काठमाडौं । बालकुमारीमा शुक्रबार भएको आन्दोलनमा पहिले मान्छे मारिएपछि आक्रोशित भीडले मन्त्रीको गाडी जलाएको रहस्य खुलेको छ ।
घटनाका बखत खिचिएको भिडिओ हेर्दा र प्रत्यक्षदर्शीका भनाइअनुसार विश्लेषण गर्दा गोली चलेर प्रदर्शनकारी ढलेपछि भीड आक्रोशित भएर आगजनी भएको खुलेको हो । प्रहरीको गोलीले वीरेन्द्र शाह ठकुरीको मृत्यू र लाठी र बन्दुकको कुन्दा प्रहारबाट सुजन रावतको आगजनीभन्दा पहिल्यै मृत्यु भएको थियो ।
रोजगारीका लागि कोरिया जान भाषा परीक्षा तयारी गरिरहेका दुई युवाको ज्यान जाने गरी घटना हुनुमा प्रहरी प्रशासनको दमन कारक रहेको देखिएको हो ।
बालकुमारीस्थित ईपीएस कोरिया शाखामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षामा आवेदन भर्न अदालत गएका १८ युवाले फारम भर्दै थिए।
फारम भर्न नपाएका विद्यार्थीहरू आफूहरू पनि सहभागी हुनुपर्ने भन्दै नाराबाजी गर्न थाले । कार्यालयमा १० बजे देखि नै भीड थियो । केही प्रहरीहरू आएका थिए । फारम भर्न नपाएकाहरूले नाराबाजी गर्न थालेपछि महानगरीय प्रहरी वृत्त ललितपुरबाट थप प्रहरी आए ।
उनीहरू एकै ठाउँमा थिएनन् । नजिक नजिक सानोसानो झुन्डमा नाराबाजी गर्दै थिए । बालकुमारीको सडक छेउमा प्रदर्शन गरिरहेका मध्ये एउटा सानो समूह अलि पर जाँदै थियो । प्रहरीले रोक्यो ।
विद्यार्थीहरूले ढुङ्गा हान्न थाले । अरू समूहहरूमा प्रदर्शन गरिरहेका पनि त्यही भीडमा मिसिन आए । भीड ठूलो भएपछि उताबाट प्रहरीले अश्रुग्याँस हान्यो । भीड तितरबितर भयो । फेरि भीड जम्मा हुने र प्रदर्शन हुने र अश्रुग्याँस आएपछि तितरबितर भइरह्यो । करिब एक घन्ट जति यो क्रम चलेपछि प्रहरीले गोली चलायो ।
बुवालाई औषधिको गोली लिएर आउँछु भन्थे, बन्दुकको गोली लागेर ढले
‘‘मान्छे मर्यो, मान्छे मर्यो’ भन्दै भीडको भागाभाग भयो । दुई जना ढले । त्यसपछि आक्रोशित भीड ग्वार्काे आकाशे पुलमुनि भेला भएर गाडी जलाएको फेसबुक टिकटकलगायत सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा देखिन्छ ।
घटनापछि विभिन्न मिडियामा आफ्ना भनाइ राख्दै गरेका प्रत्यक्षदर्शीले पनि पहिला मान्छे मारिएपछि भीड आक्रोशित भएको बताएका छन् । उनीहरूले भनेका छन्, ‘‘हामीले देखिरहेका थियौँ । केही बेर दोहोरो झडप भयो । गोली चलेको आवाज आयो । मान्छे मर्यो, मान्छे मर्यो भन्दै भागाभाग भयो । दुई जना ढलेका थिए । भागेकाहरू फेरि फेरि फर्किएर ढलेकालाई घिच्च्याउँदै लगेका थिए । त्यसको केहीबेरपछि गाडीमा आगो लागेको थियो ।’’
मृतक वीरेन्द्र शाहलाई २ राउन्ड गोली लागेको प्रहरीले नै उल्लेख गरिसकेको छ । अर्का मृतक सुजन रावतको छातीलगायत शरीरका विभिन्न भागमा कुटपिटका नीलडाम देखिएको छ । घाइतेको शरीरमा पनि गोली लागेको छ ।
घटनास्थलमा घटिएका सुरक्षा अधिकारीहरूका अनुसार गाडीमा आगो लाग्नु अगावै पीएसओले मन्त्रीलाई सुरक्षित ठाउँतर्फ मन्त्रीलाई लग्दै थिए । अगाडि गोली चलेपछि भागेर आएका भीडले मन्त्रीको गाडीलाई घेरे । लगत्तै आगजनी र तोडफोड सुरु भएको थियो ।
त्यसपछि आगो लगाउन पुगेकामाथि पनि प्रहरीले गोली चलायो । लाठी र बन्दुकको कुन्दा प्रहार गर्यो। त्यसबेला पनि धेरै विद्यार्थीहरू घाइते भएका थिए ।
तर, सुरक्षा अधिकारीहरूले मन्त्रीको गाडी आगजनी गरेपछि गोली चलाउनुपर्ने अवस्था आएको भन्दै घटनालाई मोड्न खोजेका छन् ।
प्रहरीले भने गाडीमा आगजनी भएपछि गोली हानिएको दाबी गरेको छ । सो क्रममा एक जनाको ज्यान गएको र अर्कालाई प्रहरीको कुटाइबाट गोली लागेर मृत्यु भएको बताएको हो । एक जना विद्यार्थीमाथि चलाइएको गोली भने झोलामा बोकेको मोबाइलले रोकेको थियो ।
घटनाबारे जानकार एक जना प्रहरी अधिकृत भन्छन्, ‘‘मन्त्रीको गाडी जलाउनुअघि नै गोली चलेको देखिन्छ । सेल्फ लोडिङ्ग राइफल (एसएलआर)बाट ३० राउन्ड गोली चलाइएको देखियो ।’’
घटनाबारे प्रहरी नायव महानिरीक्षक लालमणि आचार्य नेतृत्वको छानबिन समितिले छानबिन गरिरहेको छ ।
हेर्नुहोस् भिडिओ
सुजनको मृत्युले शोकमा दैलेखको महाबु स् ढल्यो ‘विधवा’ आमाको खम्बा, बेसहारा भए भाइबहिनी
बालकुमारी प्रदर्शन : झोलामा बोकेको मोबाइलले गोली छेकेर जोगियो एक विद्यार्थीको ज्यान
प्रहरीसँगको झडपमा घाइते भएका अर्का युवकको पनि उपचारका क्रममा मृत्यु
मन्त्रीको गाडी जलाएपछि प्रदर्शनकारीमाथि धरपकड तीव्र, दर्जनभन्दा बढी समातिए (फोटो फिचर)
Facebook Comment
Comment