सर्लाहीका किसानले समयमै मल पाएनन्, मिहिनेत खेर जाने भन्दै चिन्तित

सर्लाहीका किसानले समयमै मल पाएनन्, मिहिनेत खेर जाने भन्दै चिन्तित

सर्लाही। सर्लाहीका किसान अहिले मलखाद नपाएर चिन्तित बनेका छन्। हिउँदेबालीका लागि पकेट क्षेत्र मानिने सर्लाहीमा आवश्यक मात्रामा मलखाद नपाउँदा किसानले लगाएको बाली बिग्रिने चिन्ता बढेको छ। जिल्लामा अहिले गहुँबालीको समय रहेको र गहुँबालीमा मल हाल्न नपाउँदा आफूहरूको मेहनत खेर जानेचिन्ता बढेको किसान रामपुकार महत्तोले गुनासो गरे।

मलखाद नपाएर किसानलाई बाली बिग्रिने चिन्ताले सताएको छ। यहाँ मलखादका बिक्रेताले मलखाद चर्को मूल्यमा बाहिरै बेच्ने गरेको किसानको आरोप छ। सर्लाहीमा युरिया एक हजार बोरा र डिएपी ८०० बोरा आयात भएकामा युरियाप्रति बोरा ८१५ र डिएपी मल प्रतिबोरा दुई हजार २६५ मा सहकारी संस्थामार्फत बिक्रीवितरण गरिएको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख दीपक थापा मगरले बताए।

उनका अनुसार स्थानीय निकायको सिफारिसमा आएका डिलरलाई कार्यालयमा आएको मल दामासाहीले वितरण गरिएको छ। डिलरवालाले सरकारी अनुदानमा पाएको मलखाद चर्को मूल्यमा बिक्रीवितरण गरिरहेको किसानको आरोप छ। सरकारी अनुदानको मलखाद जिल्लाका ग्रामीण क्षेत्रमा रहेका किराना पसलदेखि औषधि पसलमा समेत खुलेआम चर्को मूल्यमा बिक्रीवितरण भइरहेको किसानले बताएका छन्।

जिल्लामा सरकारी अनुदानमा आएको युरिया मल अहिले प्रतिबोरा एक हजार २०० देखि रु एक हजार ५०० र डिएपी मल तीन हजारदेखि तीन हजार ५०० सम्ममा किन्न बाध्य भएका छन्। कृषि सामग्री कम्पनी लिमिटेडले बिक्री वितरण गरेको मलको वस्तुगत अवलोकन तथा अनुगमन गर्नुपर्ने स्थानीय निकाय र जिल्ला प्रशासन कार्यालय निष्क्रिय भएका कारण अहिले आफूहरूले चर्को मूल्यमा मलखाद खरिद गर्नुपरेको उनीहरू बताउँछन्।

कृषि सामग्री कम्पनी लिमिटेडले स्थानीय निकायले सिफारिस गरेका कृषि सहकारीलाई सरकारी दरमा मल दिएको जनाउँदै अनुगमनको काम आफ्नो नभएको भन्दै पन्छिने गरेको छ। जिल्लामा रहेका २० पालिकाले सिफरिस गरेका १७० कृषि सहकारीमार्फत कार्यालयले मल वितरण गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved