प्रदेश १ : कोरोना संक्रमणदर युवा समूहमा उच्च, बालबालिका र वृद्धवृद्धा नै बढी सुरक्षित

प्रदेश १ : कोरोना संक्रमणदर युवा समूहमा उच्च, बालबालिका र वृद्धवृद्धा नै बढी सुरक्षित

विराटनगर ।  प्रदेश १ मा पछिल्लो समय युवाहरूको तुलनामा बालबालिका र वृद्धवृद्धा नै कोभिडको संक्रमणबाट बढी सुरक्षित देखिएका छन्।

प्रदेशमा पछिल्लो समय २१ देखि ४० वर्ष उमेर समूहका जनशक्तिमा कोरोना संक्रमणको दर उच्च देखिएको हो। सरकारी तथ्यांक अनुसार पछिल्लो १ महिनाको अवधि अन्तर्गत प्रदेश १ मा कुल १ हजार ६५६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। जसमा सबैभन्दा बढी २१ देखि ४० वर्ष उमेर समूहका सक्रिय जनशक्ति कोरोनाबाट संक्रमित भएका छन्। यसरी संक्रमित हुनेमा ४१० जना पुरुष र ४०० जना महिला रहेका छन्। यो पछिल्लो १ महिनाको अवधिमा थपिएका कुल संक्रमितको ४८.९१ प्रतिशत हो।

प्रदेश १ मा पछिल्लो १ महिनामा २१ देखि ३० वर्ष उमेर समूहका ४२७ र ३१ देखि ४० वर्ष उमेर समूहका ३८३ जनामा संक्रमण पुष्टि भएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेश १ मा हालसम्म १ लाख १० हजार ४३६ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ। संक्रमण पुष्टि भएका मध्ये १ लाख ६ हजार ५६० जना निको भई डिस्चार्जसमेत भइसकेका छन्।

तर, हालसम्मको कुल संक्रमितको संख्यात्मक विवरण अध्ययन गर्दा सबैभन्दा बढी संक्रमित हुनेमा २१ देखि ४० वर्ष उमेर समूहकै जनशक्तिको अग्रसरता देखिन्छ। तथ्यांकलाई आधार मान्ने हो भने प्रदेश १ मा हालसम्म ४६.६४ प्रतिशत युवा उमेर समूहमा संक्रमण पुष्टि भइसकेको छ। यसरी संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका २६ हजार ३१ र ३१ देखि ४० वर्ष उमेर समूहका २५ हजार ४८४ जना युवा छन्।

रोजगारी, पठनपाठन र अन्य पेशागत जिम्मेवारीका कारण उक्त उमेर समूहको अत्याधिक समय घरबाहिर नै व्यतीत हुने भएकाले उनीहरूमा संक्रमणको सम्भावना उच्च रहने गरेको विराटनगरस्थित कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास बताउँछन्। भन्छन्, ‘युवा उमेर समूहको तुलनामा वृद्धवृद्धा तथा बालबालबालिकाहरू प्रायः घरमै बस्छन्। त्यसकारणले पनि उनीहरू सुरक्षित छन्।’

उमेर अनुसार संक्रमितको वर्गीकरण गर्दा प्रदेश १ मा ४० वर्षसम्मको सक्रिय जनशक्तिपछि ४१ देखि ५० वर्षको उमेर समूह पनि संक्रमण उच्च जोखिममा छ। पछिल्लो १ महिनाको अवधिमा मात्रै प्रदेश १ मा सो उमेर समूहका २३९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। त्यसपछि क्रमशः पछिल्लो एक महिनामा ० देखि १० वर्षसम्मको उमेर समूहका ३६, ११ देखि २० वर्षका १४९, ५१ देखि ६० वर्षका २०७, ६१ देखि ७० वर्षका ११८ र ७१ वर्षमाथिका ७७ मा कोरोनाको संक्रमण पुष्टि भएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी सदानन्द भट्टराईले बताए। प्रदेश १ मा गत पुसयता मात्रै कोरोनाको संक्रमण दर उच्च हुँदै गएको उनले जानकारी दिए।

प्रदेश १ मा पछिल्लो समय सबैभन्दा बढी मोरङ, सुनसरी र झापा जिल्लामा कोरोनाको संक्रमण उच्च हुँदै गएको प्रदेश सरकारले जनाएको छ। छिमेकी मुलुक भारतसँगको खुला सीमानाका कारण हुने दोहोरो आवागमनले यी जिल्लाहरूमा संक्रमणको दर उच्च रहेको प्रदेश सरकारको निष्कर्ष छ।

प्रदेश १ मा हाल १ हजार ६८० जना संक्रमित बिरामीहरू आइसोलेशनमा छन्। प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म २ हजार १९६ जनाले ज्यान गुमाएका छन् भने १ लाख ६ हजार ५६० जना संक्रमणमुक्त भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved