सीके राउतको जनमत पार्टीद्वारा सिरहा बन्द, जनजीवन प्रभावित

तोडफोड र आगजनी आरोपमा १४ कार्यकर्ता पक्राउ

सीके राउतको जनमत पार्टीद्वारा सिरहा बन्द, जनजीवन प्रभावित
फाइल तस्वीर

जनकपुरधाम। सीके राउत नेतृत्वको जनमत पार्टीले आज पनि सिरहा बन्द गरेको छ।

बन्दका कारण सिरहामा यातायात, शैक्षिक संस्था, उद्योग, कलकारखाना र बजार ठप्प भएका छन्। सातबुँदे मागसहित जनमत पार्टीका कार्यकर्ता आन्दोलनमा उत्रिएका हुन्।

पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचार छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा उत्रिएको हो। आन्दोलन थप चर्काउँदै लैजाने पनि पार्टीले जनाएको छ।

औरही गाउँपालिकाले वितरणका लागि गोदाममा राखेको गहुँको बीउ लुटिएको आरोपमा एक किसानलाई पक्राउ गरिएपछि जनमत पार्टीले सिरहामा आन्दोलन चर्काएको हो। वितरणमा ढिलाइ भएको भन्दै लाइन बसेका किसानहरूले गहुँको बीउ आफूखुसी लगेका थिए। यसै आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने केहीमाथि मुद्दा चलाएको छ।

आइतबारदेखि नै आन्दोलनमा उत्रेका जनमत पार्टी कार्यकर्ताहरूले दर्जनौं गाडीमा तोडफोड गर्नुका साथै केही गाडीमा आगजनीसमेत गरेका थिए।

तोडफोड र आगजनी आरोपमा जनमतका १४ कार्यकर्ता पक्राउ परेका छन्। आइतबार आमहडताल सफल पार्न सडकमा उत्रेका १४ कार्यकर्तालाई प्रहरीले सिरहाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

९ जना गोलबजारबाट, ३ जना मिर्चैयाबाट र एक जना विष्णुपुरबाट पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमध्ये एक जना ट्रकमा आगजनी गर्ने रहेकाले उनीमाथि मुद्दा चलाउने सिराहका एसपी हीराबहादुर पाण्डेले बताए। भने, “बांकी १३ जनाको सवालमा सुरक्षा समितिको बैठकमा छलफल हुन्छ। त्यसपछि मात्रै मुद्दा चलाउने कि छाड्ने भन्छौं।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved