चंगा उडाउँदा झण्डै पाँच तलाबाट खसें

चंगा उडाउँदा झण्डै पाँच तलाबाट खसें

मेरो नाम पुष्पमान अमात्य। बुवाको अनन्तमान अमात्य हो। उहाँ काठमाडौंको खिचापोखरीमा जन्मनुभएको हो। २००१ फागुन २६ गते पाटनको स्वथ टोल (हालको ललितपुर महानगरपालिका–१२) मा मेरो जन्म भएको हो।

हाम्रो परिवार ठूलो छ। मेरा बुवाआमाका १० जना सन्तानमध्ये म जेठो हुँ। सात जनामा तीन भाइ छोरा र तीन जना छोरी छौं। आमा २८ वर्षअघि र बुवा १३ वर्ष अघि बित्नुभयो। बुवा आमाका हामी सबै सन्तान दशैं तिहारजस्ता चाडपर्व एकै ठाउँमा भेला भएर मनाउँछौं।

दशैंमा चंगा उडाउने रहर जोकोहीलाई लाग्छ। हामी भने दशैं आउनुभन्दा धेरैअघि जनै पूर्णिमादेखि नै चंगा उडाउने गर्थ्यौं। कुम्भेश्वरको मेला सकिएपछि चंगा उडाउने गरिन्थ्यो। घटस्थापनाको बेलादेखि त झन् बुवा, काकाहरूले छोरा नातिहरूलाई चंगा उडाउन सिकाउनुहुन्थ्यो।

मैले ८-१० वर्षको उमेरदेखि चंगा उडाएको सम्झना छ। चंगा उडाउँदा म ठूलो दुर्घटनाबाट बचेको छु। म ११-१२ वर्षको थिएँ हुँला, एक दिन दिउँसो पानी परिरहेको थियो। आमाले कर्कलोको पात (सब्जी-दाल खाना) कर्कट पातामा सुकाउनुभएको थियो। पानी रोकिएपछि म चंगा उडाउन छानामा चड्दा कर्कलोको चिप्लो पातमा फ्याट्ट चिप्लिएर झण्डै पाँच तलामुनि खसें।

सुकाएको पात सबै भुइँमा खस्यो। कर्कटपाता अड्काउने हुकले मेरो सर्ट अड्यायो, अनि मचाहिँ कपडा अड्किएजस्तै अड्किएँ। हैन भने म पाँच तलामुनि बजारिने थिएँ। म अड्किएको देखेपछि हाम्रो छिमेकी बज्यैले आत्तिँदै आमालाई बोलाउनुभयो, ऊ, ऊ, पुष्प-पुष्प भन्दै माथि देखाउनुभयो।

धेरै आत्तिएर बज्यैले पूरा वाक्य भन्न सक्नुभएन। आमा आत्तिँदै माथि छततिर आउनुभयो, हत्तपत्त मलाई निकाल्नुभयो। अनि दुई चार झापड हान्नुभयो। किन कौसीभन्दा माथिको छानोमा चढेको भन्दै गालीसमेत गर्नुभयो। भगवानको कृपाले त्यो बेला बाँचेको जस्तो लाग्छ।

मेरो मामाघर काठमाडौंको किलागल भन्ने ठाउँमा हो। मेरी आमा सानै छँदा नै मेरो मावली हजुरबा बित्नुभएको थियो रे। मेरो हजुरबा कसैसँग नझुक्ने खालको हुनुहुन्थ्यो रे। जुद्धशम्शेर प्रधानमन्त्री हुँदा उहाँ खरदार, सुब्बासरहको जागिर गर्नुभएको थियो।

नखःट्याको बेलामा हामी मामाघर जान्थ्यौं। नखःट्या भनेको दशैं, इन्द्रजात्रा, रातो मच्छिन्द्रनाथको जात्रा चलेको बेला मनाइने परम्परा हो। छोरी,चेली भान्जाभान्जी बोलाएर खुवाउने दिनलाई नखःट्या भनिन्छ। मामाघर जाने भनेपछि हामी निकै खुशी हुन्थ्यौं। त्यसैले दशैंमा मात्रै होइन, नखःट्याजस्ता चाडपर्वका बेलामा पनि हामी मामाघर जान्थ्यौं।

त्यो बेला त अहिलेजस्तो बस र यातायात चल्दैन्थ्यो। पाटनबाट हिँडेरै किलागल जानुपर्थ्यो। आमा पनि माइत जाँदा हामी दुई- दिनसम्म मामाघर बस्थ्यौं।

दशैंमा हाम्रो परिवारलाई कुखुरा चल्दैन, कुखुराको फूल चल्दैन, छ्यापी पनि चल्दैन। पहिले त अझ प्याज, लसुन पनि नचल्ने। हामीले चलाउने भनेको हाँस मात्रै हो। नवमीको दिनमा हामीले लगभग नौ वटा हाँस काट्थ्यौं। कुलदेउवा, भीमसेनस्थान, बंगलामुखी, बटुकभैरव, महालक्ष्मीथानलगायत मन्दिरमा चढाउन हाँस प्रयोग गरिन्थ्यो।

तर, ५-६ वर्षजति भयो हाम्रो परिवारका तर्फबाट मारकाट बन्द भयो। आफन्त र छरछिमेकीले परम्परा छोड्दै गए। उसले पनि गरेन, यसले पनि गरेन भन्ने लाग्न थालेपछि, देख्न थालेपछि काटमार घट्दै गएको हो। हाँस खोज्नु पर्‍यो, किन्नु पर्‍यो पूजापाठका लागि हाँससँगै मन्दिरमा लाइन लाग्ने झन्झटले पुरानो अभ्यास छोड्न थालियो।

तर कुलदेवता थानलाई चाहिँ अझै पनि हाँस नै चढाइन्छ। चाडपर्वका बेला कुलदेवतालाई विधि र परम्परा अनुसारका चिज चढाउनैपर्छ। चाडपर्वबाहेक अन्य खुसियाली र जमघटमा अरू प्राणीको हत्या गर्ने काम नगर भनेर मेरी आमाले बारम्बार भन्नुहुन्थ्यो।

चाडपर्व खासगरी नवमीलाई चढाउने विधि भने पूरा गर्नैपर्छ भनेर उहाँले हामीलाई सिकाउनुहुन्थ्यो। हाँस घरमै पालेको हो भने हामी काट्दैनथ्यौं। बलि चढाउन बाहिरबाटै किन्ने गथ्यौं।

मैले पाटन हाइस्कूलमा पढें। पूर्वमुख्यसचिव तीर्थमान शाक्य, वनस्पति विभागका पूर्वडाइरेक्टर मधुसूदन विष्ट हामीसँगै एउटै विद्यालयमा पढेका हौं। टोलका साथीहरूसँग खुसियाली साट्दै चंगा उढाउने गर्थ्यौं। चंगा किन्नलाई बुवा आमालाई फकाउनुपर्थ्यो।

त्यो बेला चंगा र धागोको भाउ लगभग एकनासको हुन्थ्यो। त्यसैले साथीको राम्रो र महँगो चंगा रहेछ, मेरोचाहिँ सस्तो परेछ भन्ने हुँदैनथ्यो। टाढा गएर चंगा उडाउन बुवा आमाले दिनुहुँदैनथ्यो। माहोल यस्तो हुथ्यो कि, चंगा उडाएको बेलामा भोक तिर्खा लागेको ख्यालै हुन्नथ्यो। अहिलेका बच्चाहरू चंगा उडाउने भन्दा पनि मोबाइलमा व्यस्त हुन्छन्।

साना बच्चाहरूमा खासगरी दशैंमा मासु र तिहारमा सेल खान पाइने भयो भन्दै खुशी हुन्थ्यौं। केटाहरू चंगा उडाउन पाइने भयो भन्दै निकै दंग पर्थ्यौं। घटस्थापनादेखि अष्टमी, नवमी, एकादशीमा निकै भोज हुन्थ्यो। इष्टमित्र, दिदी फुपूहरूसबै सबै भेटघाट हुने भएकाले धेरै रमाइलो हुन्थ्यो।

दशैंमा मासु र नयाँ लुगा लगाउन पाउने भनेर दंग पर्थ्यौं। बुवा शिक्षण पेशामा हुनु भएकोले चाडबाडमा हामीलाई नयाँ लुगा लगाउन, मीठो खान खासै समस्या भएन।

तर, अहिले विगतजस्तो दशैं छैन। संस्कृति जोगाउने, बचाउने भन्ने कुरा शब्दमा छ, व्यवहारमा फरक भइरहेको छ। दशैंको मौलिकता फेरिन थालेको छ। मान्छेहरू विभिन्न पेशा, व्यवसाय र आ-आफ्नै व्यस्ततामा छन्। चंगाकै मात्र उदाहरण मात्रै हेर्ने हो भने यो परम्परा विस्तारै घट्दै गएको छ। समाज अहिले तास खेल्ने र अरू क्रियाकलापमा व्यस्त भएको छ।

साइँलो भाइ अमेरिकाको साउथ क्यारोलाइनामा बस्छ। ऊ त्यहाँको हाइड्रोलोजिष्ट हो। माइला भाइ परिवारसहित बेल्जियममा बस्छ। मलाई पनि विदेश जाने अफर आएको थियो, तर उतै गएर बस्न मन लागेन। भाइ, बुहारीहरू नेपाल आउँदा हामीसँगै मिलेर चाडपर्व मान्ने गछौ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved