काठमाडौं । भक्तपुरस्थित त:मारी (तौमधि:) मा ङातापोल मन्दिरको (पाँच तल्ले मन्दिर) को ३२३ औं स्थापना दिवस (बुसादाँ) मनाइएको छ ।
आज भक्तपुरको टौमढीस्थित प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्वको पाँचतले मन्दिर न्यातपोलको निर्माण ३२३ वर्ष पूरा भएको छ । यस दिनलाई ङातापोँलया बुसादाँ भनिन्छ । आज तान्त्रिक विधिअनुसार पूजापाठ र दानदक्षिणा दिने चलन छ ।
आजकै दिन मन्दिरको मूलढोका खोलेर सम्बन्धित जोशी, आचाजु पुरोहितले सबैको सुख र शान्तिको कामना गर्दै विधिअनुसार पूजापाठ गर्ने र सामान्य सरसफाइ र मर्मत सम्भारसहित माथि गजुरमा ध्वजा चढाइएको छ ।
तत्कालीन मल्ल राजा भूपतीन्द्र मल्लले १८औं शताब्दी अर्थात् नेपाल संवत् ८२२ असार शुक्ल प्रतिपदाको दिन निर्माण पूरा भएको अभिलेख छ । अभिलेखमा मन्दिर निर्माण पूरा भएको असार शुक्ल प्रतिपदाका दिन पहिलो वर्षबन्धन पूजा गर्ने प्रचलन रहेको पाइन्छ । त्यसैले प्रत्येक वर्ष असार शुक्ल प्रतिपदा आज न्यातापोलको विशेष वर्षबन्धन पूजा गर्ने गरिन्छ । मन्दिरको सरसफाइ र मर्मत गर्ने उद्देश्यले राजा भूपतीन्द्र मल्लले वर्षमा एक पटक वर्ष बन्धन पूजाको परम्परा चलाएका हुन् ।
मन्दिरमा सिद्धीलक्ष्मी, भैरव र बेतालको पूजा गरिन्छ । यस्तै, आजको दिन अवाल समुदायले मन्दिरमाथिको छानाको सरसफाइ गरेर न्यातपोल मन्दिरको जन्मदिन मनाउने गरेका छन् ।
मन्दिरलाई देवीमा तान्त्रिक शक्तिको स्वरूपमा पनि लिने कारण मन्दिरभित्र तान्त्रिक विद्या भएका व्यक्ति मात्र प्रवेश गर्न सक्ने मान्यता छ । मल्ल राजाको पालामा मन्दिर निर्माणका लागि छालिङ, जितपुर, वागेश्वरी, सक्व, झौख्य, चाँगु, गोकर्ण, पन्तीका स्थानीयले सहयोग गरेका थिए । त्यो समयमा मन्दिर निर्माणको भोजमा ३० हजार मानिसको उपस्थिति थियो । जुन भक्तपुरका बासिन्दा भन्दा चार दोब्बर रहेको मानिन्छ ।

तस्वीर – नेपाल फोटो लाइब्रेरी
Facebook Comment
Comment