पाँच महीनामा चितवनमा मरे १९ गैंडा

पाँच महीनामा चितवनमा मरे १९ गैंडा

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैंडा मरेका छन्। मरेका गैंडामध्ये दुई चोरी शिकारीले मारेको आशंका गरिएको छ। अन्य कालगतीले मरेका हुन्।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार चालु आवको साउनमा छ, भदौमा दुई, असोजमा एक, कात्तिकमा तीन, मंसीरमा पाँच र पुसमा दुई गैंडा मरेका हुन्। मरेका गैंडामा बूढो भएर पाँच, भासिएर पाँच, पानीमा डुबेर दुई, जुधेर चार र बाघको आक्रमणबाट एक गैंडा मरेको जनाइएको छ। यस्तै साउन १२ गते माडीको घाघर क्षेत्रमा भेटिएको मृत गैंडा र असोज ११ गते धोवा क्षेत्रमा फेला परेको गैंडा शिकारीले मारेको आशंका गरिएको उनले जानकारी दिए।

कार्यालयका अनुसार आव २०७५/७६ मा ४३ गैंडा मरेका थिए। सो समयमा गैंडा धेरै मरेपछि मर्नुको कारण खोज्न अध्ययन टोली बनाइएको थियो। यस्तै आव २०७७/७८ मा ३३, २०७६/७७ मा २६, २०७४/७५ मा २६, २०७३/७४ मा २५, २०७२/७३ मा १४, २०७०/७१ र २०७१/७२ मा ११/११ गैंडा मरेका थिए। यस्तै आव २०६९/७० मा १० गैंडा मरेको निकुञ्जको तथ्यांकले जनाएको छ।

पछिल्लो गणनाअनुसार नेपालमा ७५२ गैंडा रहेकामा चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेका छन्। गैंडाको बासस्थानका हिसाबले यो निकुञ्ज उत्तम मानिन्छ। केही समय शून्य चोरी शिकारी वर्ष मनाएको निकुञ्जमा पछिल्लो समय तस्करले गैंडा मार्न थालेका हुन्। गैंडाको सङ्ख्या धेरै भएकाले पछिल्ला वर्ष प्राकृतिक कारणबाट मर्ने संख्या पनि बढी हुने गरेको छ। संख्या बढ्दै जाँदा प्राकृतिक कारणबाट मर्ने संख्या बढ्नुलाई अस्वाभाविकरूपमा लिन नपर्ने विज्ञहरू बताउँछन्।

हत्या अभियोगमा श्रीमान् पक्राउ

जिल्ला प्रहरी कार्यालयले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका–६ अमरबस्तीकी २२ वर्षीया अम्बिका महतोको हत्या अभियोगमा उनका २५ वर्षीय श्रीमान् साजन महतोलाई प्रहरीले पक्राउ गरेको हो।

अम्बिकालाई यही पुस ५ गते राति घाइते भई लडिरहेको अवस्थामा भेटाइएको थियो। कार्यालयका अनुसार अम्बिकाको उपचारका क्रममा मृत्यु भएपछि उनको शरीरमा भएको घाउचोटका कारण हत्या भएको पुष्टि भएको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved