दशैंको सन्देश बोकी आउने त्यो कुहिरो…

सबै धेरै माथि नजान कराइरहेका थिए। हामी उनीहरूलाई वास्ता नगरी पिङको मज्जा लिरहेका थियौं। ‘मरेँ नि आमा,’ तलबाट आवाज आयो। यसो हेर्छु त पिङमा म एक्लै थिएँ।

दशैंको सन्देश बोकी आउने त्यो कुहिरो…

शरीर नै पगाल्छ कि जस्तो खनखनी पसिना बगाउने त्यो अत्यासलाग्दो मधेसको गर्मी। तर पनि कति मिठा थिए ती दिनहरू!

पसिना निख्रिदै जाँदाका ती सुवाशिला दिन, जसले कता–कता आभाष दिलाउँथ्यो अब दशैं आउँदैछ भनेर।

बार्दलीमा, बाटामा, वनमा, खेतमा, लहलह झुलिरहेका धानका बालाहरूमा जब शीतका थोपाहरू मुस्कुराउन थाल्थे छुट्टै बेचैनी बढ्न थाल्थ्यो, मनमा बेग्लै शीतलता महशुस हुन्थ्यो।

खेतमा धानका बालाहरूले रुप फेर्दै गर्दा यता किसानका अनुहारमा पनि छुट्टै चमक देखिन्थ्यो।

सानैबाट वातावरणसँग खुवै लगाब भएकाले होला मलाई आज पनि याद छ बिहानीपख चिसो–चिसो बतास चल्न थाल्थ्यो, बाहिर धुम्म कुहिरो बर्दियाको पसिना पुछ्न आए जस्तो लाग्थ्यो। उष्णतालाई बिश्राम दिने मात्र होइन मेरा लागि दशैंको न्यानो सन्देश पनि बोकेर ल्याउँथ्यो त्यो कुहिरोले।

मेरा लागि दशैं रातो टिका र जमरामा मात्र सीमित थिएन, वषौं टाढा रहेका साथीसंगीसँगको भेट पनि थियो। टाढा भएका आफन्तसँगको भेट र खुशीका रंग बोकेर आउने त्यो दशैं निकै खास थियो।

कुहिरो कहाँ कुहिरो मात्रै थियो र? त्यो पसिना पुछ्ने रूमाल थियो, मिलनको पुल थियो, स्नेहको तलाउ थियो। विस्तारै म त्यो वातावरणबाट टाढिँदै गए, कुहिरोदेखि टाढिदै गएँ। कुहिरो सन्देश बोकर आउन छाड्यो, मेरो रूमाल च्यात्तियो, पुल भासियो, तलाउमा पहिरो खस्यो।

जिम्मेवारीको गह्रुंगो भारी बोकेर सुनौलो भविष्यको खोजीमा काठमाडौं खाल्डोमा भासिदै भासिदै गएँ।

दशैंको सन्देश बोकी आउने गाउँको त्यो कुहिरो, ती धानका बाला कस्ता भए होलान् ? अचेल शरदको आगमनसँगै बेचैनीका साथ यी प्रश्नहरू मनमा खेलिरहन्छन्।

अब त म काठमाडौंको धूलोमा अभ्यस्त भैसकेछु। यो सहरको धूलोले मलाई कुहिरोको याद दिलाउँछ, गिज्याए जस्तो लाग्छ। लाग्छ यो धूलोले गाउँ छाडेका हरेकलाई केही भन्न खोजिरहेको छ। सहर कुहिरोले ढाकिन्छ, मन कुहिरोले।

दशैंताकाको त्यो रमाइलो। घरमा छुट्टै उमंग, बिछोडिएका साथिहरूसँगको भेट, राती अबेरसम्मको त्यो घुमाइ, त्यो थारु नाच, त्यो बाल्यकालिन दशैं। निकै नोस्टाल्जिक हुन्छु।

घर अगाडिको ठूलो वरको रुखमा हालिएको पिङ घण्टौं पालो कुर्दा पनि नथाक्ने म यो सहरमा त सँधैं थकित थकित जस्तो, व्यथित जस्तो बनेकी छु।

मलाई पिङ खेल्न खुवै मन पर्थ्यो तर मच्चिन धेरै नसक्ने भएकाले आफैसँग रिस उठ्थ्यो।

कक्षा ७ मा पिङ निकै मच्चाउन सक्ने मिल्ने साथीसँग खेल्ने कुरा भयो। म साथीसँग पिङ खेल्न पाएर निकै खुशी थिएँ। ऊ निकै माथि माथिसम्म पिङ पुर्याइरहेकी थिई।

म माथि जान पाएर होला निकै खुशी थिएँ।

ओ…हो…. ओ… हो…. हामी त कति माथि गयौं, कति रमाइलो भन्दै चिच्याउँदै पिङको मज्जा लिरहेको थिएँ। सबै धेरै माथि नजान कराइरहेका थिए। हामी उनीहरूलाई वास्ता नगरी पिङको मज्जा लिरहेका थियौं। ‘मरेँ नि आमा,’ तलबाट आवाज आयो। यसो हेर्छु त पिङमा म एक्लै थिएँ।

विस्तारैं पिङ रोपिकयो तर साथीको शरीरबाट बगेको रगत रोकिएन। म पिङबाट ओर्लिँदा सम्म साथी बेहोश भइसकेकी थिई।

म निकै निकै डराइरहेकी थिएँ। झिसमिसे अँध्यारो भैसकेकाले कहाँ चोट लाग्यो भन्रे पत्तो भएन।

बेलुका झिस्मिसे भइसकेकाले यसलाइै कहा कहा चोट लागेको छ भनेर पत्तो पाउँन सकिएन।

उसलाई अस्पताल लगियो। केही दिनको अस्पताल बसाइपछि उसलाई भेटेँ। उसको ब्यूटीबोन नै बांगो भएछ। आज पनि प्रष्टै उसको त्यो ब्यूटीबोन उठेको देखिन्छ।

अब त म परैबाट पिङ देखेपनि  डराउँछु। तर अब फेरि चिसो बताससँगै दशैंको सन्देश बोकेर उष्णता मेट्ने धुम्म कुहिरोसँगै साथीसँग भेट भयो भने जरूर उसको हात समाउँदै त्यो कुहिरोको बाटैबाटो हिँड्नेछु।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved