काठमाडौं । काठमाडौंको बानेश्वरमा शनिबार साँझ बुवा-छोरी मृत भेटिएका छन् । काठमाडौं महानगरपालिका-१० स्थित टंकप्रसाद मार्गको एक घरमा बुवा-छोरी मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार मृत भेटिनेमा रामेछाप खाँडादेवी गाउँपालिका-८ घर भई बानेश्वरमा डेरा गरी बस्दै आएका अन्दाजी ३६ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरी छन् ।
भण्डारीको श्रीमती र छ महिने छोरा पनि रहेका छन् । उनीहरुलाई भण्डारीले शनिबार बिहानै आफन्तको घरमा पठाएको बताइएको छ । ‘उनले घटनाको उद्देश्यअनुसार साथ श्रीमतीलाई छोरासहित पेप्सिकोलास्थित आफन्तकहाँ पठाएको देखिन्छ’,अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने । कोठाभित्रै उनले पहिला छोरीको हत्या गरेर पछि आफूले पासो लगाएर आत्महत्या गरेको देखिएको ति अनुसन्धान अधिकृतको भनाइ रहेको छ ।
श्रीमति घर फर्किएपछि श्रीमान शौचालयमा झुन्डिएको र ७ वर्षीया छोरीको घाँटीमा धारिलो हतियार प्रहार गरिएको भेटेपछि प्रहरीलाई खबर गरिन् । ती बालिका फरक क्षमताको रहेको र बालिकाको हत्या गरी बुवाले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
घटनामा बाहिरी व्यक्तिको संलग्नता नदेखिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट भण्डारीको सुसाइड नोट पनि फेला परेको प्रहरीले जनाएको छ । उक्त नोटमा छोरीको विषयमा चिन्ता प्रकट गर्नुका साथै उनलाई केही गर्न नसकेको, ऋण लगायतको घरासयी व्यवहार जस्ता विषय उल्लेख गरिएको छ ।
Facebook Comment
Comment