आईएमई ग्रुपले ल्यायो नेपालमै पहिलोपटक अन्तर्राष्ट्रियस्तरको फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा

नेपालभ्युज

आईएमई ग्रुपले ल्यायो नेपालमै पहिलोपटक अन्तर्राष्ट्रियस्तरको फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा

काठमाडौं । आईएमई ग्रुपको डेढ अर्ब रुपैयाँको लगानीमा नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ । एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग बुधबारदेखि सञ्चालनमा आएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा सो उद्योगबाट उत्पादित फाइबर सिमेन्ट बोर्ड तथा त्यसबाट निर्माण हुने विविध उत्पादनहरूलाई औपचारिक रूपमा सार्वजनिक गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले स्वदेशमै गुणस्तरीय, वातावरणमैत्री र अत्याधुनिक प्रविधिमा आधारित उद्योगको स्थापना हुनु नेपालको औद्योगिक विकासतर्फको महत्त्वपूर्ण पाइला रहेको बताए ।

‘यो उद्योगले केवल आयात प्रतिस्थापन मात्र होइन, निर्माण क्षेत्रलाई दिगो विकासको बाटोमा डोर्याउने विश्वास छ । सरकारले उत्पादनमुखी लगानीलाई सधैं प्रोत्साहन दिनेछ,’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी कच्चा पदार्थ र स्थानीय स्रोतको प्रयोग गरी निर्माण क्षेत्रमा योगदान पुर्याउने गरी नयाँ उद्योग स्थापना गरेको बताए । यो सिमेन्ट नेपालमै उत्पादन हुने भएकाले यसले देशभित्र रोजगारी सिर्जना गर्ने उल्लेख गरे ।

अध्यक्ष ढकालले आयात प्रतिस्थापन भई ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिनबाट जोगिँदा आत्मनिर्भर अर्थतन्त्रतर्फको मार्ग प्रशस्त गर्ने बताए । स्वदेशी सीप, स्थानीय स्रोत र सम्भावनामार्फत नेपालभित्रै अन्तर्राष्ट्रियस्तरका निर्माण सामग्रीको उत्पादन सम्भव भएको सन्देश यस उद्योगले दिएको पनि उनको भनाइ थियो ।

एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–६ मा अवस्थित छ । यो उद्योगमा कच्चा पदार्थ मिसावटदेखि बोर्ड कटिङ, प्रेसिङ र ड्रइङसम्मका सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा अटोमेटेड प्रविधिमा आधारित छन् । उद्योगले दैनिक ७५ हजार स्क्वायर फिट सिमेण्ट फाइवर बोर्ड उत्पादन गर्न सक्ने क्षमता राख्ने आईएमई ग्रुपले जनाएको छ । यहाँ उत्पादित बोर्डहरू ४ फिट लम्बाइ, ८ फिट चौडाइ, र ४ एमएमदेखि ३० एमएम मोटाइमा उपलब्ध छन् । यी बोर्डहरू लचकदार, अग्नि–प्रतिरोधी, घाम–पानीले असर नपर्ने, वातावरणमैत्री तथा अत्यन्तै टिकाउ छन् ।

फाइबर सिमेन्ट बोर्डको प्रयोग भवनको बाहिरी भाग, पाटीशन, फल्स सिलिङ, मोडुलर किचन, इको प्यानललगायत विभिन्न संरचनामा गरिन्छ । यहाँसम्म कि इँटा र प्लास्टरको विकल्पमा पूर्ण संरचना निर्माणसमेत गर्न सकिन्छ, जुन १०–१५ दिनमै तयार पार्न सकिने भएकाले यसको माग नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा समेत तीव्र रूपमा बढ्दो छ ।

‘भूकम्प, बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपका बेला आपत्कालीन संरचना निर्माणमा समेत यस उद्योगका उत्पादित बोर्डहरू छिटो, सस्तो र दिगो विकल्प बन्ने छन् । प्लास्टर वा रङ्गको झन्झट नहुने भएकाले समय र लागतमा उल्लेखनीय बचत हुनेछ,’ कार्यक्रममा जानकारी दिइयो ।

यस उद्योगले स्थानीय रोजगार प्रवद्र्धनमा जोड दिएको आईएमई ग्रुपको दाबी छ । कम्पनीका अनुसार यसबाट हाल करिब २०० जनाले प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाएका छन्, जसमा ९८ प्रतिशतभन्दा बढी स्थानीय जनशक्ति र ४० प्रतिशतभन्दा बढी महिला कामदार छन् ।

उनीहरूले प्रोसेससङदेखि प्याकिङसम्मका सबै काममा संलग्न छन् । एभरेष्ट फाइबर सिमेन्ट बोर्ड प्रालिले वातावरणमैत्री, गुणस्तरीय र प्रतिस्पर्धी उत्पादनमार्फत निर्माण क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने लक्ष्य लिइएको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved