बालेन र सुनिताको लामो समयपछि भेटघाट, कार्यपालिका बैठकबारे छलफल

नेपालभ्युज

बालेन र सुनिताको लामो समयपछि भेटघाट, कार्यपालिका बैठकबारे छलफल

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलबीच लामो समयपछि भेटघाट भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको निलम्बन र कार्यालय फिर्ती विवादका कारण उनीहरुबीच लगभग बोलचाल नै बन्द भएको थियो । तर, बुधबार महानगरकै कार्यालयमा वडाध्यक्षसहित उनीहरुबीच भेटवार्ता भएको हो ।

छलफलमा वडा-१७ का वडाध्यक्ष नवीन मानन्धर, वडा-३२ का वडाध्यक्ष नवराज पराजुली र वडा-१५ का वडाध्यक्ष ईश्वरमान डंगोल सहभागी थिए । उनीहरुबीच २ घण्टा छलफल भएको थियो ।

पछि बालेन र डंगोलबीच एक्लाएक्लै २ घण्टा छलफल भएको थियो । “उहाँहरु (प्रमुख र उपप्रमुख) बीच करिब २ घण्टा छलफल भयो । कार्यपालिका बैठकको विषयमा छलफल भएको छ,” बालेनको सचिवालयका एक सदस्यले भने ।

गत पुस १४ गतेदेखि कार्यपालिका बैठक बस्न सकेको छैन । जसले गर्दा महानगरको बजेटसमेत अन्योलमा पर्ने देखिएको थियो ।

काठमाडौं टावर नक्सापास विवादमा गुरागाईंलाई तीन महिनासम्म कार्यालय प्रवेशमा रोक लगाइएको थियो । जनप्रतिनिधि र कर्मचारीसमेतको प्रयासमा प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेश गराइएको थियो । सो घटनापछि बालेन र डंगोलबीचको सम्बन्ध बिग्रिएको थियो । गुरागाईंलाई कार्यालयमा प्रवेश गराउन डंगोलले नै सक्रिय भूमिका खेलेपछि बालेन असन्तुष्ट बनेका थिए ।

कार्यालयमा फिर्ता भएका गुरागाईं र बालेनबीच अहिलेसम्म भेटघाट र बोलचालै नभएको महानगर स्रोतले बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved