प्रदेश २ का पत्रकारलाई उखुका लाक्रा र तरकारीको मालाले सम्मान

नेपालभ्युज

प्रदेश २ का पत्रकारलाई उखुका लाक्रा र तरकारीको मालाले सम्मान

जनकपुरधाम। सर्लाहीको हरिवनमा बिहीबार पत्रकारहरूलाई उखुको लाक्रा दिँदै तरकारीको माला लगाएर सम्मान गरिएको छ।

नेपाल पत्रकार महासंघ प्रदेश २ समितिले हरिवनस्थित सगुन सहकारीको सभा हलमा आयोजना गरेको ‘नैतिक पत्रकारिता आजको आवश्यकता’ विषयक अन्तर्क्रिया तथा प्रादेशिक समितिको पाँचौ बैठकमा उपस्थित प्रदेश समिति सदस्य र अन्य जिल्लाबाट सहभागी पत्रकारहरूलाई सम्मान गरिएको हो।

उखु किसानले उखुको लाक्रा दिएर तथा देशमै प्रख्यात रहेको लालबन्दीस्थित तरकारी बजार समितिको तर्फबाट तरकारीको माला लगाइदिएर नौलो ढंगले पत्रकारहरूलाई स्वागत तथा सम्मान गरिएको हो।

नेपाल उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले यस वर्ष अहिलेसम्म उखुको मूल्य कायम नभइरहेको अवस्थामा प्रदेश २ भरिका पत्रकारलाई हरिवनमा भेला भएको अवसरमा उखुको लाक्रा दिएर उखु किसानका पीरमर्का उठानदिन आग्रह गरिएको बताए।

सरकार र उद्योगीले आफूहरूको कुरै नसुन्ने गरेको भए पनि पत्रकारहरूले बर्सेनि आफूहरूको पीडालाई बाहिर ल्याएर ठूलो गुण लगाइरहेका मैनालीले बताए।

त्यसैगरी लालबन्दी तरकारी बजार समितिको तर्फबाट कर्मचारी मीरा अधिकारीले गोलभेँडा, भान्टा, खुर्सानी, काक्रो, मुलालगायत तरकारीको माला लगाएर सम्मान गरिन्। यस्तै, कार्यक्रममा उपस्थित पत्रकारहरूलाई उद्योग वाणिज्य संघ लालबन्दीको तर्फबाट अध्यक्ष कल्याण कुमार जोशी र महासचिव दीपेन्द्र बलम्पाकीले ढाका टोपी तथा चेम्बर अफ कमर्श सर्लाहीको तर्फबाट अध्यक्ष रामभक्त प्रधान र महासचिव सुशील चालिसेले खादा ओढाएर सम्मान व्यक्त गरेका थिए।

पत्रकार महासंघ प्रदेश २ समितिका अध्यक्ष राजेश कर्णको अध्यक्षतामा आयोजित प्रादेशिक समितिको बैठक सातबुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको प्रादेशिक समितिका सदस्य शंकर श्रेष्ठले बताए।

घोषणापत्रमा पत्रकारिता पेशालाई मर्यादित बनाउन आचारसंहिता पालना तथा नैतिक आचरणको प्रदर्शन गर्न आत्मसमीक्षा एवं विभिन्न कार्यक्रममार्फत प्रेरित गर्ने, पत्रकारको पेशागत र भौतिक सुरक्षाका साथै अग्रज पत्रकारहरूका पेन्सनका लागि सरकारको ध्यानाकषर्ण गराउने उल्लेख छ।

त्यस्तै सञ्चारमाध्यमबाट बिनाकारण निकालिएका पत्रकारको पुनर्बाबहाली गर्न पत्रकार महासंघ प्रदेश २ ले आवश्यक पहल गर्ने, कोरोना संक्रमणका कारण ज्यान गुमाएका पत्रकार, प्रभावित सञ्चारकर्मी तथा सञ्चारगृहलाई राहत उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गर्नेलगायत विषय उल्लेख छन्।

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंक बहादुर क्षेत्रीले स्वागत गरेको कार्यक्रममा प्रेस काउन्सिल प्रदेश २ का अध्यक्ष शिवहरि भट्टराई, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्वय शिव पुरी र केसी लामिछाने, अकोराबका केन्द्रीय सदस्य कृष्ण कुमार एस्माली, अकोराबका प्रदेश २ अध्यक्ष मनोज यादवलगायतले मन्तव्य राखेका थिए।

बैठकमा उपस्थित पत्रकारहरूलाई मलंगवा नगरपालिकाको सौजन्यमा एक/एक थान प्रेस ज्याकेटसमेत प्रदान गरिएको पत्रकार महासंघ प्रदेश २ का कोषाध्यक्ष विश्वनाथ ठाकुरले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved