जनकपुरधाम। रौतहटको गरुडा नगरपालिका-१ स्थित जयनगर सडक खण्डमा मंगलबार जन्ती चढेको भारतीय नम्बर प्लेटको स्करपियो दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ।
मृत्यु हुनेमा गढीमाई-३ का १५ वर्षीय शेख अजिबुल्लाह रहेका इलाका प्रहरी गरुडाका डीएसपी श्रीराम भण्डारीले बताए। उनका अनुसार सख्त घाइते शेखलाई थप उपचारका लागि वीरगन्ज लैजाँदै गर्दा मृत्यु भएसँगै उक्त गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको हो।
यसअघि २२ वर्षीय शेख अरस, गढीमाई नगरपालिका–३ का १६ वर्षीय शेख नैवसाद, २२ वर्षीय शेख सैनुल्हा, ५५ वर्षीय मोसाफिर अन्सारी र २५ वर्षी शेख छोटुको घटनास्थलमै मृत्यु भएको थियो।
बीआर०५ पिए ६९५३ को भारतीय नम्बर प्लेटको स्करपियो रौतहटको पर्सा गम्हरियाबाट परोहा नगरपालिकाको नरकटिया जन्ती गएको थियो। विवाह कार्यक्रम सकेर घर फर्कने क्रममा रौतहटको गरुडा नगरपालिका-१ स्थित जयनगर सडक खण्डमा मंगलबार दिउँसो सवा ४ बजे गाडी दुर्घटनामा परेको हो।
गाडी तीव्र गतिका कारण बिजुलीको पोलमा ठोक्किएर सडकबाट झण्डै २० फिट तल खसेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए। गम्हरियाको मोहम्मद सलाउद्दितनका छोरा मोहम्मद इमरानलाई दुलही लिन २५ ओटाभन्दा बढी गाडीमा जन्ती गएका थिए।
जन्ती बोकेको उक्त जिपमा नौ जना सवार रहेका थिए। दुर्घटनापछि घाइतेहरूको गरुडाको ग्रान्डी, हेल्थल्यान्ड र सुकदेव चोकको अस्पतालमा उपचार गरिएको थियो। घाइते सबैलाई थप उपचारका लागि वीरगन्ज लगिएको छ।
दुर्घटनामा मृतक र घाइते सबै एउटै गाउँका परेको प्रदेश सांसद शेख फुलबाबुले बताए। फुलबाबु त्यही गाउँका हुन्। “सिंगो गाउँ शोकमा डुबेको छ। कल्पना नै गर्न नसकेको घटना भयो,” उनले भने, ‘जन्ती फर्कंदै गर्दा दुर्घटना हुन पुग्यो। सबै आफन्तहरू नै परेका छन्। गाउँमा अहिले रुवाबासी चलेको छ।”
Facebook Comment
Comment