एमालेको अवरोधका कारण राष्ट्रियसभा बैठक आज पनि स्थगित

नेपालभ्युज

एमालेको अवरोधका कारण राष्ट्रियसभा बैठक आज पनि स्थगित

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका कारण आज (५ पुस) बोलाइएको राष्ट्रियसभाको बैठक पनि स्थगित भएको छ।

बैठकको शुरु हुनेबित्तिकै एमालेले अवरोध शुरु गरेपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगितको घोषणा गरेका हुन्। संसद् अवरुद्ध पार्नुअघि एमालेका सांसद् देवेन्द्र दाहालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उठाएको माग सम्बोधन नगरी संसद् बैठक चल्न नसक्ने पार्टीको अडान राखेका थिए।

उनले सरकारले प्रमुख प्रतिपक्ष दल एमालेको माग सम्बोधन गर्न वार्तासमेत गर्न नचाहेको भन्दै आपत्ति जनाएका थिए।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले भने देशलाई अगाडि बढाउन सहज हुने भन्दै प्रमुख प्रतिपक्ष दल एमालेका सांसद्हरूलाई सदन संचालनका लागि सहज बनाइ दिन पटक पटक आग्रह गरेका थिए। उनले महत्वपूर्ण विधेयकहरू अगाडि बढाउन, देशको विकासको बारेमा, समग्र अर्थतन्त्रको बारेमा आफ्ना विचारहरू राख्न पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई सदन सुचारु गराउन सहयोग गर्न अनुरोध गरेका थिए।

तर एमालेका सांसद्हरूले बैठक अवरुद्ध जारी राखेपछि आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ का वार्षिक प्रतिवेदनहरू पेश गर्ने आजको कार्यसूचि हटाइएको थियो। त्यसपछि अध्यक्ष तिमिल्सिनाले अबैठक स्थगित गरिएको घोषणा गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved