रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ ले सुरु गरेको विपन्न नागरिकका लागि राइस कुकर वितरण कार्यक्रमको शनिबार उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
पूर्वप्रधानमन्त्री प्रचण्डले लामो बलिदानीपूर्ण आन्दोलनको बलमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगै एक चरणको राजनीति क्रान्ति पूरा भएको र अब समाजवादी क्रान्तिको तयारीमा जुट्नुपर्ने उल्लेख गरे ।

समाजवादका लागि जनताको आर्थिक–सामाजिक रुपान्तरण अनिवार्य भएकाले कम्युनिष्ट क्रान्तिकारीहरू अब यसमै केन्द्रित हुनुपर्ने उनले बताए ।
उनले रौतहट क्रान्तिकारी कम्युनिष्टहरू किल्ला भएको उल्लेख गर्दै यहाँ भएको किसान विद्रोहले देशभर सामन्तवादविरुद्धको आन्दोलनलाई प्रेरणा दिएको बताए ।
सो अवसरमा प्रचण्डले ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामनासमेत दिए । महिलाले पाएको राजनीतिक अधिकारको रक्षा र कार्यान्वयन गर्दै हरेक क्षेत्रमा समानुपातिक रुपमा महिला सहभागिता बढाउन सङ्कल्प गर्नुपर्ने उनले बताए ।
हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी, तराई मधेस जागरण अभियान शनिबार रौतहटमा रहेको छ । लौकाहामा जनसभासहित विभिन्न पालिकामा जनभेटघाटका कार्यक्रम रहेका छन् ।
Facebook Comment
Comment