एमालेमा उमेर हद – ओलीको कार्यकाल दोहोर्‍याउन मिल्ने गरी व्याख्या

नेपालभ्युज

एमालेमा उमेर हद – ओलीको कार्यकाल दोहोर्‍याउन मिल्ने गरी व्याख्या

काठमाडौँ। नेकपा (एमाले)मा ७० वर्षे उमेर पूरा हुने बेलासम्म पार्टीको उम्मेदवार हुन पाउने भएको छ। ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा उमेर हदको स्पष्ट व्याख्या गर्दै ७० वर्ष पुरा हुँदासम्म उम्मेदवार बन्न पाउने व्यवस्था गरेको हो। कुनै कार्यकारी पदका व्यक्ति ७० बर्ष पुरा भएपछि भने पदबाट बाहिरिने छैनन्। महाधिवेशनमा उम्मेदवार हुन मात्रै ७० वर्ष पुरा हुन नहुने व्यवस्था  छ।

आफूले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नको आइतबार जवाफ दिने क्रममा उपमहासचिव विष्णु पौडेलले यसरी उमेर हदको प्रावधानलाई स्पष्ट पारेका हुन्।  उनले भने ‘‘७० वर्ष उमेर पूरा नहुँदासम्म उम्मेदवार हुन पाउने, कार्यकालको बीचमा ७० वर्ष पार भएमा आफू निर्वाचित रहेको पदमा रहेर काम गर्न पाउनेछ।’’

यो व्याख्याले अध्यक्ष केपी शर्मा ओलीलाई अर्को महाधिवेशनमा अध्यक्ष हुन सहज हुने छ। त्यसको लागि मंसिरमै महाधिवेशन हुनुपर्नेछ। ११ फागुन २००८ मा  ओली जन्मिएका हुन्। एमाले महाधिवेशन मंसिरमा तय गरिएको छ। यदि महाधिवेशन समयमै नभई ११ फागुन कट्यो भने उनी ७० बर्ष कटिसकेका हुन्छन्। यस कारण कार्यकारी पदमा उम्मेदवार हुन पाउने छैनन्।

मंसिरमा तय गरिएको महाधिवेशनमा ओली अध्यक्षमा निर्वाचित भए पनि केही समयमै ७० वर्षे उमेर पार हुनेछन्। तर तत्कालै ७० बर्ष पार हुने भएकाले नयाँ व्याख्या अनुसार उनले पद छाड्नुपर्ने छैन। ओली मंसिरमा अध्यक्ष निर्वाचित भएपछि पनि पाँच वर्षे पूर्ण कार्यकाल अध्यक्षकै रुपमा रहन पाउने छन्।

अब एमाले केन्द्रमा महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी हुनेछ। त्यसपछि स्थायी कमिटी र पदाधिकारी गरी तीन वटा तह हुनेछ। ठुला र भद्दा कमिटीहरूले गर्दा पार्टी संगठन लथालिङ्ग भएको भन्दै पौडेलले पोलिट्व्यूरो कमिटी हटाइएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved