आफ्नै भूगोलमा एक्लिए घनश्याम भूसाल

आफ्नै स्कुलिङमा हुर्किएका रूपन्देहीका धेरै नेता-कार्यकर्ताले नेकपा (एकीकृत समाजवादी) रोजेपछि नेकपा (एमाले) मै रहने निर्णय लिएका घनश्याम भूसाल आफ्नै भूगोलमा कमजोर बनेका छन्।

आफ्नै भूगोलमा एक्लिए घनश्याम भूसाल

बुटवल। गत वर्षको चैत मसान्तमा गृहजिल्ला रुपन्देही आएका थिए, नेकपा (एमाले) का उपमहासचिव घनश्याम भूसाल।

उद्देश्य थियो, आफ्नै पार्टीको समानान्तर जिल्ला कमिटी गठन गर्नु। सर्वोच्च अदालतको २३ फागुनको फैसलाले ब्युँतिएको एमालेका अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा आफ्नो समूहको बैठक राखेर महासचिवबाहेक सबै पदाधिकारी हटाइदिएपछि माधवकुमार नेपाल र उनीनिकट पदाधिकारीको जिम्मेवारी खोसिएको थियो। त्यही झोकमा नेपाल समूहले आफ्नो नेतृत्वमा पार्टीको समानान्तर कमिटी गठन गर्ने ‘अभियान’ नै चलाएको थियो।

‘अभियान’कै क्रममा अर्का नेता युवराज ज्ञवालीलाई साथ लिएर गृहजिल्ला फर्केका भूसालले त्यही दिन युवासंघ नेपालका पूर्वकेन्द्रीय उपाध्यक्ष राजु गुरुङको नेतृत्वमा समानान्तर कमिटी गठन गरे।

जसमा पुरुषोत्तम घिमिरे उपाध्यक्ष, जागेश्वर चौधरी सचिव र सिद्धिचरण भट्टराई उपसचिव तोकिए। त्यसै दिन क्षेत्रिय कमिटी, पालिका स्तरीय ईन्चार्ज र जनवर्गीय संगठनको संयोजकको समेत जिम्मेवारी तोकियो।

पहिलेदेखि नै घनश्याम भूसालको ‘स्कुलिङ’मा रुपन्देहीका सक्रिय राजनीतिक गतिविधिमा संलग्न नेता कार्यकर्ता नै समानान्तर कमिटीमा जोडिए।

५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टिभित्रै देखिएको चर्को ध्रुवीकरणमा पनि यी नेता-कार्यकर्ता भूसालसँगै नेपालपक्षमा मुखरित भएका थिए।

समानान्तर कमिटीमा उपसचिव बनेका सिद्धिचरण भट्टराई भन्छन्, “केपी ओलीले नवौं महाधिवेशनका भावनालाई पार्टी कमिटीमा रुपान्तरण नगरेपछि भूसालहरू लडाइँमा थिए र त्यो लडाइँमा रुपन्देहीबाट हामीहरू भूसालको साथ थियौं। ५ पुसयता पार्टीभित्र भएका अराजनीतिक गतिविधिविरुद्ध हामीहरू सँगै थियौं।”

भट्टराइले भनेजस्तै नवौं महाधिवेशनपछि एमालेमा अध्यक्ष ओलीका क्रियाकलापमाथि सबैभन्दा बढी प्रश्न गर्ने नेता भूसाल नै थिए। उनले पार्टीभित्र र बाहिरबाट ओलीका धेरै कदमको चर्को विरोध गरे। प्रतिनिधिसभा विघटनपछि ओलीविरुद्ध आफै सडक संघर्षमा उत्रिए र जिल्लामा कार्यकर्ताहरूलाई ओलीका कदमविरुद्ध उठ्न प्रेरित गरे। समानान्तर कमिटी गठन त्यसकै एउटा स्वरुप थियो।

समय उस्तै रहेन। अहिले भूसाल र रूपन्देहीमा उनी निकट नेता-कार्यकर्ताबीच कित्ताकाट भएको छ। पार्टी विभाजनको तहमा पुग्दा उनले माधव नेपालको साथ छोडेर ओलीसँगै मिलेर जाने निर्णय लिए। तर भूसालकै उपस्थितीमा गठन भएको एमालेको समानान्तर कमिटी भने उनलाई छाडेर नेकपा (एकीकृत समाजवादी) को जिल्ला कमिटीमा रुपान्तरित भएको छ।

१२ भदौमा बसेको उक्त कमिटीको बैठकले सर्वसम्मत रूपमा नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) मा रुपान्तरित हुने निर्णय गरेपछि भूसाल एक्लिएका छन्।

“कमिटीको पछिल्लो बैठकसम्म पनि उहाँले वारलेभलमा कमिटीको काम गर्न भन्नुभयो। तर पछि कमिटीका कुनै पनि साथीहरूसँग छलफल नै नगरी उहाँले उता हाम फाल्नुभयो,” कमिटीका अध्यक्ष राजु गुरुङ भन्छन्, “हामीलाई एकखालले आश्चार्यचकित बनाएर उहाँ ओलीतिर मिल्न जानुभएको छ। त्यो कुराको जवाफ दिन सक्ने आधार मैले देखेको छैन।”

ओलीसँगको १० बुँदे सहमतिलाई आधार मानेर भूसालले एमालेमै रहने निर्णाय गरेका थिए। १० बुँदे सहमतिले आफूहरूलाई २८ फागुनभन्दा अघिको स्थितिमा पुर्‍याएको र त्यो स्थितिमा आफूहरू पार्टी विभाजनको पक्षमा नरहेको तर्क उनले दिएका छन्।

यद्यपि, पार्टीभित्र विधि र पद्धतिको कुरा गर्ने भूसालले ओलीसँगको १० बुँदे सहमतिलाई आधार मानेर फेरि एमालेमै समाहित हुनुलाई उनी निकटका जिल्ला नेताहरूले ‘भूसालको वैचारिक स्खलन’को रूपमा हेरेका छन्।

“पछिल्लो १० बुँदे सहमतिमा राजनीतिक कुरा छैनन्, प्राविधिक कुरा मात्रै छन्,” जिल्ला कमिटी उपसचिव भट्टराई भन्छन्, “दुई-दुई पटक संसद् विघटनलाई ओली पक्षका कसैले पनि गलत हो भनेका छैनन्। त्यही विचार समूहसँग फरक मत पनि नराखी समाहित हुने कुरा गैरराजनीतिक र गैरसैद्धान्तिक हो। उहाँ पनि आफ्नै एजेण्डाविपरीत जानुभएको छ। त्यसैले उहाँलाई साथ दिन सकेनौं।”

गएको प्रतिनिधि सभाको निर्वाचनमा माओवादीसँगको गठबन्धनमा भूसालले रुपन्देहीको क्षेत्र नं ३ बाट राप्रपा प्राजातान्त्रिकका दीपक बोहोरालाई हराएका थिए।

जिल्लाको राजनीतिमा सक्रिय भूसालनिकट एक युवा नेता भन्छिन्, “एमालेभित्र मालेको ह्याङ कहिले पनि गएन। महाकाली सन्धिले पारेको विभाजन पनि गुटको रूपमा एमालेभित्र रहिरह्यो। गुटप्रवृत्ति यति मौलायो कि विपक्षी गुटले भूसाललाई चुनावमा सहयोग नगर्ने मात्र होइन, असफल नै बनाउन कोसिस गरिरह्यो।”

त्यसअघिका दुई संविधानसभाका निर्वाचनमा उनी पराजित भएका थिए। ०५६ सालको उपनिर्वाचनमा उनले जितेका थिए। त्यो नै उनको पहिलो चुनावी प्रतिस्पर्धा थियो।

जिल्लाको राजनीतिमा सक्रिय भूसालनिकट एक युवा नेता भन्छिन्, “एमालेभित्र मालेको ह्याङ कहिले पनि गएन। महाकाली सन्धिले पारेको विभाजन पनि गुटको रूपमा एमालेभित्र रहिरह्यो। गुटप्रवृत्ति यति मौलायो कि विपक्षी गुटले भूसाललाई चुनावमा सहयोग नगर्ने मात्र होइन, असफल नै बनाउन कोसिस गरिरह्यो।”

आफ्नै नेता कार्यकर्तासँग अलग्गिएका भूसालको पहिलेदेखि नै कमजोर रहेको जनमतमा अझै ठूलो असर पुग्नसक्ने अनुमान नेकपा (एकीकृत समाजवादी)मा गएका उनकै स्कुलिङका नेता कार्यकर्ताले गरिरहेका छन्।

“अघिअघि ओली समूहका साथीहरूले धोखा दिने कारण उहाँलाई जित्न नदिने प्रवृत्ति थियो। अघिल्लो पटक माओवादीसँग गठबन्धन गरेर जित्नुभएको हो। दीपक बोहोराविरुद्ध लडेकाले उहाँलाई लोकतन्त्रवादीहरूले साथ दिएका थिए,” नेता भट्टराई भन्छन्, “उहाँलाई अब त्यो दुई वटै अनुकूलता हुने छैनन्।”

भट्टराईका अनुसार वैचारिक रूपमा भूसालले पार्टीभित्र स्थापीत गरेको एजेण्डाबाट आफै च्यूत भएकाले जिल्लामा उनको राजनीतिक व्यक्तित्व पनि कमजोर बनेको छ। कमिटी अध्यक्ष राजु गुरुङ भूसाललाई दोहोरो घाटा पुगेको तर्क गर्छन्। उनका अनुसार भूसालले एकातिर एमालेभित्रै स्थापित हुन पार्टीभित्रको व्यक्तिवादी प्रवृत्तिले नदिने भएकाले केन्द्रीय राजनीतिमा उनको प्रभाव कम हुने र अर्कोतिर जिल्लामा जनाधार गुमाउँदै जानेछन्। “उहाँलाई अगाडि त्यति सहज छैन,” गुरूङ भन्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved