कैलालीमा अपराध बढेपछि सुरक्षाकर्मी बढाउन गृहमन्त्रीसमक्ष सांसद रावलको माग

नेपालभ्युज

कैलालीमा अपराध बढेपछि सुरक्षाकर्मी बढाउन गृहमन्त्रीसमक्ष सांसद रावलको माग

धनगढी कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका सांसद झपट बहादुर रावलले कैलालीमा सुरक्षा व्यवस्था बलियो बनाउन गृहमन्त्री बालकृष्ण खाँडसँग माग गरेका छन्।

कैलालीस्थित आफ्नो निर्वाचन क्षेत्रमा पछिल्लो समय अपराधिक घटनाहरू बढिरहेका भन्दै सांसद रावलले गृहमन्त्री खाँडको ध्यानाकर्षण गराएका हुन्। गृह मन्त्रालयमा शुक्रबार ज्ञापनपत्र बुझाउँदै रावलले जनताको जिउधनको सुरक्षासहित शान्तिपूर्ण ढंगले बाँच्न पाउने अधिकारको सिर्जना गर्न माग गरे।

क्षेत्र नम्बर २ अन्तर्गत लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका र बर्दगोरिया गाउँपालिकामा जघन्य अपराधका घटनाहरू दिन/प्रतिदिन बढ्दै गइरहेको, एकपछि अर्को गरी भइरहेका बीभत्स हत्याका घटनाले स्थानीय आतंकित भइरहेका भन्दै रावलले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेका हुन्।

यस क्षेत्रका प्रहरी कार्यालयमा सुरक्षाकर्मीहरूको संख्या पनि आवश्यकताभन्दा कम रहेको जानकारी उनले गृहमन्त्री खाँडसमक्ष गराए। रावलले थप सुरक्षाकर्मीहरूको व्यवस्थासहित प्रहरी कार्यालयलाई साधनस्रोत सम्पन्न बनाउन पनि माग गरे।

आपराधिक क्रियाकलापलाई यथाशीघ्र नियन्त्रणमा ल्याई जनताको जिउज्यानको सुरक्षाका साथै शान्तिको प्रत्याभूति दिलाउन उनको माग छ। यसका लागि सांसद रावलले लम्कीचुहा नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय मोतिपुरलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मातहत रहने गरी सञ्चालन गर्न सुझाव दिएका छन्।

त्यसैगरी जानकी गाउँपालिकास्थित अमरावती प्रहरी चौकीमा थप प्रहरी सुरक्षाकर्मी तत्काल उपलब्ध हुने व्यवस्था मिलाउन माग गरेका छन् रावलको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाँडले गृहसचिव टेकनारायण पाण्डेलाई तत्काल सुरक्षा व्यवस्था गर्न आवश्यक कारबाही अगाडि बढाउन निर्देशन दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved