कामदार संक्रमित हुँदा नागढुंगा सुरुङ निर्माण सुस्त

अबको पाँच महीनामा सुरुङ खनिसकिने गरी योजना बनाइएको छ। साउनसम्ममा सुरुङ खन्न सकिएमा त्यसपछि एक वर्ष अन्तिम काम (फिनिसिङ) हुनसक्छ। अबका दिनमा अरु कुनै अवरोध नभएर सरासर काम भएमा अवधिभन्दा धेरै ढिला नहुने आयोजना प्रमुख शाक्य बताए।

कामदार संक्रमित हुँदा नागढुंगा सुरुङ निर्माण सुस्त

काठमाडौं। देशभर कोरोनाको तेस्रो लहर फैलिरहँदा नागढुंगाको निर्माण सुस्त भएको छ। यहाँ कार्यरत १२७ जनामा संक्रमण देखिएपछि केही दिनयता निर्माण नियमित गतिभन्दा केही सुस्त भएको हो।

संक्रमण देखिएका व्यक्तिमा पनि अहिले जटिल स्वास्थ्य समस्या भने छैन। कामदार निर्माणस्थलमा नै ‘आइसोलेशन’ मा बसिरहेको र अरु कर्मचारी आ–आफ्नो घरमा नै रहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ। शारीरिक रुपमा काम गर्न सक्ने व्यक्ति पनि रिपोर्ट ‘नेगेटिभ’ नआएसम्म काम नगर्ने आयोजनाका प्रमुख नरेशमान शाक्यले बताए।

उनले भने, “स्वास्थ्य मापदण्डका आधारमा पनि सक्छु भने पनि नेगेटिभ नआएसम्म काममा लगाउन सकिँदैन।” निर्माणस्थलमा सामान्य अवस्थामा ५६० जना कार्यरत रहेकामा अहिले त्यो संख्या चार सय हाराहारीमा छ।

निर्माणस्थलमा नै प्रत्येक पाँचपाँच दिनमा कोभिड परीक्षण गरेर नेगेटिभ आउने काममा लाग्ने र पोजेटिभ आउने अरुबाट अलग बस्ने गरेको आयोजनाले जनाएको छ। आयोजनामा केही दिन पहिलेसम्म दैनिक १० मिटर खन्ने गरिएकामा अहिले जनशक्ति कम भएकाले कामको गति केही सुस्त भएको प्रमुख शाक्यले बताए।

अहिले दैनिक ६/७ मिटर मात्रै खनिरहेको छ। सुरुङ खन्न शुरु भएदेखि नै दैनिक सात मिटर सुरुङ खन्ने योजना बनाएको भए पनि गत वर्षमा कोभिडका कारण लक्ष्यअनुसार काम हुन नसकेको उनले बताए। उनले भने, “निर्धारित समयमा काम सकाउन दैनिक १० मिटर गरेर महीनामा ३०० मिटर खन्ने गरिएकामा अहिले संक्रमण बढेकाले केही समस्या भएको छ।”

आयोजना ४२ महीनामा सम्पन्न गर्ने लक्ष्य लिएकोमा अहिले निर्धारित समय तालिकाभन्दा निर्माण झण्डै डेढ महीना ढिला छ। निर्माणको काम गरिरहेको जापानी कम्पनीले तोकिएको अवधिभन्दा धेरै ढिला नहुने बताइरहेको प्रमुख शाक्यले जानकारी दिए।

अबको पाँच महीनामा सुरुङ खनिसकिने गरी योजना बनाइएको छ। साउननसम्ममा सुरुङ खन्न सकिएमा त्यसपछि एक वर्ष अन्तिम काम (फिनिसिङ) हुनसक्छ। अबका दिनमा अरु कुनै अवरोध नभएर सरासर काम भएमा अवधिभन्दा धेरै ढिला नहुने उनले बताए। कोरोना र अरु अवरोधका कारणले बाधा पुर्‍याएमा भने अवधि सकिँदा काम बाँकी रहनसक्छ।

उनले भने, “अहिले एक हप्ता जसरी नै ढिला भएमा अझै पछाडि जानसक्छ।” निर्माणस्थलमा जग्गाको विवाद रहेकामा अहिले त्यो समाधान भइरहेको छ। धादिङतर्फ पूरानो विवाद बाहेक नभएको र काठमाडौंतर्फ बलम्बुमा जग्गा अधिग्रहणको काम अघि बढिरहेको प्रमख शाक्यले बताए। सो स्थानमा ३० करोड रुपैयाँ मुआब्जाबापत बाँडिरहेको र अब ३५ करोड रुपैयाँ आउन लागेको छ।

त्यसपछि २० करोड रुपैयाँ आएपछि काम गर्न पर्याप्त हुने उनले बताए। धादिङमा अख्तियारमा उजुरी परेका पाँच जग्गाबाहेक अरुतिर जग्गा प्राप्तिको समस्या छैन। उनले भने,“सानातिना समस्या बाहेक जग्गा अधिग्रहणको धेरै समस्या समाधान भइरहेको छ।”

आयोजनासँग जोडेर बीचबीचमा स्थानीयवासीको गुनासो आउने गरेको छ। कहिले पानी सुक्यो त कहिले सडकका विषयमा स्थानीयवासीको गुनासो आउँदा सम्बोधन गर्दै निर्माण अघि बढाइएको प्रमुख शाक्यले बताए। स्थानीयवासीको पानीको समस्या समाधानका लागि पानी ट्यांकी बनेको छ। पाइप विच्छाउने कामका लागि आयोजनाले बजेट दिएर नगरपालिकाले गर्ने भएको छ।

मुआब्जाको चित्त बुझेन भनेर पनि कहिलेकाहीँ स्थानीयवासीले गुनासो गरेपनि आयोजनाले त्यसको समाधान गरिरहेको छ। यसपछिका दिनमा बलम्बुमा जग्गा प्राप्ति भएपछि बिजुलीको लाइन सार्नुपर्ने छ। जग्गा नलिइ बिजुली सार्न नमिलेको र जग्गा प्राप्त गरेर निर्माणस्थल खाली गरिएपछि आयोजनाले अझै गति लिने उनले बताए।

आयोजनास्थलमा अहिले नेपाली र विदेशी गरी झण्डै ५६० जना रहेका छन्। जापानीज निर्माण कम्पनीकातर्फबाट झण्डै २० र तीन जना परामर्शदाता कम्पनीका तर्फबाट छन्। निर्माण कम्पनीबाट तीन जना फिलिपिनो छन् भने त्यसभन्दा बाहेक नेपाली रहेका छन्।

विसं २०७६ असोजमा ४२ महीनामा निर्माण सम्पन्न गर्ने गरी हाज्मा आङ्दो कर्पोरेसनसँग ठेक्का सम्झौता गरिएको थियो। सोही वर्ष कात्तिकमा आयोजनाको शिल्यान्यास भएको थियो। जापान सरकारको ‘सफ्ट लोन’ मा सुरुङ निर्माण गर्ने गरी सम्झौता भएको थियो।

सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा–नौबिसे सडकखण्डमा दैनिक रूपमा हुने सवारी चाप कम हुने अपेक्षा गरिएको छ। त्यस स्थानमा धेरै सवारीसाधन र व्यक्ति अलपत्र पर्ने गरेकामा समाधान हुनेछ। सोको समाधानसँगै पेट्रोलियम पदार्थको बचत पनि हुनेछ।

आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुई सुरुङ निर्माण हुनेछन्। आयोजनाअन्तर्गत दुई ‘फ्लाइओभर’, एक सर्भिस सेन्टर र तीन दशमलव एक किलोमिटर नयाँ सडक रहेका छन्। सुरुङमार्गकै मुख र सतुङ्गलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार एउटा लेनको चौडाइ साढे तीन मिटर हुन्छ। तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीन सवारीसाधन सहज आवतजावत गर्न सक्नेछन्। एउटा गाडी बिग्रिँदा दुइटै गाडी चल्न सक्नेछन्। सहायक सुरुङ तत्काल उद्वारका लागि हुने बताइएको छ। ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशद्वार बन्नेछ।

सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यहीँ निर्माणका क्रममा प्रयोग हुनेछ भने कमजोर ढुङ्गामाटालाई भने सिस्नेखोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिनेछ। सो स्थानमा बसपार्क र तरकारी संकलन केन्द्रलगायत कक्ष हुनेछ। निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनीबेँसी नगरपालिकामा नै हस्तान्तरण गर्ने योजना छ। मुख्य सुरुङको लम्बाइ दुई दशमलव ६६ किमी रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved