षक पुबुदु दासनायेके नै नेपालको प्रशिक्षक भएर आएका छन्। सधैँ कमजोर मानिने नेपालको ब्याटिङ पनि पछिल्ला दिन आक्रामक शैलीमा परिवर्तन भैसकेको छ।

यदि दुई सातापछि ओमानमा हुने विश्वकप छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सके नेपालले दोस्रो पटक इतिहास रच्नेछ। यसै लक्ष्यका साथ हाल नेपाली राष्ट्रिय क्रिकेट टिम टीयू अन्तर्राष्ट्रिय खेल मैदान कीर्तिपुरमा कडा अभ्यासमा छ।

टी–ट्वान्टी विश्वकप आउँदो अक्टोबरमा अस्ट्रेलियामा आयोजना हुँदैछ। नेपालसहित आठ टिम सहभागी छनोट प्रतियोगितामा फाइनल पुग्ने दुई टिम यो विश्वकपको लागि छनोट हुनेछन्।

६ फागुनदेखि हुने ओमानमा हुने छनोट प्रतियोगितामा आठ टिमलाई दुई समूहमा बाँडेर खेलहरू लिग कम नक आउटको आधारमा खेलाइनेछ।

समूह चरणमा नेपालले आयोजक ओमान, क्यानडा र फिलिपिन्ससँग प्रतिस्पर्धा गर्नेछ। अर्को समूहमा आयरल्यान्ड, युएई, जर्मनी र बहराइन रहेका छन्।

दुवै समूहका शीर्ष दुई टिमले सेमिफाइनल खेल खेल्नेछन् भने सेमिफाइनलका विजेता दुई टिमले फाइनलको यात्रासँगै विश्व कपमा स्थान सुरक्षित गर्नेछन्।

नेपालका प्रशिक्षक पुबुदु भन्छन्,“छनोट प्रतियोगितामा पहिला जस्तो १५–१६ टिम भएको भए छनोटको मौका धेरै हुन्थ्यो। कुनै एउटा म्याच खराब भए पनि धेरै खेल भएका कारण अर्को खेलमा उठ्ने मौका रहन्थ्यो। तर हाल थोरै टिम भएको समूहको छनोटमा एउटा पनि खराब खेल वा गल्तीको गुञ्जायस हुँदैन। सबै खेलमा राम्रो प्रदर्शन गर्नैपर्छ।”

समूह चरणमा नेपालले सामना गर्ने ओमानसँग केही महिनाअघि मात्र सम्पन्न यसै वर्षको टि–ट्वान्टी विश्वकप खेलको अनुभव छ। ओमान पछिल्लो समय एशोसियट राष्ट्रमध्ये राम्रो प्रदर्शन गर्ने टिममा पर्छ।

तर नेपालको लेभल पनि ओमानभन्दा फरक नभएको र ओमानभन्दा राम्रो क्रिकेट नेपालले खेल्न सक्ने पुबुदु बताउँछन्। ओमानलाई पहिलो खेलमा नै हराउन सकैमा नेपालको विश्वकप छनोट यात्रा निकै सहज हुनेछ।

क्यानडा पनि नेपालकै स्तरको टिम हो तर हाल क्यानडाको क्रिकेट केही खस्किएको भए पनि उसँग एशियाली मूलका राम्रा खेलाडी हुने गर्छन्।

तुलनात्मक रूपमा फिलिपिन्स भने यो समूहमा यी तीन टिमभन्दा कमजोर प्रतिद्वन्द्वी हो। तर नेपालले नयाँ प्रतिद्वन्द्वीसँगको खेललाई पनि सहज रूपमा लिन नहुने प्रशिक्षकको धारणा छ किनकि टि–ट्वान्टी क्रिकेटमा जसले जसलाई पनि हराउन सक्छ।

यो छनोट प्रतियोगिताका लागि नेपालको अन्तिम तयारी भने ओमानमा नै हुनेछ। प्रतियोगिता अघि नेपालले माघ २८ गतेदेखि ओमानमा नै तयारी स्वरूप चार देशीय टी—ट्वान्टी शृङ्खला खेल्दै छ।
यहि खेलमा राष्ट्रिय टिममा आक्रमक ब्याटिङका कारण पहिलोपटक ठाउँ पाएका दुई खेलाडी लोकेश बम र विवेक यादवलाई पहिलो मौका दिने योजनामा छन् नेपालका प्रशिक्षक पुबुदु दासनायके।
उनी भन्छन्,“उनीहरू निकै प्रनिभावान् खेलाडी हुन्। हामीसँग छनोट अगाडि अभ्यासका लागि ती खेल छन्, जसमा सबै खेलाडीलाई मौका दिनेछौं र सही टिम छनोटका लागि प्रयोग गर्नेछौं। जसले राम्रो गर्छ उसले नै टिममा ठाउँ पाउने हो।”

यो अभ्यास श्रींखलामा नेपालले आयोजक ओमान, आयरल्यान्ड र यूएईसँग प्रतिस्पर्धा गर्नेछ। जसका लागि नेपाली टिम माघ अन्तिम साता ओमान प्रस्थान गर्दैछ। ओमान टुरको तयारीका लागि अब नेपालसँग धेरै समय छैन। त्यसैले नेपाली टिम हाल दैनिक रूपमा खेलको प्राविधिक पाटोमा केन्द्रीत रहेका छ।

सधैँको नेपाली क्रिकेटको हतियार रहेको बलिङ पक्ष यसपालि केही कमजोर रहेको आकलन गरिएको छ। चोटका कारण तीव्र गतिका बलर सोमपाल कामी पनि टिममा छैनन्।

त्यसैले पछिल्लो तिन हप्तादेखि नेपाली टिम बलिङमा बढी केन्द्रित छ। पुबुदु बताउँछन्,“हाल हामी बलिङमा ६० प्रतिशत मात्र फर्ममा छौ र बाँकी एक हप्तामा थप ३० प्रतिशत बलिङ लयमा आउनेछ। टिममा प्रतिभावान् फास्ट बलर र टि–ट्वान्टी स्पेसलिष्ट बलर पनि छन्। उनीहरूको बलिङमा देखिएको सुधार निकै आश्चर्यजनक छ। स्पिनरहरूले पनि निकै राम्रो गरिरहेका छन्।”

त्यस्तै नेपाली टिमका नयाँ कप्तान सन्दीप लामिछाने भन्छन्, “नेपालको ब्याटिङ र अलराउण्ड पक्ष हाल निकै राम्रो छ, स्पिन बलिङ पनि राम्रै छ। फास्ट बलिङमा हामीले चोटका कारण टीममा नरहेका सोमपाल कामीलाई मिस गर्नेछौ। तर उहाँ बाहेक पनि चार पाँच जना राम्रा फास्ट बलर हुनुहुन्छ। मलाई लाग्छ हामी शीर्ष दुई स्थानमा पर्न सक्छौ।”

बिशेषगरि अहिले टि–ट्वान्टी क्रिकेटमा नेपालको ब्याटिङ पक्ष बलियो हुँदै गएको मानिन्छ। “सन् २०१५ मा मैले टिम छाड्दा नेपालसँग पावर हिटिङ क्षमताको अभाव थियो। तर हाल आक्रामक खेलमा निकै सुधार भएको छ, खेलाडीहरूको पावर हिटिङ क्षमता निकै बढेको पाएको छु।” यसअघि पनि चार वर्ष नेपाली टिमका प्रशिक्षक रहेका पुबुदुले बताए।

कोभिडका कारण सबै खेलाडी भने हाल मैदानमा सँगै अभ्यास गर्न पाएका छैनन्। कप्तान सन्दीप लामिछानेसँगै केही खेलाडी हाल आइसोलेसनमा छन्। ओमान जानु अघि नै सबै ठिक हुने कप्तान सन्दीपको विश्वास छ।

टीयू मैदानमा यो विश्वकपमा लागि टि–ट्वान्टी राष्ट्रिय टिममा छनोट भएका १६ खेलाडी बाहेकका अन्य राष्ट्रिय खेलाडी पनि अभ्यासरत छन्। कोभिडका कारण टि–ट्वान्टी राष्ट्रिय टिमका सबै खेलाडी मैदानमा जान नसक्दा अन्य खेलाडीको सहयोगले राष्ट्रिय टिमका खेलाडीलाई अभ्यासमा मद्दत पुगेको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले टी—ट्वान्टी विश्वकप छनोटको तयारीका लागि नै भनेर भारतीय फिल्डिङ कन्सल्टेन्ट रघुराम श्रीनिवास र भारत कै दुई तीव्र गतिका बलरलाई पजि टिममा जोडिसकेको छ।
विश्वकप छनोटका लागि सबै तयारी योजना अनुसार भएको तर आफू प्रशिक्षक भएर आएको धेरै समय नभएकाले तयारीको समय छोटो भएको पुबुदुको गुनासो छ।

यो पटक विश्वकपमा छनोट हुन सक्नुले नेपाली क्रिकेटका लागि निकै ठूलो महत्व राख्छ। खेलाडी र क्यान बिच चलेको लामो विवाद पछि नेपाली क्रिकेट लयमा फर्किएको छ। एक समय त यो विवाद यति उत्कर्षमा थियो की नेपाली क्रिकेट नै दुर्घटनामा पर्ने संकेत देखिएको थियो।

यसका बाबजुद पुबुदु आएपछि एकजुट भएको टिमले विश्वकप खेल्न पाएमा नेपाली क्रिकेटका लागि धेरै अवसरका ढोकाहरू खोलिनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved