जनकपुरधाम। नेपालका हरेक चाडपर्वको आफ्नै किसिमको फरक विशेषता रहेका छ। फरक- फरक चाड पर्वमा नेपालीहरुले खाने परिकार पनि फरक- फरक हुने गर्दछ। दसैँमा दही, चिउरा र मासुको परिकार खाइन्छ भने तिहारमा सेलरोटीको महत्व हुन्छ। त्यसैगरी माघ १ गते मनाईने माघे संक्रान्तिमा तिल र च्युरा मुरही (भुजा)को लड्डु, तरुल र चाकु खाने चलन छ।
जनकपुरधामसहित सम्पूर्ण मिथिला क्षेत्रमा तिला संक्राइत को नामले मनाइने माघे संक्रान्तिको पूर्व सन्ध्यामा हाटबजारमा तिल, चिउरा, मुरही र सख्खर( मिठ्ठा)) खरिद र बिक्री गर्नेको व्यापक भिडभाड देखियो।
मिथिलामा यस पर्वमा विहानै नुहाएर सख्खर (मिट्ठा) पकाएर तयार पारिएको रस (पाक) मा मिसाएर बनाएको तिल, चिउरा, मुरही र जनेरको लड्डु खाने चलनले गर्दा आज यहाँका स्थानीय हाट बजारमा यी सामानहरुको खरिद बिक्री गर्नेको निकै भिड देखिएको हो ।
धनुषाको सखुवाबजार, ढल्केवर, बिरेन्द्रबजार, सबैला, जनकपुरधाम लगायत साना तथा ठूला हटियामा अन्य दिनको तुलनामा आज चिउरा,मुरही र सख्खर बिक्री गर्ने पसलेहरुको संख्यामा उल्लेख्य वृद्धि देखियो।
देशकै ठूलो हटियाको रुपमा रहेको क्षीरेश्वरनाथ नगरपालिकाको सखुवाबजारमा अरुबेला तीन चार वटा चिउरा मुरहीका पसल देखिन्थ्यो भने अहिले दुई दर्जनभन्दा बढी पसल खोलेर व्यापार भइरहेको देखिन्थ्यो।
यस वर्ष चिउरा र मुरहीको मुल्य यथावत् भएपनि तिलको मूल्यमा वृद्धि भएको छ।
प्रति किलोग्राम चिउरा ५५ र मुरही ८० रुपैयाँमा बिक्री भइरहेको छ भने अन्य दिन २०० देखि २२० रुपैयाँ बिक्री भएको तिलको मुल्यमा बढेर ३०० देखि ३२० सम्म पुगेको महेन्द्रनगरकी एक उपभोक्ता शान्ति देवीले भनिन्।
यस्तै सख्खरको मुल्यमा पनि वृद्धि भएको छ। समान्य दिनमा ६० देखि ७० रुपैयाँमा बिक्री भएको सख्खरको मुल्य बढेर ९० देखि एक सय रुपैयाँमा बिक्री भइरहेको सख्खर व्यापारी मनोज साहले जानकारी दिए।
चिउरा र मुरहीको बिक्री बढेपछि उत्पादन गर्ने उद्योगलाई पनि यतिखेर भ्याइनभ्याई छ।
मिथिला नगरपालिका २ हजारा चौक स्थित राजदेवी चिउरा मुरही मिलमा अहिले दैनिक ६ हजार किलोग्राम चिउरा र सात हजार किलोग्राम मुरही उत्पादन गरिरहेको छ। सामान्य दिनमा भने दैनिक चार हजार किलोग्राम चिउरा र पाँच हजार किलोग्राम मुरही उत्पादन गर्दैआएको संचालक सागर साहले जनाए।
उद्योग सञ्चालकले बिक्रीको चाप देखेर उद्योग सञ्चालनको समयावधि समेत थप गरेको छ। संचालक साहले सामान्य अवस्थामा देनिक ८ देखि १० घण्टा सञ्चालन हुने मिल अहिले दैनिक १७ देखि १८ घण्टासम्म सञ्चालन गरिरहेको बताए।
त्यसैगरी हटियामा तरुल, सख्खरखण्ड, पिँडालु र कन्दमुलको बिक्री पनि राम्रो भएको छ । विशेष गरी पहाडी समुदायले माघे संक्रान्तिमा उपभोगमा गर्ने तरुल, पिँडालु अहिले आएर मधेसी समुदायले समेत प्रयोग गर्न थालेका छन्।
मिथिलाञ्चलमा तिला संक्राइतका दिन खिचडी, मुरही, चिउरा तिलको लड्डु खाने अनिवार्यता रहेको छ। माघे संक्रान्तिका दिन उपभोग गर्ने लड्डुहरु भने पुस महिनाको अन्तिम राति बनाइन्छ। यसरी बनाइएको तिल, चिउरा र मुरहीका लड्डु विवाहित चेलीबेटीहरुको घरमा कोसेलीको रुपमा पु¥याउन चलन समेत मिथिलाञ्चलमा रहेको छ।
माघे संक्रान्ति विभिन्न समुदायमाझ आ–आफ्नै नामबाट प्रसिद्ध छ। थारू समुदायले ‘माघी’ पर्वका रूपमा यसलाई मनाउँछन्। मगर समुदाय यस दिन तीरको निशाना लगाउने खेल ‘आर्चरी’ खेलेर रमाउँछन्। नेपालभर तरुल र सखरखण्डका स्वादिला परिकार पाक्छन्।
Facebook Comment
Comment