नेपालको हस्तकला प्रवर्द्धन गर्न आईआरजीडीडी र नेपाल हस्तकला महासंघबीच समझदारी पत्रमा हस्ताक्षर

नेपालभ्युज

नेपालको हस्तकला प्रवर्द्धन गर्न आईआरजीडीडी र नेपाल हस्तकला महासंघबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । नेपाली हस्तकलालाई विश्वव्यापी पहिचान दिलाउन र यस क्षेत्रको दिगो विकासका लागि इन्टरनेशनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी) र नेपाल हस्तकला महासंघबीच एक महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको छ। बुधबार आयोजित विशेष कार्यक्रममा आईआरजीडीडीकी अध्यक्ष तथा पूर्वराजदूत डा. शर्मिला पराजुली ढकाल र नेपाल हस्तकला महासंघका अध्यक्ष रवीन्द्र शाक्यले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

दुवै संस्थाले नेपाली हस्तकलालाई विश्वव्यापी ब्रान्डका रूपमा स्थापित गर्न कूटनीति र सहकार्यलाई महत्वपूर्ण साधनका रूपमा हेरेका छन्। यो समझदारीपत्रको मुख्य उद्देश्य आईआरजीडीडी र महासंघबीचको सहकार्यलाई नेपाली हस्तकलाको प्रवर्द्धन, कारीगर सशक्तिकरण, अनुसन्धान, नीतिगत संवाद, र यस क्षेत्रको प्रभाव तथा दृश्यतालाई अधिकतम बनाउन संयुक्त रूपमा अगाडि बढाउनु रहेको छ। यसमा प्रत्येक पक्षको तुलनात्मक शक्तिलाई उपयोग गरिनेछ।

सम्झौतापत्रले नेपालको हस्तकला क्षेत्रको प्रवर्द्धन र देशको अर्थतन्त्रको दिगो विकासलाई समर्थन गर्ने दुवै पक्षको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। परम्परागत शिल्पको सांस्कृतिक र आर्थिक महत्त्वलाई स्वीकार गर्दै, दुवै पक्ष अनुसन्धान, कूटनीति, नवप्रवर्तन र वकालतमा संयुक्त प्रयासहरू मार्फत कारीगरहरूलाई सशक्त बनाउन, सम्पदाको संरक्षण गर्न र अन्तर्राष्ट्रिय दृश्यता बढाउन कटिबद्ध छन्।

आईआरजीडीडीकी अध्यक्ष डा. ढकालले यो सहकार्य नेपाली हस्तकला क्षेत्रलाई उचाइमा पुर्‍याउने कार्यको सुरुवात मात्र भएको बताइन्। उनले भनिन्, “यो सम्झौताले हामीलाई मिलेर काम गर्ने बाटो खोलेको छ। नेपाली जनताको हितका लागि मिलेर काम गरौं, एकअर्कालाई सहयोग गरौं। नेपाली उत्पादन र नेपालको प्रवर्द्धन गर्न नेपाल हस्तकला महासंघसँग सहकार्य गर्न पाउँदा आईआरजीडीडी खुसी छ। हाम्रो उद्देश्य नेपालको सौर्य कूटनीतिलाई थप बलियो र प्रभावकारी बनाउँदै लानु हो।”

नेपाल हस्तकला महासंघका अध्यक्ष शाक्यले दुई संस्थाबीचको सहकार्यलाई महत्वपूर्ण कदमको संज्ञा दिए। उनले भने, “यो सम्झौतापत्रले हस्तकला क्षेत्रलाई मात्र नभई देशलाई पनि फाइदा पुर्‍याउनेछ। हामी विकासशील देशहरूमा बजारहरूलाई लक्षित गर्दैछौं। अब, हामी मुख्यतया महिला र युवाहरूसँग काम गरिरहेका छौं, किनभने सरकारले आफ्नो नीतिहरूमा महिला र युवाहरूलाई पनि प्राथमिकता दिएको छ। हामी आशा गर्छौं कि आईआरजीडीडीजस्ता संस्थाले हामीलाई प्रवद्र्धन गर्न सहयोग गर्न सक्छ। हामी विश्वमा नेपालको हस्तकला फैलाउन चाहन्छौं र यसले हस्तकला बजारलाई मात्र नभई देशको लागि पनि प्रवर्द्धन गर्नेछ।”

समझदारीपत्र अनुसार, दुवै संस्थाले साझा विषयगत प्राथमिकताहरूसँग मिलेर नेपाली उत्पादनहरूको प्रवद्र्धनका लागि योजना बनाई कार्यान्वयन पहलहरूमा आधारित भई काम गर्नेछन्। यसबाहेक, उत्पादन प्रवृत्ति, अन्तर्राष्ट्रिय मापदण्ड र बजार अवसरहरूमा संयुक्त अनुसन्धानका लागि शिक्षा र अनुसन्धान क्षेत्रमा सहकार्य गरिनेछ। डिजाइन, नवप्रवर्तन, दिगोपन र गुणस्तरको बारेमा कारीगरहरूको ज्ञान सुधार गर्न प्रशिक्षण कार्यक्रमहरू र कार्यशालाहरू आयोजना गरिनेछ।

गुणस्तर सुधार र उत्पादन विकास अन्तर्गत, उनीहरूले अन्तर्राष्ट्रिय मागहरू पूरा गर्न उत्पादनको गुणस्तर र प्याकेजिङ सुधार गर्ने बारे प्राविधिक मार्गदर्शन प्रदान गर्नेछन्। परम्परागत विधिहरू र सांस्कृतिक महत्त्वको सम्मान र संरक्षण गर्दै नवप्रवर्तनको खोजी गरिनेछ।

सहयोगको अर्को महत्वपूर्ण क्षेत्र व्यापारिक सम्बन्ध र बजार पहुँच हो, जहाँ उनीहरूले नेपाली कारीगरहरूलाई विश्वव्यापी खरीददारहरू र साझेदारहरूसँग जोड्नका लागि बीटुबी (व्यवसाय–देखि–व्यवसाय) कार्यक्रमहरू आयोजना गर्नेछन्। सामूहिक पहुँच र स्थिति बढाउन सह–ब्रान्डेड प्लेटफर्महरू र डिजिटल आउटरिच च्यानलहरू मार्फत साझा दृश्यताका अवसरहरू पनि खोजिनेछ।

समझदारीपत्रको अर्को महत्त्वपूर्ण पक्ष नीति र कानुनी क्षेत्र हो। हस्तकला क्षेत्रलाई समर्थन गर्न नीति सिफारिसहरूमा सहकार्य गरिनेछ र उद्योगको आर्थिक र सांस्कृतिक मूल्यको बारेमा सरोकारवालाहरूमाझ जागरूकता बढाइनेछ। प्रत्येक पक्षले आफ्नो संस्थागत शक्ति अनुसार योगदान गर्नेछ। यस सहकार्य अन्तर्गत विकसित उत्पादनहरूको गुणस्तर र प्रामाणिकता सुनिश्चित गर्न हस्तकला महासंघले नेतृत्व लिनेछ। आईआरजीडीडीले आफ्नो कूटनीतिक र ज्ञान–आधारित प्लेटफर्महरू मार्फत रणनीतिक दृश्यता र विश्वव्यापी प्रवर्द्धन बढाउनमा ध्यान केन्द्रित गर्नेछ।

यो सम्झौतापत्र हस्ताक्षरको मितिबाट प्रभावकारी हुनेछ र पाँच (५) वर्षसम्म मान्य रहनेछ। प्रगतिको मूल्याङ्कन गर्न र आवश्यकता अनुसार समायोजन गर्न पहिलो छ (६) महिना भित्र मध्यावधि समीक्षा गरिनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved