पुर्खा सम्भ्रान्त वर्गका नै भए पनि विविध कारणले केही वर्ष वैदेशिक रोजगारीमा गई नेपाल फर्किएका छन्, सूर्यप्रसाद कोइराला । घर फर्केपछि अब गाउँमै केही गर्ने सोचमा पुग्छन् उनी । निष्कर्ष निस्किन्छ सहकारी खोल्ने विकल्प ।
सूर्यप्रसादले त्यसपछि एउटा सहकारी संस्था खोल्छन् । सो सहकारीमार्फत सबै गाउँलेबाट एक–एक रुपैयाँ सङ्कलन गरी बचत गर्ने र सस्तो व्याजमा ऋण दिने गरेका कारण उनले राम्रो छवि बनाउँछन् । छोटो समयमा नै सबैको मन जित्न सफल सूर्यप्रसादको मनमा राजनीतिको भूत चढ्छ । सहकारीको सबै जिम्मा कर्मचारी चन्द्रकाजी गुरुङलाई लगाउँछन् । अनि आफू राजनीतितिर लाग्छन् । स्थानीय तहको निर्वाचनमा होमिन्छन् र विजय हासिल गर्छन् । सत्ता सञ्चालनको बागडोर सम्हालेयता सूर्यप्रसादले व्यक्तिगत स्वार्थमा केन्द्रित भएर सहकारी डुबाउँछन् र त्यसको सिंगो असर कर्मचारीदेखि सर्वसाधारणसम्ममा पर्छ अनि त्यसले निम्त्याउँछ भाँडभैलो ।
जेठ ३० गतेदेखि देशभर प्रदर्शन भइरहेको चलचित्र ‘महाभोज’को कथाको सार हो यो। चलचित्रमा सहकारी पीडितको कथालाई विशेष प्राथमिकता दिएर प्रस्तुत गरिएको छ ।
दिनेश राउतद्वारा निर्देशित ‘महाभोज’ यस्तो समयमा प्रदर्शनमा आएको छ जुनबेला सहकारी ठगीमा परेर कैयौँ मानिस घरबारविहीन र मानसिक रूपमा विचलित हुनु परेको छ । पछिल्लो समय मुलुकमा देखिएको सहकारीसम्बन्धी समस्या र त्यसबाट भोग्नु परेको पीडालाई निर्देशकले कथावस्तु बनाएर समसामयिक सामाजिक मुद्दालाई चलचित्रको माध्यमबाट उजागर गर्न खोजेका छन् ।
कतिपय सहकारी पीडित परिवार, समाज र सबैको नजर तथा व्यवहारबाट सामाजिक रूपमै बहिष्करणमा परेको घटना पर्दामा हेरिरहँदा वास्तविकजस्तै लाग्छ । सहकारी पीडितले बाध्य भएर ज्यान गुमाउनु परेको दृश्यले भावुक बनाउँछ । समाजमा विद्यमान हुनेखाने र हुँदा खाने वर्गबीचको विभेदको ठूलो खाडललाई पनि चलचित्रमा देख्न सकिन्छ ।
समग्रमा समाजको वास्तविकतालाई प्रस्तुत गर्न चलचित्र सफल भएको छ । घटना विशेषलाई समातेर आम मानिसका कथालाई पर्दामा देखाउन सक्नु चलचित्रको सकारात्मक पक्ष हो ।
चलचित्र ‘महाभोज’ले मनोरञ्जनात्मक र भावनात्मक दुवै तरिकाले गाउँको सामान्य दिनचर्या, गरिबी र परिवारको मर्मस्पर्शी कथालाई सशक्त ढङ्गले पर्दामा उतारेको छ । त्यस्तै चलचित्र निर्माण पक्षले कथा छायाङ्कनका लागि भूगोल, र वातावरणीय परिवेशलाई ध्यान दिएको छ ।
कथाका पात्रअनुसार कलाकारहरूले आफ्नो भूमिकालाई न्याय गरेका छन् । चलचित्रको विषयवस्तु अनुसार अभिनयबाट मन जित्न सफल छन् । कथाले पूरै अवधिसम्म दर्शकलाई बाँधेर राख्न सफल छ । एकपछि अर्को जिज्ञासाले समय बितेको पत्तै पाइँदैन ।
पछिल्लो समय नेपाली चलचित्रहरूमा गीतहरू नराखेरै बनाउने प्रचलन बढिरहेको छ । चलचित्र महाभोजको बिचमा कुनै गीत नराखे पनि अन्त्यमा भने नृत्यसहितको एउटा गीत राखिएको छ । जहाँ ममता (मल्लिका महत)को बिहेदेखि निश्चल बस्नेतसम्मलाई देखाइएको छ । कथाले सहकारीको विषयसँगै सहरिया बुहारी र गाउँले सासूबीचको सम्बन्धलाई रमाइलो तवरमा देखाएको छ ।
यस्तै बाबु-छोरा, श्रीमान्-श्रीमतीबीचकोे नोकझोँक, व्यङ्ग्य, पारिवारिक बेमेल तथा सांस्कृतिक रीतिरिवाजलाई पनि सरल ढङ्गबाट प्रस्तुत गरिएको छ ।
चलचित्रले सहकारीका खराब पाटोलाई बढी प्राथमिकता दिएका कारण होला यसका सकारात्मक पक्षलाई भने छुटाएको छ । सहकारीका समस्या देखाए पनि कथा एकतर्फी जस्तो भने देखिँदैन ।
चलचित्रले बोकेको एउटा जबरजस्त सन्देश हो — सहकारी पीडितलाई सरकारले न्याय दिलाउन नसके हुने विद्रोहलाई सरोकारवाला पक्षले थेग्न सक्ने छैनन् । राज्यले पीडितलाई न्याय दिँदैन र उल्टै पीडकको पक्षमा लाग्छ भने विद्रोह नै समाधान हो भन्ने निष्कर्ष ।
सार्वजनिक र निजी क्षेत्रपछिको अर्थतन्त्रको तेस्रो स्तम्भ भनिने सहकारीको विकासक्रम र त्यसले समाजमा, विशेष गरी ग्रामीण क्षेत्रमा, दिएको योगदानको चर्चा नेपालमा धेरै नै गरिन्थ्यो। तर पछिल्ला वर्षहरूमा आएर सहकारी केही पहुँचवाला मानिसहरूका लागि ठगी खाने भाँडोको रूपमा स्थापित हुन पुगेको छ । यसले पूरै सहकारी क्षेत्रलाई नै बदनाम गरेको छ ।
चलचित्रले सहकारीको पैसा अपचलन एउटा प्रवृत्तिका रूपमा देखा परेकाले यसप्रति सजग बन्नुपर्ने सन्देश दिएको छ ।
समग्रमा केही कमजोरीबीच चलचित्रले दर्शकको मन जित्न सफल भएको छ । समाजमा जल्दोबल्दो समस्याका रूपमा देखा परेको सहकारी ठगी प्रकरणलाई सामान्य, तर ओझिलो तरिकाले प्रस्तुत गरेका कारण आम सर्वसाधारणको मन छोएको छ । सहकारीमा रकम बचत गरेका, तर फिर्ता नपाएकाहरूले ‘बिर्सिएको घाउ फेरि बल्झिएको’ प्रतिक्रिया दिएका छन् ।
चलचित्रमा देखाइएजस्तै अवस्था सहकारी पीडितहरूको कथा रहेको सुप्रिम सहकारी पीडित संघर्ष समितिका संयोजक विजय नेपाल बताउँछन् । ‘नेपालमा सहकारी पीडित लाखौँ छन्, अब यस्तै स्थिति रह्यो भने २०८४ को निर्वाचनमा जनताले देखाउने छन् । जुन कुरा चलचित्रले पनि सङ्केत गरेको छ’ उनले भने । संयोजक नेपाल बुटवलमा सहकारी पीडितले गरेको आन्दोलनका दृश्य पनि राखेको भए चलचित्र अझै उत्तम हुने सुझाव दिन्छन् ।
चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् । हिमाल कडरियाको निर्माण मा बनेको यस चलचित्रमा सहकारी सञ्चालक सूर्यप्रसादको भूमिका आर्यन सिग्देलले निभाएका छन् भने नयाँ सञ्चालक चन्द्रकाजीको भूमिकामा दयाहाङ राई छन् । यस्तै खगेन्द्र लामिछाने र अञ्जना बराइलीले सहकारी पीडित श्रीमान्-श्रीमतीको रूपमा अभिनय गरेका छन् । सहकारीमा कर्मचारीको रूपमा मल्लिका महतले अभिनय गरेकी छन् भने चलचित्रमा गौमाया गुरुङसँगै मोहन निरौला, बसुन्धरा भुसाल, कमलमणि नेपाल र बुद्धि तामाङको समेत अभिनय रहेको छ ।
नाम ‘महाभोज’ किन राखियो भन्ने चाहिँ दर्शकले १ घण्टा ५० मिनेट लामो चलचित्र हेरिसके पछि पनि बुझ्न भने सक्दैनन्।
Facebook Comment
Comment