नेता कार्यकर्ताबाट महाधिवेशन खर्च उठाउँदै एमाले

एक जना सदस्यबाट एक सय उठाउने निर्णय

नेपालभ्युज

नेता कार्यकर्ताबाट महाधिवेशन खर्च उठाउँदै एमाले

चितवन। नेकपा (एमाले) को १०औँ महाधिवेशनको खर्च पार्टीका सदस्यबाट उठाउने भएको छ। महाधिवेशन यही १० मंसीरदेखि १२ गतेसम्म चितवनमा हुँदैछ।

पार्टी सदस्यबाट लेबी उठाउने निर्णय भएको हो। महाधिवेशन मूल व्यवस्थापन समितिका सह-संयोजक सुरेन्द्र पाण्डेले एक जना सदस्यबाट एक सय उठाउने निर्णय भएको जानकारी दिए।

एमाले सदस्य संख्या सात लाख छ। यसबाट सात करोड उठ्ने अनुमान गरिएको छ। महाधिवेशन प्रतिनिधिबाट दुई हजार र केन्द्रीय कमिटी सदस्यबाट तीन हजार उठाइने उनले जानकारी दिए।

एमालले लाभका पदमा रहेकाबाट समेत शुल्क उठाउँदै छ। पाण्डेका अनुसार उनीहरूबाट के कति उठाउने भन्नेबारेमा टुंगो लागिसकेको छैन। अन्यको लेबी उठाउन सर्कुलर गरी सकिएको उनले जानकारी दिए। महाधिवेशनमा विद्युतीय उपकरणबाट मतदान गरिने जनाइएको छ। मतदानका लागि एक सय वटा विद्युतीय उपकरण राखिने भएको छ।

उद्घाटन सत्र चितवनको नारायणगढस्थित नारायणी किनारमा गरिँदै छ। सो अवसरमा देशभरबाट पाँच लाख हाराहारीमा नेता-कार्यकर्ता उपस्थित हुने अनुमान गरिएको छ। बन्द सत्र सौराहाको बाघमारा चौरमा गरिँदै छ। सबै विभागबाट खर्चको अनुमानित रकम आइनसकेकाले के कति खर्च हुन्छ भने अनुमान गरिनसकेको पाण्डेले बताए।

यसअघि नवौं महाधिवेशनमा ६ करोड र त्यसअघि आठौंमा तीन करोड रुपैयाँ खर्च भएको उनले जानकारी दिए। योसँगै नेकपा एमालेले बाहिर महाधिवेशनका लागि चन्दा नउठाउने देखिएको छ।

एमालेमा केन्द्रीय समिति संख्या २२५ छ। तीमध्ये १५ पदाधिकारी छन्। पाण्डेका अनुसार अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष चार, महासचिव एक, उपमहासचिव एक र सचिव सात जना रहने व्यवस्था छ। उनीहरू महाधिवेशनबाट निर्वाचित हुनेछन्।

महाधिवेशनमा दुई हजार प्रतिनिधि सहभागी हुने सह-संयोजक पाण्डेले बताए। बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम समयमा चितवनमा सारिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved