राष्ट्रियसभा निर्वाचन

मधेशमा मतगणना शुरु

अधिकृत प्याकुरेलले प्रदेशसभातर्फ १०२ र स्थानीय तहतर्फ २६४ मत खसेको बताए। उनले प्रदेशसभा सदस्यतर्फ दुई जना र स्थानीय तहतर्फ चार जना मतदानमा अनुपस्थित भएको जानकारी दिए।

मधेशमा मतगणना शुरु

जनकपुरधाम। मधेश प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आज सम्पन्न निर्वाचनको मतगणना शुरु भएको छ।

प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले मधेश प्रदेशमा ३७२ मतदाता रहेकोमा ३६६ मत खसेको जानकारी दिए।

अधिकृत प्याकुरेलले प्रदेशसभातर्फ १०२ र स्थानीय तहतर्फ २६४ मत खसेको बताए। उनले प्रदेशसभा सदस्यतर्फ दुई जना र स्थानीय तहतर्फ चार जना मतदानमा अनुपस्थित भएको जानकारी दिए।

प्रदेशसभा सदस्यतर्फ ३६ महिला र ६६ पुरुष तथा स्थानीय तहतर्फ १३२ महिला र १३२ पुरुष मतदानमा सहभागी भएका छन्।

प्रदेशसभा सदस्यतर्फ सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित नेकपा एकीकृत समाजवादी पार्टीका सांसद गोविन्द बहादुर न्यौपाने र पर्साबाट जनता समाजवादी पार्टी नेपालका समानूपातिक सांसद रागिनी देवी वरनवाल अनुपस्थित रहेका थिए।

राष्ट्रियसभा निर्वाचनका लागि सत्ता घटक पाँच दलको गठबन्धन छ भने नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच गठबन्धन छ। यो प्रदेशमा एकजना अन्य र महिला तर्फको गरी दुईजना पदको लागि निर्वाचन भएको हो।

पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्रकी उर्मिला अर्याल र जसपाका महमद खालिद उम्मेदवार छन्। यस्तै, एमाले लोसपा गठबन्धनबाट अन्यतर्फ एमालेका उसमान अन्सारी र महिलातर्फ लोसपाकी रुपा यादव उम्मेदवार छन्।

गठबन्धन गर्ने बेला एमालेबाट महिलातर्फ उम्मेदवारी दिएकी एमालेकी विना देवी साहले उम्मदेवारी फिर्ता लिएकी थिइन्। मधेश प्रदेशबाट शशिकला दाहाल र सुमनराज प्याकुरेलको कार्यकाल आगामी २० फागुनमा सकिँदै छ।

यो प्रदेशमा १०४ प्रदेशसभा सदस्य छन्। जसमा जसपा ३९, लोसपा १६, एमाले ८, कांग्रेस १९, एकीकृत समाजवादी १३, माओवादी आठ र नेपाल संघीय समाजवादी पार्टीका एक सांसद छन्।

यहाँ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २६८ जना छन्। जसअनुसार प्रदेश २ मा कुल मतभार ९ हजार ८१६ छ।

यी मतदाताको राजनीतिक दलका आधारमा मतभार हेर्दा कांग्रेसको २ हजार २६२, माओवादी केन्द्रको १ हजार १९४, एमालेको ९४२, नेकपा एकीकृत समाजवादीको ७५०, जसपाको २ हजार ९८८, लोसपाको १ हजार ५६०, लोकतान्त्रिक फोरमको १०८, संघीय समाजवादी पार्टीको ४८ र २ पालिकाबाट स्वतन्त्र ३६ मत छ। फोरम लोकतान्त्रिक कांग्रेसमा आइसकेकाले कांग्रेससँग अब २ हजार ३७० मतभार रहेको छ।

स्थानीय तहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ। जसअनुसार स्थानीय तहका ४ हजार ८२४ र प्रदेशसभाका ४ हजार ९९२ मतभार रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved