काठमाडौं। नक्कली शरणार्थी प्रकरणमा कुनै न कुनै रूपमा संलग्न भएको प्रारम्भिक निष्कर्ष निकाल्दै जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाँणसहित पक्राउ परेका सोह्र जनालाई जेल पठाएको छ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले तत्काल प्राप्त प्रमाणबाट प्रतिवादीहरू हाल कसूरदार होइनन् भन्न सकिने अवस्था नदेखिएको ठहर गरेको छ। र, पूर्व उपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री खाणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ।
जिल्ला अदालत काठमाडौंको आदेशपछि पुर्पक्षका लागि थुनामा पठाइएका १६ अभियुक्तलाई केन्द्रीय कारागारका दुई छुट्टाछुट्टै भवनमा राखिएको छ। १६ अभियुक्तमध्ये ८ जनालाई भद्रबन्दी गृह र अन्यलाई केन्द्रीय कारागार भवनमा राखिएको छ।
केन्द्रीय कारागारका जेलर ललितकुमार बस्नेतका अनुसार पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित नरेन्द्र केसी, गोविन्द चौधरी, रामशरण केसी, शमशेर मियाँ, सन्दीप रायमाझी र आङटावा शेर्पालाई भन्द्रबन्दी गृहमा राखिएको छ।
त्यस्तै नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, हरिभक्त महर्जन र सागर थुलुङ राईलाई केन्द्रीय कारागारको भवनमा राखिएको हो ।
पक्राउ परेका १८ अभियुक्तमध्ये टंक गुरुङ र लक्ष्मी महर्जनलाई धरौटीमा छाड्न आदेश दिएको छ।
Facebook Comment
Comment