मधेश प्रदेश :

भारतसँगको सीमानाकामा कडाइ, अक्सिजन उत्पादन शुरू

मधेश प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामका अनुसार यस प्रदेशमा पछिल्लो एकसाता यता कोरोना संक्रमितको बिरामी तीन गुणाले बढेको छ। प्रदेशका जिल्लाहरुमा पछिल्लो एक साताभित्र सक्रिय संक्रमितको संख्या तेब्बर पुगेको छ।

भारतसँगको सीमानाकामा कडाइ, अक्सिजन उत्पादन शुरू

जनकपुरधाम । मधेश प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामका अनुसार यस प्रदेशमा पछिल्लो एकसाता यता कोरोना संक्रमितको बिरामी तीन गुणाले बढेको छ। प्रदेशका जिल्लाहरुमा पछिल्लो एक साताभित्र सक्रिय संक्रमितको संख्या तेब्बर पुगेको छ।

माघ १ गते ४ सय ४१ जना कोरोनाका सक्रिय संक्रमित बिरामी रहेको अहिले सो संख्या १२ सय ११ पुगेको निर्देशनालयले जनाएको छ। स्वास्थ्य निर्देशनालयले जनाए अनुसार कोरोना भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको जोखिम बढेसँगै यस प्रदेशका जिल्लाका भारतसँग सीमा जोडिएका नाकाहरूमा कडाइ गरिएको छ।

छिमेकी राष्ट्र भारतमा दैनिक हजारौँको संख्यामा संक्रमित देखा परेपछि त्यसको असर नेपालमा पर्न सक्ने भन्दै सुरक्षा निकायले सीमा नाकामा कडाइ गरेको छ। सशस्त्र प्रहरी बल प्रदेश–२ का प्रमुख गणेश ठाडा मगरले प्रत्येक नाकामा हेल्प डेस्क राखेर एन्टिजेन लगायतका प्रविधिबाट कोरोना पहिचान गर्ने र पोजेटिभ देखिए तत्काल स्वास्थ्य चौकीमा पठाइने गरिएको जानकारी दिए।

महोत्तरीको जलेश्वर भिठ्ठामोड, पर्साको वीरगञ्ज, रौतहटको गौर, सिरहाको माडर र औरहीस्थित नाकाहरूमा हेल्थ डेस्क स्थापना गरी भारतबाट आउनेहरूको स्वास्थ्य परीक्षण शुरू गरिसकेको छ। प्रहरीकै सक्रियतामा स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारीहरूको सहजीकरणमा पालिकाहरूमा पनि हेल्प डेस्कसमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

मधेश प्रदेशको बारा बाहेकका सबै जिल्लामा भन्सार कार्यालय छन् भने करिब चार सय ६४ किलोमिटरमा भारतसँग खुला सीमा जोडिएको छ। मुलुकको सबैभन्दा धेरै भन्सार कार्यालय र खुल्ला नाकासमेत यस प्रदेशमै रहेको छ।

यस प्रदेशको ८ वटा जिल्लामा ३३ वटा भन्सार कार्यालय, चार सय १४ किलोमिटर मुख्य सडक, दुई सय २९ किलोमिटर मोटर बाटो र करिब पाँच सय ५७ स्थानका गल्लीहरूबाट नेपाल–भारत आवतजावत हुने गरेको छ।
यति धेरै सम्पर्क स्थानबाट मानिसको सहजै र बाक्लो आवतजावत हुने भएपनि सम्बन्धित निकायबाट कडा निगरानी हुनु पर्ने अवस्था देखिएको छ।

देशकै प्रमुख नाका वीरगन्ज भन्सार नाकामा मात्रै आवतजावतमा कडाइ हुनसके पनि केही हदसम्म भारतबाट भित्रिन सक्ने कोरोना सङ्क्रमितहरूको पहिचान र नियन्त्रण हुनसक्ने विज्ञहरूले बताएका छन्।

मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाका अनुसार प्रदेश नंं २ मा कोरोना संक्रमण हुनबाट जोगिनका लागि कोरोनाविरुद्धको पूर्ण खोप लगाउनेको संख्या ५० प्रतिशत पुगेको छ । झाले पछिल्लो दुई साताको अवधिमा मात्रै प्रदेशका जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने दर करीब १२ प्रतिशतले बढेकोे जनाए।

बढ्दै गएको कोरोना संक्रमणको ग्राफ, खोपसम्बन्धी निरन्तरको प्रचार–प्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण पछिल्लो समय खोप लगाउने दर बढेको हो। गत २५ पुससम्म दोस्रो मात्रा खोप लगाउने १८ वर्षमाथि उमेर समूहको संख्या ३८ प्रतिशत मात्र रहेकोमा पछिल्लो दुई साताको अवधिमा त्यो संख्या बढेर करीब ५० प्रतिशत पुगेको निर्देशनालयका निर्देशक विजय झले जानकारी दिए।

उनका अनुसार पूर्ण खोप लगाउनेको संख्या सर्लाहीमा ६३ दशमलव तीन, धनुषामा ५२ दशमलव छ, बारामा ५३ दशमलव छ, पर्सामा ५१ दशमलव एक, सप्तरीमा ४७ दशमलव सात, सिरहामा ४६ दशमलव आठ, रौतहटमा ३९ दशमलव छ र महोत्तरीमा ३६ दशमलव छ प्रतिशत पुगेको छ।

त्यस्तै, १८ वर्षभन्दामाथि उमेर समूहमा एक डोज खोप लगाउनेको संख्या भने करिब ५९ प्रतिशत छ। त्यसमध्ये सर्लाहीमा ७५, बारामा ७०, पर्सामा ६५, सिरहामा ६३, महोत्तरीमा ६९, धनुषामा ६४, सप्तरीमा ६१ र रौतहटमा ४५ प्रतिशत रहेको निर्देशक झाले बताए।

खोप लगाउनेमा बालबालिका धेरै

उमेरका हिसाबले १८ वर्षभन्दा माथि उमेर समूहका भन्दा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकामा खोप लगाउनेको संख्या बढी छ। निर्देशक झाका अनुसार मधेश प्रदेशमा १२ देखि १७ वर्ष उमेर समूहका करीब ६२ दशमलव दुई प्रतिशतले खोप लगाइसकेका छन्। “यो संख्या प्रदेशगत हिसाबले तेस्रो हो”, उनले भने, “यसरी हेर्दा हामी बालबालिकालाई खोप लगाउनेमा तेस्रो प्रदेश भएका हौं। यसलाई अझै गति दिन निरन्तर प्रयास भइरहेको छ।”

सम्भावित तेस्रो लहरबाट प्रदेशका नागरिकलाई जोगाउने तयारीमा प्रदेश सरकार पनि जुटेको छ। कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न खोपलाई प्राथमिकता दिनुपर्ने र कोरोना फैलिन नदिन स्वास्थ्य सतर्कता अपनाउनुपर्ने सोचका साथ प्रदेश सरकार अघि बढेको सामाजिक विकासमन्त्री नवकिशोर साहले बताए।

‘‘खोप लगाउनेको संख्या निराशाजनक देखिएको छ’’, उनले भने, ‘‘त्यही भएर जिल्लाका स्वास्थ्य कार्यालय प्रमुखहरू तत्काल खोप लगाउने कार्यलाई गति दिनुस् भने निर्देशन दिएका छौँ।’’

केही दिनअघि मात्र मुख्यमन्त्रीको उपस्थितिमा बसेको प्रदेश सरकारका मन्त्रीहरू, आठवटै जिल्लाका प्रजिअ, जिल्ला स्वास्थ्य प्रमुखको बैठकमा पनि तत्काल खोप लगाउने कामलाई अघि बढाउने निर्णय समेत भएको मन्त्री साहको भनाइ छ।

यसबाहेक कोरोनाको तेस्रो लहर आउन सक्ने जोखिमलाई दृष्टिगत गरी आठवटै जिल्लामा स्वास्थ्य सतर्कता बढाएको प्रदेश सरकारले बताएको छ। ‘‘प्रदेशभरिका सबै अस्पताललाई औषधि सहित अक्सिजन लगायत स्वास्थ्य सामग्रीहरू तयारी अवस्थामा राख्न निर्देशन दिएका छौँ,’’ मन्त्री साहले भने, ‘‘सम्भावित तेस्रो लहर आउन नदिन अपनाउनुपर्ने सतर्कताबारे प्रजिअ र स्थानीय तहका जनप्रतिनिधिहरुसँग नियमित समन्वय भइरहेको छ।’’

यसबाहेक कोरोना संक्रमण रोकथामबारे विभिन्न माध्यमबाट प्रचारप्रसार समेत गर्दै आएको मन्त्री साहको भनाइ छ। पहिलो र दोस्रो लहरको संक्रमणका बेला मधेश प्रदेशमा देखिएको शैय्या र अक्सिजनको समस्या अब हुन नदिने तयारी भएको प्रदेश सरकारको भनाइ छ।

‘‘मधेश प्रदेशका आठवटा जिल्लामध्ये पाँच जिल्लाका अस्पतालमा अक्सिजन प्लान्ट जडान भइसकेको छ,’’ मन्त्री साहले भने, ‘‘बारा, रौतहट र सर्लाहीमा पनि अक्सिजन प्लान्ट जडानको प्रक्रिया अघि बढेको छ, त्यहाँ पनि छिट्टै जडान हुन्छ।’ त्यसैले अब प्रदेशमा अक्सिजनको समस्या हुँदैन,’’ उनले भने।

यो प्रदेशका १५ वटा अस्पतालमा ३४६ आइसोलेसन शैय्या, १९२ एडियू शैय्या, ९१ आइसियु शयै्या, ६३ भेन्टिलेटर छन् भने एक हजार ९६५ अक्सिजन सिलिन्डर मौज्दात रहेको प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ।

यस्तै, प्रदेशभरी १२ वटा पिसिआर परीक्षण मेसिनबाट कोभिड–१९ जाँच हुँदै आएको जनाएको छ। त्यसैगरी कोरोना संक्रमितको संख्या बढेसँगै जनकपुरधामको प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ।

दैनिक रुपमा १ सय ४४ सिलिन्डर उत्पादन हुने सो अक्सिजन प्लान्टबाट प्रादेशिक अस्पतालको सामान्य अवस्थाको माग पूर्ति गर्नका लागि करिब–करिब पुगे पनि कोरोना महामारी बढेको खण्डमा धान्न नसकिने भएकाले थप १ वटा प्लान्ट थप गरेर सञ्चालन गर्ने गृहकार्यमा प्रादेशिक अस्पताल अगाडी बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद कुमार यादवले जानकारी दिए।

अहिलेको अक्सिजन प्लान्टबाट सामान्य अवस्थाका बिरामीका लागि पुगे पनि कोरोना संक्रमणको दर बढेको खण्डमा अपुग हुने भएकाले नयाँ प्लान्ट स्थापनाका लागि प्रक्रिया अगाडि बढाएको जानकारी प्रमुख डा. यादवले जानकारी दिए।

अहिले सञ्चालनमा आएको अक्सिजन प्लान्ट जडान गर्नका लागि नेपाल सरकारले सहयोग गरेका थिए। दोस्रो प्लान्टको स्थापना गर्नका लागि प्रदेश सरकारले पनि सहयोग गरेको प्रादेशिक अस्पतालले जानकारी दिएको छ।

त्यस्तै, प्रदेश सरकारले तेस्रो चरणको कोरोना महामारीलाई मध्यनजर गर्दै आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याई अक्सिजन उत्पादन सुरु गरिसकेको छ। जनकपुरधाम १४ मुलेजेलिया स्थित मनिपालमा सञ्चालनमा रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड अस्पतालमा अक्सिजन प्लान्टबाट बिहीबारदेखि नै उत्पादन सुरु गरेको हो।

यसैगरी, निजी स्तरबाट जनकपुरधाममा बेलामा अक्सिजन प्लान्ट स्थापना भएको छ भने धनुषाको ढल्केवरमा पहिलादेखि नै प्लान्ट सञ्चालनमा रहेको छ। कोरोनाको दोस्रो लहरमा भएकोजस्तो समस्या अहिले आउने अवस्था नरहेको भए पनि प्रदेश सरकार गम्भीर रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणको दर उच्च गतिले बढेपछि मधेश प्रदेशका धनुषालगायतका जिल्लाहरुमा बढी भिडभाड हुने कार्यालयमा बार अनुसारको सेवा दिने सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय तथा नापी कार्यालयमा बार अनुसारको सेवा दिने व्यवस्था कार्यालयले गरेपछि कार्यालयमा सेवाग्राहीको संख्यामा कमी आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved