बुटवलको बजेटमा शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता

बुटवलको बजेटमा शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/२०८३ का लागि ३ अर्ब ३६ करोड १३ लाख रुपैयाँको बजेट ल्याएकोे छ । सोमबार नगरसभाको सत्रौँ अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै चालुतर्फ ४९ प्रतिशत र पूँजीगततर्फ ५१ प्रतिशतसहितको बजेट ल्याइएको जानकारी दिइन् ।

बजेटमा आन्तरिक स्रोततर्फ आगामी आवमा ९५ करोड आय हुने अनुमान गरिएको छ । बजेटमा शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिइएको छ । कलेजमा अध्ययनरत विद्यार्थीलाई सहभागी गराइ पढाइसँगै रोजगार सिर्जना गरौँ, युवालाई देशमै बस्ने परिस्थिति निर्माण गरौँ भन्नेजस्ता उदेश्यका साथ ट्राफिक व्यवस्थापनमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई खटाउने कार्यक्रमलाई प्राथमिकता दिइएको उपप्रमुख अर्यालले उल्लेख गरिन् । जसका लागि ५० लाख रुपैयाँ व्यवस्था गरेको उनले जानकारी दिइन् ।

यस्तै ‘बुटवलको सपना, निजी क्षेत्रसँगको सहकार्यमा बुटवलको समृद्धिको परिकल्पना’ भन्ने मर्मसहित निजी क्षेत्रसँग सहकार्य गरी कार्यक्रम सञ्चालनका लागि १ करोड रुपैयाँ विनियोजन गरिने बजेट वक्तव्यमा उल्लेख छ । ‘घुमौँ बुटवल’ भन्ने अभियानअन्तर्गत यसै आवलाई बुटवल भ्रमण वर्ष घोषणा गरी आन्तरिक र बाह्य पर्यटकको आगमनलाई वृद्धि गर्नका लागि थप अभियानहरू सञ्चालन गरिने बजेट वक्तव्यमा उल्लेख छ । यस्तै बुटवललाई पर्यटकीय विश्रामस्थलका रूपमा स्थापित गर्नका लागि पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न ५० लाख र सांस्कृतिक सहर बनाउनका लागि १ करोड १५ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

यसैगरी जेष्ठ नागरिक र असहायलाई घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने तथा ‘बाआमासँग नगर प्रमुख’ कार्यक्रम सञ्चालनका लागि ९० लाख, महिलाको पाठेघर, स्तन क्यान्सर, भिडिओ एक्सरे र अन्य स्वास्थ्य परीक्षणका लागि ३० लाख, बुटवल १३ र १७ मा निर्माण भएका अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि ६० लाख बजेट छुट्याइएको छ ।

विद्यालयहरूको सुधार र न्यूनतम मापदण्ड पूरा गर्न ६ करोड, कृषि सुधार कार्यक्रमअन्तर्गत ‘बुटवलका किसान हाम्रो शान’ कार्यक्रमका लागि १ करोड, किसानका समूहलाई उपकरण खरिदमा अनुदान दिनका लागि १ करोड र दुग्ध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिनका लागि ५० लाख विनियोजन गरिएको छ ।

त्यस्तै छात्रालाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउन ‘छोरी पढाउँ’ कार्यक्रमका लागि ५० लाख, विपन्न वर्गका बालबालिकाको पोशाक र शैक्षिक सुधारका लागि ३० लाख, सामुदायिक विद्यालयमा डिजिटल लर्निङ पोर्टल र कम्प्युटर शिक्षा सुधारका लागि १ करोड, स्थानीय पाठ्यक्रमलाई सुधार गर्ने कार्यका लागि ७० लाख बजेट छुट्याइएको छ ।

यस्तै नगरलाई सफा र स्वच्छ राख्न ‘मेरो टोल म सफा गर्छु’ भन्ने कार्यक्रम सञ्चालनका लागि ७० लाख, झुम्सा खानेपानी बुटवलमा ल्याउन र पाल्पाको तिनाउ गाउँपालिकाको मुहान क्षेत्रको विकासका लागि २ करोड, गृहिणी महिलालाई रोजगारसँग जोड्ने कार्यक्रमका लागि ३ करोड, उद्ममी महिलाका लागि ७० लाख, दलित समुदायका परम्परागत पेशालाई सीप विकास केन्द्रका रुपमा सञ्चालन गर्न ८५ लाख, बुटवल क्षेत्रको मुख्य सडक र भित्री सडकहरूलाई हरियाली बनाउँदै सौन्दर्यीकरण गर्न ३ करोड, जितगढी किल्लानजिकै आरती केन्द्र निर्माणका लागि ५ करोड र गौशाला व्यवस्थापनका लागि १ करोड रुबजेट बजेट छुट्याइएको उपप्रमुख अर्यालले बताइन् ।

यस्तै अव्यवस्थित बसोबास र सुकुम्बासी क्षेत्रको नापजाँचको व्यवस्थापनका लागि १ करोड ५० लाख, पुन: नापी गर्नका लागि २ करोड, कालिकापथ, अमरपथ र ट्राफिक चोकमा रात्रिकालीन बजार सञ्चालनका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको उनले जानकारी दिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved