माइतीघरमा बाँदरझुलाका सुकुमबासीको आन्दोलन, ‘नालायक सरकार चाँहिदैन’

नेपालभ्युज

माइतीघरमा बाँदरझुलाका सुकुमबासीको आन्दोलन, ‘नालायक सरकार चाँहिदैन’

काठमाडौं। आइतबार चितवन माडी नगरपालिकाका बाँदरझुलाका सुकुमबासी समुदायले संघर्ष समिति बनाएर काठमाडौंको माइतीघरमा लालपूर्जा प्राप्तिका लागि आन्दोलन शुरु गरेका छन्।

बाँदर झुला संघर्ष समितिकी संयोजक शारदा आचार्यले चितवन राष्ट्रिय निकुञ्ज र नगरपालिकाले ज्यादती गरेको र न्यायका लागि काठमाडौंकेन्द्रित आन्दोलन गर्नुपरेको बताइन्। उनले काठमाडौंमा आएर आफ्नो जग्गाको लालपूर्जा प्राप्त गर्न आन्दोलन गर्नु बाध्यता भएको बताइन्।

संयोजक आचार्यले नगरपालिका तथा निकुञ्जमा लालपूर्जाको माग गर्दै पटक-पटक आन्दोलन गरे पनि माग पूरा नभएको बताइन्। अब अन्तिम लडाइ लड्नकै लागि काठमाडौं आएको उनले बताइन्।

सुकुमबासी जनताको अधिकारमाथि नै राजनीति भएको भन्दै लालपूर्जा प्राप्तिका लागि निरन्तर आन्दोलन जारी राख्ने आचार्यले बताइन्। भनिन्, “बाँदरझुलाका सुकुमबासी जनताले बाच्न पाउनुपर्ने अधिकार छ। बस्तीका आगो लगाउने, ८ वर्षदेखि धुरी कर बुझाएको प्रमाण हामीसँग छ। अनि कसरी निकुञ्जको जग्गा हुन्छ ? यो विषयमा नगरपालिकाले पनि न्याय दिन सकेन,” उनले भनिन्।

माओवादीका अध्यक्ष प्रचण्ड तीन पटक बस्तीमा पुगे पनि लालपूर्जा नपाइएको उनको गुनासो थियो। “नेताहरूलाई जनताको समस्याभन्दा पनि भोट चाइएको छ। अब यहाँका जनताले केही गर्न नजाने पनि भोट दिन जानेका छौं। हामी भोट दिने बेलामा हेर्छौं। हामीले जग्गाको लालपूर्जा नपाएसम्म यो नालायक सरकार चाँहिदैन,” उनले भनिन्।

लालपूर्जा नदिएसम्म कसैलाई भोट नदिने उनले चेतावनी दिइन्। “सुकुमबासी नपढेका जनता भनेर हेपियो। तर, अब हामी कसैले राजनीतीकरण गर्न खोजे पनि रोकिने छैनौं। आफ्नो अधिकार माग गर्न आउनलाई समेत रोकियो। जति आएका छौं। त्यतिले निरन्तर रुपमा आन्दोलन गछौं। आन्दोलन नभए माग पूरा गर्न अदालतमा मुद्दा हालेर मात्रै चितवन जान्छौं,” आचार्यले चेतावनी दिइन्।

‘सुकुमबासी समुदाय बाँदरझुला मानवीय बस्ती र निकुञ्जको जग्गाको सीमांकन गर’, ‘हाम्रो भूमिको लालपूर्जा दे’, ‘हामीहरू घर खोजिरहेका छौं’, ‘तिमीहरू बस्ती जलाउँछौं’ लेखेका प्लेकार्डसहित आन्दोलन गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved