लेक उक्लिएका भेडाका बथानले ढाकिएको रिग क्षेत्र

नेपालभ्युज

लेक उक्लिएका भेडाका बथानले ढाकिएको रिग क्षेत्र

बागलुङ । अहिले रिग ताल वरपर पर्यटकको भन्दा गोठाला र भेडाबाख्राको चहलपहल बाक्लो छ । बर्खा लाग्न सुरु भएसँगै बुकी उक्लिएका भेडीगोठ अबको केही साता रिग ताल क्षेत्रमै रहने छन् ।

सिरसिर चल्ने सिरेठो, भर्खर उम्रिएका भुइँ, घाँसमा एकोहोरो पाराले चरिरहेका भेडाबाख्रा । ताल छेउको ठूलो चौर हजारौँ सङ्ख्याका सेताम्य भेडाबाख्राले ढाकिँएको दृश्य रमाइलो देखिन्छ ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गभन्दा केही मास्थिरपट्टी रहेको तालको सुन्तरतालाई भेडाको बथानले अझ बढी आकर्षित बनाइदिएको छ ।

यही जेठ पहिलो सातादेखि नै बुकी उक्लिन थालेका भेडाका बथान अबको केही दिनमा रिग क्षेत्र छोडी सक्छन् ।

बागलुङ, रोल्पा र पूर्वी रूकुमका भेडापालक किसान गोठ छाउनका लाग चाहिने त्रिपाल, बर्खाभरि खाने खर्च र ओड्ने दोछ्याउने विस्तारसहित यहाँ आइ पुगेका हुन् ।

रिग ताल क्षेत्रमा बागलुङको निसीखोला गाउँपालिका–६ का किसानले काठ, ढुङ्गा र जस्तापाताले गोठ बनाएका छन् ।

बुकी नउक्लिदासम्म उनीहरू यही बस्ने गर्छ । यति बेला थोरै मात्रै भेडापालक लेकमा पुगेका छन् । एक साताभित्र बेँसीमा रहेका सबै भेडाबाख्रा लेकमा पुग्छन् ।

तीन हजार दुई सय मिटरको उचाइमा रहेको रिग ताल क्षेत्रबाट चार हजार मिटरको उचाइसम्म पुग्ने तयारीमा यहाँ आइपुगेका गोठाला छन् । अहिले रिग ताल वरपर करिब पाँच हजारको हाराहारी भेडाबाख्रा छन् ।

यी भेडाबाख्रा त्यसभन्दा माथिल्लो क्षेत्र बुकीमा पुगे भने बेँसीमा रहेका अन्य गोठालाले आफ्ना पशुचौपाया रिग तालमा लैजान सुरु गर्छन् ।

एकै परिवारले पाँच सयदेखि तीन हजारसम्म भेडाबाख्रा पाल्ने हुँदा एकै पटक रिग क्षेत्रमा व्यवस्थापन गर्न सकिँदैन ।

त्यसले गर्दा पालैपालो लेक उक्लने गर्छन् । लेक चढ्ने याम सुरु भएको हुँदा अघिअघि भेडाबाख्रा पछिपछि गोठाला खर्चपर्च बोकेर हिँडिरहेका देखिन्छन् ।

जाडो र हिमपात छल्नका लागि गत मंसिरमा बेँसी झरेका भेडीगोठ जेठ पहिलो सातदेखिनै लेकतिर उक्लिन थालेका हन् ।

तल्लो क्षेत्रमा गर्मी बढेसँगै भेडीगोठ लेक सार्न थालेको निसीखोला गाउँपालिका–६ का भेडापालक लालसिंह घर्ती मगरले बताए ।

६ महिना बेँसीमा बस्दा घाँस सकिएपछि लेक चढ्न थालेको उनको भनाइ छ । यो सिजनमा बेँसीमा भन्दा बुकीमा भेँडाबाख्राका लागि पोषिलो घाँस पर्याप्त पाइने हुँदा जेठ महिनादेखि नै लेक चढ्न सुरु गरेको घर्ती मगर बताउँछन् ।

अहिले लेक चढ्न थालेका भेडीगोठाले दसैँ तिहार बेला मात्रै बेँसी झर्ने उनको भनाइ छ ।

बेला–बेलामा चर्ख लिन झर्ने गोठाला चार महिना लेकमै बिताउने घर्ती मगरले बताए । लेकमा बस्दा निकै दुःख हुने भन्दै यो बाउबाजेको पालादेखि यो पेसा गर्दै आएको हुँदा आफू पनि यसैमा लागेको उनको भनाइ छ ।

‘लेकबेँसी गर्ने चलन त यो हाम्रो पुर्खादेखि हुँदै आएको हो, एउटै घरमा एक हजारभन्दा धेरै वस्तुभाउ पाल्ने हुँदा बेँसीमा मात्रै राख्न सकिदैन, यतिका महिनासम्म गाउँ घरमै राखेर पालियो, अब लेकतिर घाँस पलाउन थाले त्यही भएरमाथि उक्लिन थालेका हौँ, दुई/चार दिनपछि यहाँ (रिग ताल) भन्दामाथि खानीखोला तिर लैजान्छौँ, उतै चार महिना बित्छ, अब घर झर्ने त दसैँ मनाउन हो, कहिलेकाहीँ खर्च सकिएपछि र बिरामी भएपछि घर जान्छौँ ।’

रोल्पाको तेलखोलाका सन्तोष घर्ती पनि सात सय भेडाबाख्रा लिएर रिग क्षेत्रमा आएका छन् । रोल्पाको माथिल्लो क्षेत्र हुँदा रिग क्षेत्रमा आएका उनी मङ्सिरमा मात्रै बेँसी झर्छन् ।

करिब तीन महिनाका लागि पुग्ने आटो, पिठो र नुन लिएर आएको सुनाउँदै तीज बेला एक पटक गाउँ झर्ने उनले सुनाए ।

यस वर्ष दुई सय भेडा बिक्रीका लागि तयार गरीरहेको भन्दै दसैँ बेला बजार जाने र फर्किएपछि गाउँ झर्ने उनको भनाइ छ । यस वर्ष लामो समय खडेरी पर्दा पहिलोको जस्तो लेकमा घाँस नपलाएको उनी बताउँछन् ।

बर्खाको घाँसले भेडाबाख्रा सप्रिने र दसैँमा राम्रो मूल्य पाइने उनले जानकारी दिए ।

‘मैले भेडा पाल्न थालेको १८ वर्ष भयो, हाम्रो पालामा धेरै मान्छेहरू भेडा पाल्न रूचाउँथे, नयाँ युवा पुस्ताले यस तर्फ खास्सै चासो नदिँदा पहिलेको जस्तो चहलपहल छैन, परम्परागत भेडीगोठ राख्ने प्रचलन लोप हुन्छ कि भन्ने डर छ, पहिले बुकीमा लाखको हाराहारीमा भेडाबाख्रा हुन्थे, अहिले केही छैन,’ उनले भने, ‘यस वर्ष २०/२२ लाख आम्दानी हुने गरी भेडाबाख्रा तयारी छन्, चार सय भेडा ब्याउने छन्, पहिलेको जस्तो आम्दानी हुँदैन पहिले वार्षिक ४० लाख आम्दानी हुन्थ्यो, अबको एक हप्तामा सबैभन्दा माथिल्लो क्षेत्रमा पुग्छौँ ।’ रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved