मधेशमा अराजकताको बाटो रोज्दै सीके राउत

मधेश आन्दोलनताका जनतालाई देखाइएका सपना, नारा र आश्वासनप पूरा नहुँदा जनतामा निराशा छ। यही जनताको निराशा र मनोविज्ञान बुझेर सीके राउत प्रदेश २ मा जनमत आफ्नो पक्षमा तान्ने प्रयत्नमा छन्।

मधेशमा अराजकताको बाटो रोज्दै सीके राउत

जनकपुरधाम। प्रदेश २ का पूर्वी जिल्लामा केही दिनयता सीके राउतको जनमत पार्टीको प्रदर्शन जारी छ।

सिरहाको औरही गाउँपालिकाले गहुँको बीउ बाँड्न ढिला गरेको र किसानहरूले नगरपालिकामा रहेको कृषि गोदामबाट आफूखुशी बीउ लगेपछि प्रहरीले किसानहरूमाथि मुद्दा चलाएको थियो।

गाउँपालिकाको गोदामबाट गहुँ लगेका आरोपमा प्रहरीले स्थानीय किसान मिथिलेश यादवलाई पक्राउ गरेर मुद्दा चलाएको थियो। यही विषयलाई सीके राउतको पार्टीले मुद्दा बनाएर सिरहामा लगातार प्रदर्शन जारी राखेको छ। ती किसानहरूको रिहाइ र उनीहरूमाथि लगाइएको मुद्दा फिर्ता गराउन राउतको पार्टीले दिनहुँजसो चक्काजाम, सडक अवरुद्ध पारिरहेको छ।

हिजो (आइतबार) पूर्वपश्चिम राजमार्ग अवरोध गर्दै प्रदर्शन गर्दै गरेका राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच धनुषाको गणेशमान चारनाथ नगरपालिकाको वडा नंं ८ पोर्ताहामा हिजो झडप भएपछि १३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

सीके राउतका कार्यकर्तामाथि प्रहरीले चलायो गोली

राजमार्ग खुलाउने क्रममा प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन १६ राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो। तर प्रदर्शनकारीहरूले झनै उग्र प्रदर्शन गरे। स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले रबरको गोली चलाएको थियो। जहाँ राउतका ५ जना कार्यकर्ताहरू घाइते भएका थिए।

राजमार्गमा अवरोध पुर्‍याएका जनमत पार्टीका कार्यकर्ताहरूलाई प्रहरीले सम्झाउँदा पनि नमानेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गर्नुपरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए।

झडपका क्रममा सशस्त्र प्रहरीका ७ जना तथा नेपाल प्रहरीका १ जना पनि घाइते भएका थिए। घाइतेहरूको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ। घाइतेहरूको अवस्था सामान्य नै रहेको प्रहरीले जनाएको छ। गोली लागेर कार्यकर्ताहरू घाइते भएपछि प्रदर्शनकारीहरू तितरबितर भएका थिए।

घटनापछि राउत प्रादेशिक अस्पताल जनकपुरधाम पुगेर घाइतेहरूको अवस्था बुझे। प्रहरीले क्रुर दमन नरोके अब नयाँ तरिकाबाट सशक्त रूपमा प्रस्तुत हुने बताए। राउतले प्रहरीको दमनको निन्दा गरे। प्रहरीले बन्दुकको दम्भ देखाएको आरोप लगाएका उनले भने, “नश्लीय प्रहरीले आफ्नो बन्दुकको दम्भ देखाएको एउटा उदाहरण हो पोर्ताहा घटना। नरसंहार गर्न खोजिएको छ। यसको जवाफ प्रहरीले दिनुपर्छ।”

शान्ति प्रक्रियाको तीन वर्ष नबित्दै अराजक बन्दै सीके राउत समूह 

नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिमा आउन तयार भएका सीके राउत समूह निर्वाचन आयोगमा दल दर्ता भयो। राउतलाई शान्ति प्रक्रियामा ल्याउन सकिएकोमा ओलीले आफ्नो कार्यकाल उपलब्धिमूलक मानेका थिए।

तर शान्ति प्रक्रियामा आएको तीन वर्ष पनि बित्न नपाउँदै राउत नेतृत्वको जनमत पार्टी प्रदेश २ मा अराजक रूपमा प्रस्तुत हुन थालेको छ। राउत नेतृत्वको जनमत पार्टीले सिरहामा केही दिनयता आमहड्ताल जारी राखेको छ। प्रहरीले बन्द खुलाउन प्रयास जारी राखे पनि जनमत पार्टीका कार्यकर्ताहरू थप अराजक बन्दै गएका छन्।

राउतले आन्दोलनलाई बढाउँदै लगेका छन्। उनले जारी गरेको विज्ञप्तिमा क्षतिपूर्तिको सम्पूर्ण जिम्मेवारी स्थानीय प्रहरी र प्रशासनले लिनुपर्ने उल्लेख गरिएको छ।

राउतले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘यति हुँदाहुँदै पनि गाडी चलाएर आन्दोलन उल्लंघन गर्ने र दादागिरी देखाउने हो भने कारबाही हुन्छ नै। मारुती सिमेन्टको ट्रक चलाउनु कुनै अत्यावश्यक साधनभित्र पर्दैन। क्षतिपूर्तिको सम्पूर्ण जिम्मेवारी त्यहाँको स्थानीय प्रहरी र प्रशासनको हो, जसले जबरजस्ती हाम्रो आन्दोलन उल्लंघन गर्न लगाए, बिहानैबिहान दर्जनौं राउन्ड अश्रुग्यास फायरिङ गरे र दर्जनौं प्रहरीले घेरर निहत्था निर्दोष जनतालाई मरणासन्न हुनेगरी कुटे।’

राउतले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा, जनता समाजवादी पार्टीहरूतर्फ संकेत गर्दै प्लेन अपहरण, टाउको काट्दै हिँड्ने, १७ हजार मान्छे मार्ने, ५ महिना नाकाबन्दी गरेर पूरा मधेश तहसनहस बनाउने, दर्जनका दर्जन गाडीमा आगो लगाउने, गौरनरसंहार गरी २७ जनाको निर्मम हत्या गर्ने, दर्जनौं प्रहरी चौकीमा आगो लगाउनेहरूले किसानहरूलाई प्रवचन नदिन चेतावनी दिए।

राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले किसानका दीर्घकालीन समस्या समाधान माग गर्दै आन्दोलन जारी राखेका छन्। उनीहरूले पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार र मिर्चैयालगायत क्षेत्रमा आन्दोलन जारी राखेका छन्।

मधेशमा के चाहन्छन् सीके राउत ?

पृथक‍्तावादी आन्दोलन गरिराखेका राउत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग ११ बुँदे सहमति गर्दै २४ फागुन २०७५ मा मुलधारको राजनीतिमा आएका हुन्। पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गरी स्थानीय तहका लागि हुने उपनिर्वाचनमा उम्मेदवारीसमेत दिइसकेका छन्।

सरकारसँग सहमतिपछि पनि सुरक्षालाई ध्यान दिँदै राउतलाई नेपाल प्रहरीले सुरक्षा दिएको थियो। उनलाई केही समय प्रहरी सहायक निरीक्षक (असई) र एक प्रहरी जवानले सुरक्षा पनि दिएका थिए।

लगत्तै राउत मधेश झर्दा उनको सुरक्षामा उनैका दस्ता खटिएको देखियो। सरकारसँग सहमतिपश्चात् पहिलो पटक जनकपुर प्रवेश गरेका उनको सुरक्षामा कमाण्डो पोशाकमा मधेशका केही युवाहरूलाई परिचालित थिए। २७ फागुन २०७५ मा राउत जनकपुर विमानस्थल ओर्लिँदा तत्कालीन स्वतन्त्र मधेश गठबन्धनले स्वागतमा र्‍याली र नाराबाजी गरेको थियो।

यति मात्र होइन उनको स्वागतमा उपस्थितहरूले स्वतन्त्र मधेशको झण्डा बोकेका थिए। उनको सुरक्षामा टाउकोमा रातो कपडा बाँधेका, मास्क लगाएका युवा खटिएका थिए।

यसरी पृथकतावादको राजनीति छाडेर मधेशकेन्द्रित दलजस्तै हिँडेका उनी अहिले तराई मधेशमा अराजकताको बाटो रोज्दै आफ्नो पार्टीको अस्तित्व स्थापित गराउन लागिपरेका छन्।

तराई मधेशमा जनप्रतिनिधिहरूको काम गर्ने शैली, अनियमितता र ढिलासुस्ती सीके राउतको पार्टीले मुख्य मुद्दा बनाइरहेको छ। जसको विरोध गर्न राउत समूहले अराजकताको बाटो रोजेको छ। सरकारी कार्यालयमा कर्मचारीहरूबाट हुने काममा ढिलाइ जनप्रतिनिधिको रवैयाका कारण स्थानीय जनता आजित भइरहँदा कतिपय स्थानीय तथा असन्तुष्टहरूले सीके राउतको ‘जनकारबाही’ समर्थन पनि गरिरहेका छन्।

वर्षाको पानी महिनौंसम्म जमेर सडक तथा घर डुबानमा पर्दा सास्ती खेप्नुपरेको र स्थानीय तहले गुनासो सुनुवाइ नगरेपछि राउतका कार्यकर्ताले खानेपानी तथा ढल निकास कार्यालयका कर्मचारी राजेश्वर कुशावाहालाई गत ४ कात्तिकमा कालोमोसो दलेर नगर घुमाएका थिए।

त्यसपछि क्षेत्रमा रातारात सडकमा ग्राभेल हालेर सडक दुरुस्त बनाइएको थियो। राउतको शैलीलाई लिएर तीव्र आलोचना भए पनि कर्मचारीको ढिलासुस्तीकै कारण विकासजन्य कामहरू हुन नसकेको त्यहाँका मानिसहरूमा उनले स्थापित गराउन सके।

स्थानीय प्रशासनले राउतका केही कार्यकर्ताहरूलाई पक्राउ गरेर मुद्दा चलाएको थियो। उनीहरूलाई रिहा गराउन बन्द, हड्ताल र आन्दोलन गरे पनि त्यसमा सफल नभएपछि कानुनी सहारा लिएर पक्राउ परेका कार्यकर्ताहरूलाई राउतले धरौटीमा रिहा गराए।

त्यसलगत्तै १२ कात्तिमा जनमत पार्टीका कार्यकर्ताले धनुषाको सबैलामा प्रधानाध्यापकमाथि कालोमोसो दल्दै दुर्व्यवहार गरे। धनुषाको सबैला नगरपालिका-१२ रघुनाथपुरस्थित फकिरचन्द उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक बैजु साहलाई राउतका कार्यकर्ताले कालोमोसो दलेका थिए।

आन्दोलनरत विद्यार्थीको मागप्रति बेवास्ता गरेको भन्दै विद्यार्थी र जनमत पार्टीका कार्यकर्ताले जनकारबाहीस्वरूप कालोमासो दलेको बताएका थिए।

त्यसैगरी सिरहाका औरही गाउपालिकामा वितरणका लागि राखिएको मलखाद वितरणमा ढिलाइ भएपछि आक्रोशित स्थानीयले मलखाद लुटेर लगेका थिए। यस घटनामा संग्लन रहेका केही किसानलाई स्थानीय प्रशासनले पक्राउ गरेर मुद्दा चलाएको थियो।

यसै घटनालाई लिएर जनमत पार्टीले ११ पुसमा चक्का जाम गरे। विरोध कार्यक्रममा राउतका कार्यकर्ताहरूले तोडफोड मच्याउनुका साथै नरहा गाउँपालिका-३ नयाँ चोहर्वा नजिक रोकिराखेको ना५ख ५५२२ नम्बरको ट्रकमा आगजनी गरे। दर्जर्नौं सवारी साधनमा तोडफोड गरे। आगजनीबाट ट्रक पूर्ण रूपले जलेर नष्ट भयो।

उनीहरूको उग्र प्रदर्शन, तोडफोड र आगजनीपछि प्रहरीले बल प्रयोग गर्दा झडप र निषेधाज्ञासम्मको अवस्था सिर्जना भएको थियो। राजनीतिक दल नेताप्रति जनतामा निराशा बढिरहेको अवस्थामा अराजकताको माध्यमबाट राउतले विश्वास जित्ने प्रयत्न गरिरहेका छन्।

“राउतको आन्दोलन अलोकतन्त्रिक र अराजक”

मधेश आन्दोलनताका जनतालाई देखाइएका सपना, नारा र आश्वासनप पूरा नहुँदा जनतामा निराशा छ। मूलतः जनताको यही निराशा र मनोविज्ञान बुझेर सीके राउत प्रदेश २ मा जनमत आफ्नो पक्षमा तान्ने प्रयत्नमा रहेका राजनीतिक विश्लेषकहरू बताउने गर्छन्। यद्यपि जनमत पार्टीको आन्दोलनमा बौद्धिक वर्गको सहभागिता नरहेको आरोप पनि सीके राउतमा लाग्दै आएको छ।

कुनै पनि राजनीतिक दलले शान्तिपूर्ण रूपमा आफ्नो आन्दोलन गर्न पाउने संविधानमा व्यवस्था भए पनि सीके जनमत पार्टीको अराजकता बढ्दै गएकाले यसलाई रोक्न सरकारले अविलम्ब कानुनी कारवाही गर्नुपर्ने नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता एवं प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादव बताउँछन्।

लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रतासहित अधिकार भए पनि कुनै पनि आन्दोलनका नाममा अराजक गतिविधि गर्नेहरूलाई छुट नभएको प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र साहले बताए। आगामी दिनमा सुरक्षासहित कार्यहरूलाई बलियो बनाएर कानूनविपरीत कार्य गर्ने कसैलाई नछोडिने उनले बताए।

माथिल्लो निकायसहित सुरक्षाका विषयमा विभिन्न निकायसँग प्रदेश सरकारले छलफल गरिरहेको उनले जानकारी दिए।

जनमत पार्टीले जारी राखेको आन्दोलनको शैली कुनै पनि हिसाबले ठीक नभएको र यसमा सहभागी व्यक्तिहरूलाई आन्दोलनको माग र शैलीका विषयमा समेत केही थाहा नभएको समाजशास्त्री नागेन्द्र दुबे बताउँछन्।

जनमत पार्टीनिकट प्रेस संगठनका अध्यक्ष बीपी साहले आफ्नो पार्टीको जनाधार नभएको र माग राख्दा कसैले पनि सुनवाइ नगरेपछि आन्दोलनविरुद्ध जानेहरूलाई आन्दोलन सफल बनाउन प्रतिवाद मात्रै गरेको बताए। शान्तिपूर्ण राजनितिक गर्ने अधिकारमाथि हस्तक्षेप भए पनि यसको प्रतिवाद हुनु स्वाभाविक भएको साह तर्क गर्छन्।

को हुन् राउत ?

सप्तरीको महदेवा गाउँमा जन्मेका राउत अमेरिकामा थिए। सन् २०११ को अन्त्यतिर राजीनामा दिई मधेशलाई स्वतन्त्र पार्ने मुद्दा लिई उनी नेपाल फर्किएका थिए। युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्डमेडलजस्ता सम्मानबाट उनी विभूषित भइसकेका छन्। उनी अमेरिकामा दर्ता र मधेशी हकहितका लागि अन्तर्राष्ट्रिय गैरआवासीय मधेशी संघका संस्थापक अध्यक्षसमेत हुन्।

नेपालमा बलिउड अभिनेता ऋतिक रोशनको विवादित अभिव्यक्ति र जापानबाट फर्केका बेला इराकको आतंकवादी संस्थाले नेपालीको हत्या गरेपछि काठमाडौंमा दंगा भड्किएको थियो। दुवै घटनामा काठमाडौंमा रहेका राउतले मधेशीमाथि भएको दमन भएको भन्दै स्वतन्त्र मधेशको नारा उठाएका थिए।

उनको मधेशको इतिहास र वर्तमान अवस्थाबारे दर्जनौं पुस्तक र लेख रचना प्रकाशित छन्। मधेशलाई स्वतन्त्र बनाउने सोचका साथ सन् २००६ को अगस्टमा भएको मधेश आन्दोलनकै क्रममा घर आएका बेला उनीसहित समूहले स्वतन्त्र मधेशको अर्को कुनै विकल्प नभएको निष्कर्ष निकालेको थियो। ‘मधेश अधिकार एवं स्वतन्त्रता गठबन्धन’ अर्थात ‘एलायन्स फर राइट्स एन्ड इन्डिपेन्डेन्स् अफ मधेश’ को स्थापना गरेको थियो।

एआरआइएमको मूल नारा नै ‘नेपाली उपनिवेश र रंगभेदको अन्त्य, मधेशीको समुचित अधिकार र स्वतन्त्रता प्राप्ति र गणतान्त्रिक मधेशको स्थापना’ उनले अघि सारेका माग थिए। त्यसको आफ्नै झण्डा र राष्ट्रगानसमेत राउतले तयार पारेका थिए।

मधेशवादी दलसँग आफ्नो एजेण्डा लिएर पटक पटक सहकार्यमा जान खोजे पनि बाटो नमिलेको भन्दै उनी एक्लै द्वन्द्वमा उत्रेर आफ्ना मुद्दा मधेशमा विस्तार गर्दै आएका थिए। राउतले गरेको सम्झौताको सार जे भए पनि तराई-मधेशमा उनको सम्झौतालाई कतिपयले आत्मसमर्पणका रूपमा लिएका छन्।

जसलाई प्रतिवाद गर्दै राउतले राजनीतिक मूलधारमा जानु सही भएको तर विखण्डनकारीको नारा दिई जनतालाई भ्रमित पार्नु पनि गलत हो प्रस्ट पारेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved